नमुना विद्यालय

सीमित स्रोतसाधनमै अघि बढ्न संघर्षरत वसन्तमुरारी मावि

पदमराज भट्ट ७ चैत २०७९ १०:१५
34
SHARES
सीमित स्रोतसाधनमै अघि बढ्न संघर्षरत वसन्तमुरारी मावि

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका-१ स्थित वसन्तमुरारी नमुना माध्यमिक विद्यालयमा करिब १८०० विद्यार्थी अध्ययनरत छन्। १ देखि १२ कक्षासम्म पढाइ हुने यो विद्यालयमा स्थायी शिक्षकको दरबन्दी ६ वटा छ। त्यो पनि सबै प्राथमिक तहका। विद्यालयमा कार्यरत २६ शिक्षकमध्ये निजी स्रोतबाट १०, राहत कोटाका सात र बालविकासमा तीन जना शिक्षक कार्यरत रहेको प्रधानाध्यापक भूमिप्रकाश बम बताउँछन्।

बेलाबेलामा केही शिक्षकलाई आंशिक नियुक्त गरिँदै आएको उनले बताए। सरकारले २०७७ सालमा नमुना विद्यालयका रूपमा सूचीकृत गरेर आवश्यक बजेट उपलब्ध गराएको थियो। नमुना विद्यालयका रूपमा सूचीकृत भए पनि भौतिक पूर्वाधार पर्याप्त छैनन्। साथै शैक्षिक पूर्वाधार नहुँदा त्यसको असर सिकाइ स्तरमा पनि परेको छ।

विद्यालय भवन निर्माण तथा विद्यालयको शैक्षिक सुधारका लागि प्राप्त रकम भौतिक पूर्वाधार निर्माणमै केन्द्रित गरिएको प्रधानाध्यापक बम बताउँछन्। उनका अनुसार अघिल्लो आर्थिक वर्षमा विद्यालयले केन्द्रबाट १ करोड ५० लाख रकम पाएको थियो। उनले भने, ‘भौतिक संरचना बनिरहेका छन्। नमुनाको बजेटले केही सिक्दै काम गर्दै अगाडि बढ्ने अवसर पाएका छौँ।’

नमुना बने पनि विद्यालयलाई बालमैत्री, अपांगमैत्री र छात्रामैत्री बनाउन धेरै काम बाँकी छ। प्रधानाध्यापक बमले भने, ‘सबै विषयमा शिक्षकको व्यवस्था गर्न सकिएको छैन। यसका लागि स्रोत जुटाउन सक्रिय छौँ।’

साढे १० बिघा क्षेत्रफलमा फैलिएको विद्यालयमा पर्याप्त खेलमैदान छ। मर्मतसम्भार हुन नसक्दा वर्षभरि विद्यार्थीले खेल्न पाएका छैनन्। वर्षायाममा मैदान हिलाम्मे हुन्छ। बौनियाँ बजारमा ढल निकास नभएकाले खेलमैदान र विद्यालय परिसरमै पानी जम्ने गरेको शिक्षक गणेशप्रसाद दाहाल बताउँछन्।

नमुना विद्यालय भएयता विद्यार्थीको चाप बढेको छ। पर्याप्त कक्षा कोठा नहुँदा ठूलो संख्यामा विद्यार्थीलाई एउटै कक्षामा राख्नुपर्ने बाध्यता छ। कक्षा ७ देखि १२ सम्म एउटै कक्षामा विद्यार्थी राख्न सम्भव नभएपछि कक्षा थप गरिएको छ। विद्यालयमा कक्षा ९ मा मात्रै २४० जना विद्यार्थी छन्। विद्यार्थी शिक्षक अनुपात मिलेकाे छैन। भौतिक पूर्वाधार निर्माणमा बजेट पाए पनि शिक्षकका लागि निजी स्रोत जुटाउनुपर्ने अवस्था  रहेको  बमले बताए।

२०५७ सालमा निम्न माध्यमिक तह अध्यापन सुरु गरेको विद्यालयले २०५९ सालमा बालविकास कक्षा सुरु गरेको थियो। २०६२ सालमा माध्यमिक र ०६४ सालदेखि कक्षा १२ सम्म सञ्चालन गर्दै आएको छ।

विद्यालयमा बाल क्लब, जुनियर रेडक्रस सर्कल गठन गरिएको छ। पुस्तकालय छ तर पुस्तक अभाव छ। पुस्तकालयलाई गैरसरकारी संस्थाको एक परियोजनामार्फत ५४९ पुस्तक सहयोग आउनुबाहेक छुट्टै बजेटको व्यवस्था गर्न नसकिएको प्रधानाध्यापक बम बताउँछन्।

उनले आगामी पाँच वर्षभित्र कक्षा ११ र १२ मा विज्ञान विषयको अध्यापन सुरु गर्ने लक्ष्य लिइएको जानकारी दिए। विद्यालयमा ३० थान कम्युटरसहितको आईसीटी ल्याब छ। ल्याब बनाइए पनि त्यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्था हुन सकेको छैन।

पूर्वप्रधानाध्यापक द्विजराज मिश्रका अनुसार विद्यालय स्थापना भएयता स्थानीय समुदाय र अभिभावकको सहयोगले अगाडि बढेको हो। उनी भन्छन्, ‘अभिभावकले नगद तथा जिन्सी सहयोग गर्दै आउनुभएको छ।’

लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका टंक कुँवरले पछिल्ला पाँच वर्षमा विद्यालयको भौतिक पूर्वाधारमा निकै काम भएको बताउँछन्। उनी भन्छन्, ‘वरिपरि तारबार, अर्को ठाउँमा रहेको विद्यालयको जग्गा घेराबार, दुईतले भवन निर्माण लगायतका काम भएका छन्।’

स्थानीय अभिभावक लक्ष्मी जोशीका अनुसार विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिएका कारण स्थानीयको आकर्षण बढ्दै गएको छ। स्रोतको सदुपयोग, समुदायको सहयोग, शिक्षकको मेहनत र प्रधानाध्यापकको भूमिकाले सिकाइ स्तर बढिरहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘विद्यालयका हरेक योजनामा स्थानीयले सकारात्मक र सहयोगी भूमिका खेल्दै आएका छन्।’

कक्षा ६ सम्मका विद्यार्थीले स्कुलमै खाजा खान पाएपछि बालबालिका पनि खुसी छन्। विद्यालयले २०१८ साल चैत १७ गते प्रावि अनुमति पाएको थियो। नमुना विद्यालय भएयता भौतिक पूर्वाधारमा गुणात्मक विकास भइरहेको स्थानीय बताउँछन्।

यस्तै विद्यालय प्रशासन शिक्षक र विद्यार्थी  दुवैलाई अनुशासनमा राख्न सचेत रहेको प्रधानाध्यापक बम बताउँछन्। ‘शिक्षकका लागि पनि लगबुकको व्यवस्था गरेका छौँ। यसले कुन शिक्षक कहाँ गएको छ भन्ने थाहा हुन्छ।’

यसैगरी शिक्षक अनुपस्थित भएमा कक्षाकोठा खाली नराख्ने बम बताउँछन्। उनले भने, ‘सिकाइ स्तर बढ्दै गएको छ। परीक्षा र नतिजा प्रकाशनमा पारदर्शी छौँ। उत्तरपुस्तिका विद्यार्थीलाई नै दिएर उनीहरूलाई सुधारका लागि पृष्ठपोषण दिँदै आएका छौँ।’

तत्कालीन दोधारा गाविस वडा नं ७ मुडाकी वसन्तीकुमारी बमले पाँच बिघा जग्गा उपलब्ध गराएसँगै ०५८ भदौ २० गतेदेखि विद्यालयको नाम परिवर्तन गरेर वसन्त मुरारी राखिएको हो।

कठिन छैन सिकाइ स्तर उकास्‍न

कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट बन्नुको रहस्य

बोर्डिङलाई छायामा पार्दै जनसेवा मावि

स्कुलबाट सीपसँगै ऋण पनि

निरन्तर उत्कृष्ट ज्ञानोदय

शिक्षक अभावमै गोगलप्रसाद माविको गुणात्मक फड्को


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =