काठमाडौँ- सशस्त्र प्रहरीले एक करोड रुपैयाँभन्दा बढीको पटका बरामद गरेको छ।
सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटक बरामद गरेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट कुल १ करोड २१ लाख २८ हजार ६६९ रुपैयाँ बरारबको पटका बरामद गरिएको जानकारी दिए।
उनका अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट पटका बरामद भएको छ। त्यसैगरी कोशी, लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशबाट समेत पटका बरामद गरिएको छ।
मधेश प्रदेशबाट ७४ लाख ३१ हजार ९०९, कोशीमा ११ लाख ४९ हजार ३५०, लुम्बनीमा १८ लाख ३२ हजार २१२, बागमतीमा २ लाख ३५ हजार र सुदूरपश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३९८ रुपैयाँ बराबरको पटका बरामद भएको प्रहरीले जनाएको छ।
पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ५९ हजार ५४० रुपैयाँ बराबरको थप पटका बरामद भएको प्रहरीले जनाएको छ।
तिहार तथा छठ पर्वका समयमा अवैध रुपमा पटका भित्र्याउने, ओसारपसार गर्ने तथब बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्रता दिएको सशस्त्र प्रहरी बलले जनाएको छ।



