विश्वविद्यालय सभामा सहभागी पदाधिकारीहरू।
काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। विश्वविद्यालय सभाको ७९औँ बैठकले केन्द्र स्थापनासहितका प्रस्ताव पारित गरेको हो।
बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ५० लाख रुपैयाँको बजेटसमेत स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक शैक्षिक कार्यक्रम पनि पारित गरेको हो।
विश्वविद्यालयको अतिक्रमित जग्गाको विषयलाई प्राथमिकताका साथ छलफल गर्दै वास्तविक अवस्था र स्वामित्वबारे अध्ययन गर्न आधिकारिक समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। समितिले विश्वविद्यालयको जग्गाको स्वामित्व नेपाल संस्कृत विश्वविद्यालयकै नाममा कायम गर्ने आधारसहित प्रतिवेदन तयार पार्नेछ।
त्यस्तै २०७७ सालदेखि दीक्षित हुन बाँकी विद्यार्थीलाई लक्षित गरी चालु आर्थिक वर्षभित्रै छैटौँ दीक्षान्त समारोह आयोजना गर्ने प्रस्ताव पारित भएको छ।
बैठकले विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन, स्वास्थ्य योजना निर्माण, जडीबुटी प्रशोधन तथा जनस्तरमा स्वास्थ्य र आहारविहारसम्बन्धी चेतनामूलक कार्यक्रम अघि बढाउने योजना पनि स्वीकृत गरेको छ।
यसैगरी आगामी २०८३ चैतको अन्तिम साता दाङको बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा अन्तर्राष्ट्रिय योग सम्मेलन ‘ग्लोबल योग समिट २०२६/२७’ आयोजना गर्ने निर्णय भएको छ। सम्मेलनमा कम्तीमा ३० देशका योगसाधक, योगविज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञ सहभागी हुनेछन्।
विश्वविद्यालयको शैक्षिक उन्नयन, संस्थागत सुदृढीकरण, सम्पत्ति संरक्षण तथा पूर्वीय ज्ञानपरम्पराको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रस्ताव पारित गरिएको विश्वविद्यालयले जनाएको छ।



