नमुना विद्यालय

विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट बन्नुको रहस्य

विजय नेपाल ५ चैत २०७९ ११:४५
1.6k
SHARES
विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट बन्नुको रहस्य

पोखरा- विद्यालय शिक्षामा चासो राख्ने धेरैको चासो हुन्छ, ‘पोखराको विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट विद्यालय हुनुको राज के रहेछ?’ त्यति मात्रै होइन, जुनसुकै कुनाबाट पोखरा भ्रमणमा पुगेका  विद्यालयका प्रतिनिधि पनि सकेसम्म एकपटक विन्ध्यवासिनी माविको आँगनमा टेक्छन्।

प्रधानाध्यापक कृष्णप्रसाद आचार्य भन्छन्, ‘देशकै उत्कृष्ट विद्यालय अवलोकन गर्नुपर्‍यो। ल है हामी आउँदैछौँ भनी कहिले पूर्व त पहिले पश्चिमबाट फोन आउने आउँदा निकै खुसी हुन्छौँ।’

भदौमा नेपालकै उत्कृष्ट विद्यालयको सूचीमा परेको नतिजा आएपछि अवलोकन आउने बढेका प्रधानाध्यापक आचार्यले जानकारी दिए।  सुरुसुरुमा भ्रमणमा आएका अतिथिको व्यवस्थापनमा हम्मेहम्मे परेको उनी सुनाउँछन्। यो साता पनि पूर्व झापादेखि पश्चिम नेपालगन्जका चार विद्यालयबाट अवलोकन टोली आएको छ।

७५ वर्षअघि पोखरा-१६ बाटुलचौरमा खरको झुप्रोबाट सुरु भएको थियो, विन्ध्यवासिनी स्कुल। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सर्वेक्षण नतिजाअनुसार विन्ध्यवासिनी माध्यमिक विद्यालय नेपालमै सर्वोत्कृष्ट विद्यालय घोषित भएको थियो। २०७५ सालको एसईई नतिजाका आधारमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले साक्षरता दिवसमा विद्यालयलाई पुरस्कृत गरेको थियो।

यसअघि उक्त विद्यालय २०५१ सालमा तत्कालीन पोखरा नगरपालिकाले उत्कृष्ट घोषित गरी पुरस्कृत गरेको थियो। कास्कीमा राम्रो विद्यालयको पहिचान बनाएको यो स्कुल देशभर चिनिन थालेको चाहिँ २०७५ देखि हो। गत वर्ष देशकै सर्वोत्कृष्ट विद्यालय घोषित भएपछि त सर्वत्र चर्चा हुने नै भयो।

विद्यालयले यसै वर्ष हीरक जयन्ती मनाएको छ। वर्षभर विविध कार्यक्रम गरेको विद्यालयले हीरक जयन्तीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गरेको थियो। भण्डारीले विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै विन्ध्यवासिनीको नमुना कार्यको सिको अरूले पनि गर्नुपर्ने बताएकी थिइन्। प्रि-नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने विन्ध्यवासिनीमा हाल १ हजार ३ सय विद्यार्थी पढ्छन्। सामुदायिक विद्यालय भइकन पनि यहाँ भर्ना हुन खुला प्रवेश परीक्षामा अब्बल ठहरिनुपर्छ।

पहिले खरको छानो, अहिले सुविधैसुविधा

स्वामी नित्यानन्द तिमिल्सिनाले १९७१ सालमा भिक्षाटनबाट विन्ध्यवासिनीनजिकै भाषा पाठशाला चलाएका थिए। जहाँ छात्रहरू पढ्थे। २००४ सालमा पद्मशमशेरको पालामा गान्धीवादी शिक्षामा आधारित रहेर विद्यालय खोल्ने क्रम सुरु भयो। विन्ध्यवासिनीमै खुल्ने भनिएको विद्यालय पछि बाटुलेचौरमा ढुंगा र खरको छानो हालेर खोलियो। त्यसैले यसको नाम विन्ध्यवासिनी रहन गएको विद्यालयका सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी रामबहादुर बानियाँ बताउँछन्।

त्यसबेला विद्यालय बनाउन स्थानीयले श्रमदान गरेका थिए। ढुंगा ओसारेर सहयोग गरे। संस्थापक प्रधानाध्यापक थिए, पण्डित मुक्तिनाथ शर्मा। कृष्णप्रसाद आचार्य ११ औँ प्रधानाध्यापक हुन्। २०१४ सालमा निमावि, २०१८ सालमा मावि हुँदै २०५८ सालमा कक्षा १२ सम्म अध्ययन केन्द्रको रूपमा यसको विकास भयो।

२०५६ सालमा विद्यालयले महायज्ञ लगायो। बचत रकमबाट उमावि खोल्न सफल भयो। २०५७ सालमा व्यवस्थापनको कक्षा सुरु भयो। मानविकी र शिक्षा संकाय पढाइ हुने गरेकोमा विज्ञान थपिएपछि मानविकी र शिक्षा हटाएर व्यवस्थापन र विज्ञानको मात्र पढाइ हुन्छ। विद्यालय संरक्षक रहने गरी स्थानीयको प्रयासमा २०६७ सालदेखि त्रिविको सम्बन्धनमा बीबीएस तहका कक्षा सञ्चालन गर्न थाल्यो।

आगामी दिनमा ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) खोल्ने योजना विद्यालयको छ। त्यस्तै प्राविधिक धार (९ देखि १२) तर्फ शिक्षा मन्त्रालयअन्तर्गत इलेक्ट्रिक इन्जिनियरिङ पढाइ सुरु गर्ने तयारी पनि विद्यालयले गरिरहेको छ।

२०६६ सालमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको हो। नर्सरी, एलकेजी र यूकेजीको अवधारणा पनि त्यसैबाट सुरु भयो। क्रमशः हरेक शैक्षिक सत्रदेखि माथिल्लो कक्षामा अंग्रेजी माध्यमको पढाइ हुँदै गयो।

१२ रोपनीमा फैलिएको विद्यालयमा हालैमात्र पुनःनिर्माण प्राधिकरणको सहयोगमा ३२ कोठे सुविधासम्पन्न भवन निर्माण गरिएको छ। विद्यालयका नयाँ र पुराना गरी सात भवन छन्। विद्यालयमा ६० जना शिक्षक, कर्मचारी २६ जना कार्यरत छन्।

विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, अतिरिक्त क्रियाकलापका लागि आवश्यक सामग्री, खेलमैदान, ई-लाइब्रेरी, सभाहल, क्यान्टिन, वाद्यवादनका विभिन्न सामग्री, छात्रावासलगायत सुविधा छन्।

पर्यटकीय आकर्षण महेन्द्रगुफा र चमेरेगुफाको व्यवस्थापन पनि यही स्कुलले गर्दै आएको छ। त्यहाँबाट हुने आम्दानी पनि विद्यालयले शिक्षामा खर्चिने गरेको छ।

परीक्षाअघि शिक्षकले गर्छन् लिखित प्रतिबद्धता

पोखरा-९, पुरुञ्चौरका महेन्द्रप्रसाद पौडेल विद्यालयका अंग्रेजी शिक्षक हुन्। उनी आधारभूत तहका इन्चार्ज पनि हुन्। उनका अनुसार कुनै दिन शिक्षक हाजिर नभए उनको सट्टामा अर्को शिक्षकले पढाएर पिरियड खाली हुन दिइँदैन। एउटा शैक्षिक सत्रमा चार वटा परीक्षा हुन्छन्।

परीक्षा आउनुपूर्व प्रत्येक शिक्षकलाई कमिटमेन्ट (प्रतिबद्धता) पेपर दिइन्छ। जसमा शिक्षकले विद्यार्थीको जीपीए वा प्रतिशत यति बढाउँछु भनी लिखित प्रतिबद्धता गर्छन्। परीक्षापछि कापी जाँचेर ल्याउँदै प्रतिबद्धतापत्रसहित बुझाउँछन्। विभिन्न तहका इन्चार्जले प्रतिबद्धताअनुरूप रिजल्ट आयो वा आएन भनी निरीक्षण गर्छन्। राम्रो आए, त्यसको रहस्य अरूलाई पनि सिकाउने र नआए सचेत गराउने, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा लिने, तिनका अभिभावकलाई बोलाएर समाधानको उपाय खोज्ने गरिएको छ।

विभिन्न हाउस, क्लबमा विद्यार्थीलाई विभाजन गरेर शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलापमा जोड दिइने गरिएको पौडेल बताउँछन्।

सबैको भूमिका बराबरी : प्रधानाध्यापक आचार्य

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको विद्यालय कार्यसम्पादन मूल्यांकनमा हामी देशभरमै सर्वोत्कृष्ट पाँचमा परेको भनी गत भदौतिर मिडियामार्फत सार्वजनिक भयो। अनि जताततैबाट बधाईका फोन आउन थाले। विद्यालय घुम्न आउनेको घुइँचो लाग्न थाल्यो।

उत्कृष्ट पाँचमा परेको त भनियो तर कुनले कति प्रतिशत ल्याए भन्ने सार्वजनिक गरिएन। विद्यालय र मिडियाको दबाबपछि केन्द्रले प्रतिशतसहित नतिजा सार्वजनिक गरेको हो।

सुरुमा परीक्षणमा विद्यालय उत्कृष्ट हुन केके मापदण्ड चाहिन्छ भन्ने थाहा थिएन। तर नजानिँदो हिसाबले हामीले त्यही खालका काम व्यवस्थापन समितिबाट अघि बढाएका रहेछौँ। विद्यालय कसरी राम्रो बनाउन सकिन्छ भन्ने हुटहुटी थियो। चिन्ता र चासो सधैँ हुन्थ्यो।

प्रधानाध्यापक र विव्यस सदस्य।

शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी देशभरिका राम्रा भनिएका विद्यालय घुम्थ्यौँ। कतिपय राम्रा कुरा अनुसरण गर्ने त केही आफैँ पनि प्रयोग गर्ने गथ्यौँ। जे गरियो त्यसका प्रतिफल राम्रो पाएका छौँ।

विद्यालय राम्रो बनाउन व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक खटेर लाग्नुपर्छ। हाम्रोमा प्रधानाध्यापकले एजेन्डा बनाउँछ। व्यवस्थापन समितिले त्यसलाई स्वीकृत गरेर कार्यान्वयनमा सघाउँछ। शिक्षक कर्मचारीलाई हामी बेलोबलामा जिम्मेवारी लेखेरै दिन्छौँ। सबैलाई काम बाँडफाँट गरेर खटेरै लागेका छौँ। शैक्षिक भ्रमणबाट हुुने सिकाइ कार्यान्वयन, अभिभावक र सरोकारवालासँग नियमित अन्तरक्रिया, छलफल, गोष्ठी गर्छौं।

व्यवस्थापन समिति सधैँ सजग : सदस्य गुरुदत्त भट्टराई

विद्यालयमा के कुराको खाँचो छ? भन्ने विषय मिहीन ढंगले हेर्छौँ। शिक्षाको गुणस्तर कायम राख्दै भौतिक पूर्वाधार निर्माणका लागि कहाँ जाने, के गर्ने भनेर बैठकमा निर्णय गर्छौँ।

बैठक आवश्यकताअनुसार सातामै दुई-तीनपल्ट पनि बस्छ। विद्यालय प्रशासनले यो-यो आवश्यकता छ भनी माग गर्दा त्यसको सम्बोधन गरी भरसक सहयोग गछौँ। विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकसँग बसेर बेलाबेलामा छलफल गर्छौँ। शिक्षामा गुणस्तरसहित भौतिक रूपमा सुविधासम्पन्न, प्रविधिमैत्री शिक्षा, आर्थिक पारदर्शिता त छँदैछ। विद्यार्थी कमजोर भए अभिभावक बोलाएर केही समस्या छ कि भनी बुझ्छौँ। व्यवस्थापनका लागि सहजीकरण गर्छौँ।

यसरी भयो सर्वोत्कृष्ट

शिक्षा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत २०६६ सालमा स्थापित शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका विद्यालयको कार्यसम्पादन परीक्षण कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। नेपालको समग्र शिक्षा प्रणालीमा विद्यालयको व्यवस्थापकीय अभ्यासमा सुधार ल्याउन केन्द्रले हालसम्म देशभरका ६ हजार ८ सय ८५ सामुदायिक माध्यमिक विद्यालयमध्ये ५ हजार ९८ विद्यालयको कार्यसम्पादन परीक्षण गरिसकेको जनाएको छ। केन्द्रले विद्यालयको कार्यसम्पादन परीक्षण र विद्यार्थी सिकाइ उपलब्धि गरी दुई क्षेत्रमा परीक्षण गर्दै आएको छ। विद्यार्थी सिकाइ परीक्षणमा सामुदायिक माविका कक्षा ३, ५, ८ र १० का विद्यार्थीलाई आधार मान्छ।

विद्यालय परीक्षण सुरुवातमा आर्थिक वर्ष २०६८/०६९ देखि नै नमुनाका रूपमा भएको थियो। यो कार्य आव २०७२/०७३ सम्म नमुनाका रूपमा सञ्चालित परीक्षण प्रत्येक वर्ष २५/३० विद्यालयका दरले १७९ विद्यालयको परीक्षण गरिसकेको केन्द्रले जनाएको छ।

आव २०७३/०७४ बाट भने निश्चित जिल्ला छनोट गरी ती जिल्लाभित्रका सबै सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण हुन थाल्यो।  यसरी कार्यसम्पादन परीक्षण कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न थालिएपछि गत आव २०७८/०७९ को अन्त्यसम्म ६४ जिल्लाका ५ हजार १ सय ३३ विद्यालयको परीक्षण भइसकेको छ।

६ वर्ष लगाएर परीक्षणमा भएका ६२ जिल्लाका ५ हजार १ सय ३३ विद्यालयमध्ये ६० जिल्लाका ४ हजार ८ सय ६७ विद्यालयको नतिजा गत भदौमा सार्वजनिक गरिएको थियो। त्यसमध्ये पोखराको विन्ध्यवासिनी मावि सर्वाधिक ९४.५९ प्रतिशत हासिल गरी देशमै सर्वोत्कृष्ट ठहरिएको हो। नतिजाअनुसार ९० वा सोभन्दा माथि प्रतिशत ल्याउने देशभर ६ मात्र विद्यालय छन्।

मूल्यांकनको सूचक

विद्यालयमा भएको लगानी र त्यसबाट हुने अपेक्षित उपलब्धिको स्तर के छ? लगानी र प्रतिफलबीच सामञ्जस्य छ वा छैन? लगायत कुरालाई ध्यानमा राखी कार्यसम्पादन परीक्षण गरिन्छ। यसमा कार्यको लागत, प्रक्रिया र प्रतिफल तीनै पक्षको सूक्ष्म रूपले परीक्षण गर्ने गरिने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक शिवकुमार सापकोटा बताउँछन्।

उनका अनुसार परीक्षणमा मुख्यतः लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राही सन्तुष्टिसँग गरी समग्रमा ८९ सूचक आधार लिइएको छ। तीमध्ये सबैभन्दा उपलब्धिको विभिन्न सूचकबाट ४० प्रतिशत तय छ।

‘लगानी’ क्षेत्रअन्तर्गत विद्यालयको भौतिक संरचना, शिक्षक एवं समुदायको सहभागिता गरी तीन उपक्षेत्र र सोअन्तर्गत २७ सूचकका आधारमा विद्यालयको कार्यसम्पादन परीक्षण गरिन्छ। यसलाई २५ प्रतिशत भार कायम गरिएको हुन्छ।

अर्को छ, ‘प्रक्रिया’। प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्यांकन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन तथा सहअतिरिक्त क्रियाकलाप गरी पाँच उपक्षेत्र निर्धारित गरिएको छ। जसमा ४६ सूचकको भार ३० हुन आउँछ।

तेस्रो हो, ‘उपलब्धि’। उपलब्धिमा समावेश १५ सूचकबाट ४० अंकभार तय गरिएको छ। जसमा विद्यार्थी नियमितता, कक्षा दोहोर्‍याउने र विद्यालय छाड्ने, सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टि निर्धारण गरिएको थियो।

चौथो अर्थात् ‘सेवा प्रदान गरिएका विद्यार्थी’ अन्तर्गत सामान्यतया प्रतिकक्षा हुनुपर्ने न्यूनतम विद्यार्थीको आधारमा गत वर्ष सेवा प्रदान गरिएका विद्यार्थीको संख्या तुलना गरेर अधिकतम् पाँच अंक दिइन्छ।

उल्लिखित क्षेत्र, उपक्षेत्र र सूचकका आधारमा अंक प्रदान गरिसकेपछि तीनवटै क्षेत्रमा प्राप्त अंकलाई क्रमशः २५, ३० र ४० भारित अंकमा परिणत गरिन्छ। सेवा प्रदान नगरिएका विद्यार्थी संख्याका आधारमा प्राप्त हुने पाँच पूर्णांकलाई पाँच भारित अंक कायम हुँदा १०० पूर्णांकमा सम्बन्धित विद्यालयको वास्तविक अंक निकालिन्छ।

यी हुन् उत्कृष्ट १० विद्यालय

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसार विन्ध्यवासिनीले ९४.५९ प्रतिशत हासिल गरेको हो।  दोस्रोमा छ, भक्तपुरको व्यासीस्थित एभरेस्ट इङ्लिस स्कुल (९१.१६)। तेस्रो कञ्चनपुरको रेश्मीटोलस्थित भानुमाविले ९०.७४ अंक ल्याएको छ भने भक्तपुरको दरबार स्क्यारको पद्म मावि (९०.५७) सहित चौथो स्थानमा छ। यस्तै पाँचौँमा काभ्रेको मंगलटारस्थित मंगलजनविजय मावि (९०.०९) परेको छ।

उत्कृष्ट १० भित्र पर्ने अन्य विद्यालयमा रूपन्देही कालिकानगरस्थित कालिका मानव ज्ञान मावि, दार्चुलाको धापस्थित मालिकार्जुन नमुना मावि, कास्कीको शीतलादेवीमा रहेको शीतलादेवी सामुदायिक मावि, दार्चुला खलंगाको महेन्द्र नमुना मावि र दार्चुलाकै रिठाचौपाताको लटिनाथ मावि छन्।

परीक्षणमा ९० प्रतिशतभन्दा ल्याए उत्तमस्तरको कार्यसम्पादन भन्ने बुझिन्छ। त्यस्तै ७० देखि ९० ल्याए मध्यम, ४० देखि ७० ल्याए सामान्य र त्यसभन्दा कम ल्याए कमजोर कार्यसम्पादन गरी स्तर निर्धारण केन्द्रले गरेको छ।

विन्ध्यवासिनीसहित ६ विद्यालयले ९० प्रतिशत वा सोभन्दा बढी ल्याएका छन्। परीक्षणमा गण्डकी प्रदेशका ५ सय ७० विद्यालय समावेश थिए। सबैभन्दा बढी बागमतीका १ हजार २ सय १ र सबैभन्दा कम कर्णालीका ३ सय ७६ विद्यालय रहेको केन्द्रले जनाएको छ।

मूल्यांकनमा थोरैमात्र विद्यालयको कार्यसम्पादन स्तर कमजोर रहेको नतिजामा उल्लेख छ। जुन विद्यालयमा विद्यार्थी संख्या धेरै छ, त्यस विद्यालयको समग्र कार्यसम्पादन स्तर राम्रो देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =