नमुना विद्यालय

स्कुलबाट सीपसँगै ऋण पनि

रमा केसी ५ चैत २०७९ १८:०७
300
SHARES
स्कुलबाट सीपसँगै ऋण पनि

सुर्खेत- जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीलाई पढ्दै कमाउन सिकाएको छ। शिक्षालाई सीपसँग जोडेपछि विद्यार्थी पढ्दापढ्दै कृषिजन्य उत्पादन गर्न थालेका छन्। व्यावसायिक योजना र ऋण प्राप्तिको प्रक्रिया सिकाइने भएकाले उनीहरूले अध्ययनपछि सजिलै रोजगारी पाउन थालेको प्रधानाध्यापक नारायणप्रसाद सिग्देल बताउँछन्।

उनका अनुसार विद्यार्थी पढाइसँगै कृषि कर्ममा रमाइरहेका छन्। विद्यालय परिसरमै बाख्रा, बंगुर, माछा, मह, च्याउ, गोलभेडा उत्पादन हुन्छ।  पठनपाठनलाई सीपसँग र सीपलाई रोजगारीसँग जोडेकै कारण विद्यालय ‘नमुना’ बनेको हो।

कर्णालीलाई अर्गानिक बनाउने उद्देश्यले कृषि शिक्षालाई जोड दिइएको प्रधानाध्यापक सिग्देल बताउँछन्। उनका अनुसार विद्यार्थीलाई सीप सिकाइन्छ, प्राविधिक परामर्श दिइन्छ र व्यवसाय गर्न ऋण गराइन्छ।
बराहताल गाउँपालिका बड्डीचौरका खुमन शर्मा तीनबर्से पशुविज्ञानका विद्यार्थी हुन्।  लेकबेसी नगरपालिका–१ का उनले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालय परिसरमै बंगुर पालन व्यवसाय गर्दै आएका छन्।

विद्यालयबाट १ लाख २० हजार ऋण लिएर ४ जना साथीसँग मिलेर ६ वटा बंगुर पालेको उनले बताए। बंगुरबाट छाउराछाउरी उत्पादन गरी बराहतालकै कृषकलाई बिक्री गरिरहेको उनले जानकारी दिए। खुमन भन्छन्, ‘पढाइका लागि आवश्यक पर्ने रकम अचेल घरमा माग्नु पर्दैन।’

खुमनसँगै उनका धेरै साथीले आफूलाई आवश्यक रकम कमाउनुका साथै अभिभावकलाई समेत दिन थालेका छन्। वीरेन्द्रनगर १२ की लक्ष्मी शर्माले पनि विद्यालयमा पढाइसँगसँगै च्याउखेती गर्छिन्। उनले विद्यालयबाट ५० हजार बिना ब्याज ऋण लिएकी हुन्।

विद्यालयमा पहिलो वर्ष प्राविधिकतर्फ अध्ययन गरिरहेकी शर्माले तीन जना साथीको सहयोगमा काम सुरु गरेकोमा अहिले एक्लै व्यवसाय सम्हालिरहेकी छिन्।  उनले भनिन्, ‘पहिला उत्पादन भएको सबै बिक्री भयो। त्यसपछि पाँच सय डल्ला च्याउको बिउ हालेर पनि ७० केजी च्याउ बिक्री गरेँ।’ यसबाट २५ हजार रुपैयाँ आम्दानी भएको उनले बताइन्।

विद्यालयमा भर्ना भए पनि घरको आर्थिक अवस्थाका कारण विद्यालय जान नसकेका धेरै बालबालिका यहाँ अध्ययनरत छन्। उनीहरू आफैँ पढाइखर्च जुटाउन सक्षम भएका छन्। आर्थिक अवस्थाकै कारण पढ्दापढ्दै बीचैमा पढाइ छोडेर भारततिर जाने बालबालिकाको सख्या बढ्दै गरेको समयमा पढ्दै कमाउन सकिने भएपछि विद्यार्थीले विद्यालय छाड्ने दर घटेको छ।

जनज्योति माविमा साधारणतर्फ १२ कक्षासम्म पढाइ हुन्छ। प्राविधिकतर्फ भने १८ महिने र तीनबर्से कृषि र भेटेरेनरी विषय पढाइन्छ। कक्षा ६, ७ र ८ मा पेसा व्यवसाय तथा कक्षा ९ र १० मा कृषि ऐच्छिक विषय राखिएको छ।

प्रधानाध्यापक सिग्देलका अनुसार प्राविधिक विषय पढ्ने विद्यार्थीलाई मात्रै पढ्दै कमाउँदै गर्ने अवसर दिइएको हो। प्राविधिक पढ्न आएका नयाँ विद्यार्थीका लागि विद्यालयले उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्ने गरेको उनको भनाइ छ। उनले भने, ‘हाम्रो विद्यालयका विद्यार्थी पढाइसँगै खेती पनि गर्छन्। जसले उनीहरूलाई सीप, रोजगारी र आम्दानी दिएको छ। पढाइ खर्चका लागि कसैसँग हात थाप्नुपरेको छैन।’

यसबाट विद्यार्थीले उद्यम चलाउने साहस बटुलिरहेका छन्। कृषि सबैले हेला गर्ने क्षेत्र होइन भन्ने स्थापित पनि हुन थालेको छ। पर्याप्त पुँजी नहुँदा विद्यालयले नयाँ विद्यार्थीलाई पर्याप्त ऋण दिन सकेको छैन। नयाँ विद्यार्थीले मल, बिउ, पानी, जमिन, खोर, माछापोखरी, टनेलमा आफ्नो पैसा तिर्नुपर्ने अवस्था छ। संघ, प्रदेश र स्थानीय सरकारले विद्यालयको पुँजी बढाउन सहयोग गरेमा विद्यार्थीलाई सहज हुने उनले बताए।

विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी भने कम छ। १२ सय ९७ विद्यार्थी अध्ययनरत रहेकामा ३० जना शिक्षक छन्। यस्तै प्राविधिक र प्रशासनिक कर्मचारीको संख्या २४ छ।  सिग्देलले पठनपाठनमा भइरहेको समस्याप्रति सरकारको ध्यान दिनुपर्नेमा जोड दिए। ‘विद्यार्थीबाट शुल्क नलिन भनेको छ। तर हामीले गुणस्तरीय शिक्षाका लागि शिक्षकको दरबन्दी आफैँ पूर्ति गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सरकारले छिटो भन्दा छिटो विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्नुपर्छ।’

विद्यालयले विद्यार्थीलाई पढ्न मात्र नभएर उत्पादन गर्न पनि सिकाइरहेको विद्यालयका उपप्रधानाध्यापक कमलराज आचार्यले जानकारी दिए। उनले भने, ‘विद्यालयले अपनाएको तरिकाले नमुना बन्न सफल भएको हो। यस विद्यालयको मुख्य आकर्षणको केन्द्र भनेको पढाइसँगै कमाइ नै हो। जसमा विद्यार्थीहरू आफूखुसी म यो काम गर्छु भनी लागिपरेमा घरपरिवारको सहयोगसँगै विद्यालयले ऋण दिएर सहयोग गर्ने गरेको छ।’

जनज्योतिले प्राविधिकतर्फका तीन सय भन्दा बढी विद्यार्थीलाई अनिवार्य रुपमा पढ्दै कमाउनुपर्ने नियम बनाएको छ। त्यतिमात्र नभएर अन्य क्षेत्रका इच्छुक विद्यार्थी पनि यसमा भाग लिन सक्नेछन्। यस्ता कार्यका लागि विद्यालयले विद्यार्थीका लागि विना ब्याज ऋण उपलब्ध गराउँदै आएको छ। विद्यार्थीले कृषि र पशुपालन मात्र नभएर फलफूल खेती तथा चुरापोते समेत बनाउँदै आएका छन्।

यसरी दिइन्छ ऋण

पहिला विद्यार्थीलाई कृषिजन्य कर्ममा लाग्न उत्प्रेरणा दिइन्छ। रुचि भएका विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्श दिएपछि उनीहरूले व्यावसायिक योजना बनाउनुपर्छ। त्यसपछि ऋण प्राप्तिको प्रक्रिया सुरु हुन्छ। ऋण लिएर कम्पाउन्डभित्र पनि व्यवसाय गर्न सकिन्छ।

कुनै विद्यार्थीले घरमै पनि व्यवसाय गर्न सक्छन्। व्यावसायिक उत्पादन हुन थालेपछि विद्यार्थीले ऋण तिर्न थाल्नुपर्छ। चाँडो उत्पादन भएमा चाँडै ऋण तिर्न थाल्नुपर्छ भने ढिला उत्पादन भएमा ऋणको भाका पनि लामै हुन्छ। यसरी ऋण लिँदा ब्याज तिर्नुपर्दैन।

कठिन छैन सिकाइ स्तर उकास्‍न

 

प्रकाशित: ५ चैत २०७९ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =