नमुना विद्यालय

शिक्षक अभावमै गोगलप्रसाद माविको गुणात्मक फड्को

नेहा झा ६ चैत २०७९ १५:३२
668
SHARES
शिक्षक अभावमै गोगलप्रसाद माविको गुणात्मक फड्को जनकपुरधामस्थित गोगलप्रसाद माविका विद्यार्थी। तस्बिरः हिमालप्रेस।

कुनै बेला गोगलप्रसाद माविमा शिक्षाका नाममा गरिने अनावश्यक राजनीतिले डेरा जमाएको थियो। तर अहिले राजनीतिलाई पूर्ण रूपमा निरुत्साहित गरिएपछि विद्यालयले शैक्षिक सुधार गर्न सफल भएको छ।

जनकपुरधाम– पाँच वर्षअघिसम्म जनकपुरधामछेउमै रहेको बसहियास्थित गोगलप्रसाद नमुना माध्यमिक विद्यालय कहाँ छ भन्ने जानकारी त्यहाँ पढ्ने विद्यार्थी र अभिभावकमा सीमित थियो। बसहिया र नजिकै रहेको सोनापाडासहितका गाउँका बालबालिका मात्रै विद्यालयमा पढ्न जान्थे। न पर्याप्त भौतिक पूर्वाधार थियो न शैक्षिक अवस्था राम्रो थियो। त्यसैले विद्यार्थी संख्या थोरै थियो। सिकाइ स्तर पनि कमजोर।

भौतिक पूर्वाधार सबल बनेपछि यति बेला विद्यालयमा करिब तीन हजार विद्यार्थी अध्ययनरत छन्। विद्यालयको परिचय र स्वरूप दुवै फेरिएको छ। सिकाइ स्तरमा पनि गुणात्मक फड्को मारिरहेको छ।

बर्सेनि विद्यार्थी संख्या थपिने क्रम जारी छ। बसहिया र सोनापाडाका मात्रै होइनन्, जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडादेखि अन्य पालिकाबाट समेत अभिभावकको रोजाइमा परेको छ उक्त विद्यालय।

विद्यार्थीलाई स्वास्थ्य समस्या नहुन दिन नर्ससमेत खटिएका छन्। नर्सले सहज र सरल भाषामा विद्यार्थीलाई स्वास्थ्य जानकारी गराउँछन्। छात्रालाई महिनावारी हुँदा बिदा लिनुपर्ने समस्या हटेको छ। स्थानीय सरकारले प्रत्येक महिना स्यानेटरी प्याड वितरण गरेपछि महिनाको चार दिन शिक्षणबाट वञ्चित हुनुपर्ने अवस्थाबाट छुटकारा पाएको छात्राहरू बताउँछन्।

गोगललाई नेपाल सरकारले २०७४ सालमा नमुना विद्यालयका रूपमा छनोट गरेको थियो। सोहीअनुसार संघीय सरकारबाट प्राप्त अनुदान रकमबाट भौतिक, शैक्षिक र व्यवस्थापकीय तीनवटै क्षेत्रमा लगानी गरी अन्य विद्यालयभन्दा फरक र सबल बनाउन दिनरात लागिपरेको विद्यालयका प्रधानाध्यापक महावीर दास बताउँछन्।

‘नेपाल सरकारको उद्देश्यअनुरूप हामीले विद्यालयलाई नमुनाका रूपमा विकास गर्ने प्रयत्नमा लागिपरेका छौँ,’ प्रधानाध्यापक दासले हिमालप्रेससँग भने, ‘नमुना विद्यालयमा छनोट हुनुअघि विद्यालयमा अध्ययनरत कुल विद्यार्थीको संख्या ७४२ थियो। अहिले करिब तीन हजार विद्यार्थी अध्ययनरत छन्।’

प्रधानाध्यापक दासका अनुसार कक्षा एकदेखि १० सम्ममा २७ सय २३ जना विद्यार्थी छन्। डिप्लोमा इन सिभिल इन्जिनियरिङको समेत अध्यापन गराइन्छ। दुवैमा गरी करिब तीन हजार विद्यार्थी अध्ययनरत रहेको दास बताउँछन्।

विद्यालयमा बिहान ६ देखि ११ र १० देखि ४ सम्म गरी दुई सत्रमा अध्यापन हुँदै आएको शिक्षक अनिललाल कर्णले जानकारी दिए। उनका अनुसार कक्षा ६ देखि १० सम्म बिहानी सत्रमा पढाइ हुन्छ। यी कक्षामा अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ।

अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि निजी स्कुलका विद्यार्थी पनि गोगलमा आउन थालेको प्रधानाध्यापक दासले जानकारी दिए। कक्षा ११ मा शिक्षा, व्यवस्थापन र विज्ञान संकाय पढाइ हुन्छ। यस्तै प्राविधिक धारको पढाइ पनि हुन थालेको छ। ‘विद्यालयमा तीन वर्ष पहिलेदेखि प्राविधिकतर्फ पठनपाठन सुरु गरेको छ,’ प्रधानाध्यापक दासले भने, ‘आउँदो शैक्षिक सत्रदेखि डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ कक्षासमेत सञ्चालन गर्ने तयारी गरेका छौँ। यसका लागि प्रक्रिया पूरा भइसकेको छ।’

गोगल मावि यत्तिकै नमुना नबनेको शिक्षक अनिललाल कर्णको दाबी छ। शिक्षकको परिश्रम, सिकाइमा नयाँनयाँ प्रविधि र खेलकुदले विद्यार्थी आकर्षित गरेको उनको भनाइ छ। विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गराइँदै आएको छ।

उनी भन्छन्, ‘विद्यार्थीलाई खेलकुदका लागि समेत प्रोत्साहित गर्ने गरेका छौँ। परिणामस्वरूप अतिरिक्त क्रियाकलापमा बालबालिका सधैँ अगाडि हुने गरेका छन्।’ केही दिनपहिले भएको विद्यालयस्तरीय क्रिकेट टुर्नामेन्टमा ११ वटा निजी विद्यालयका टोलीलाई पराजित गर्दै गोगलले उपाधि हात पारेको थियो।

विद्यार्थीको विभिन्न विधामा रहेको रुचि उजागर गर्नकै लागि विद्यालय प्रशासनले विभिन्न योजना बनाएको छ। जसअन्तर्गत साहित्य, खेलकुद, नृत्य, गायन तथा वाककला विकासका लागि वादविवाद प्रतियोगिता आयोजना गरिन्छन्। पढाइसँगै अतिरिक्त क्रियाकलाप गराउन विभिन्न चार समूहमा विद्यार्थी बाँडिएका छन्।

प्रधानाध्यापक दासका अनुसार आउँदो शैक्षिक सत्रदेखि यसलाई अझ व्यवस्थित बनाइनेछ। खेलकुदमा रुचि राख्ने विद्यार्थीलाई दृष्टिगत गर्दै विद्यालय हाता फराकिलो बनाइएको उनले बताए। नमुना भइसके पनि विद्यालयमा केही पक्ष भने सुधार गर्नुपर्ने आवश्यकता रहेको प्रधानाध्यापक दास स्वयं स्वीकार गर्छन्।

उनी भन्छन्, ‘हाम्रो विद्यालय नमुना बन्नु सुखद कुरा भए पनि यहाँ अहिले पनि प्राथमिक कक्षामा अध्ययनरत विद्यार्थीका लागि शिक्षक संख्या एकदमै न्यून छ।’ विद्यालयमा प्राथमिक कक्षाका लागि १७ जना शिक्षक दरबन्दी भए पनि १२ जना मात्रै छन्। तीमध्ये ६ जना दरबन्दीमा र ६ जना निजी स्तरबाट नियुक्त गरिएको छ। प्राथमिक तहमा ९ सय ५० विद्यार्थी छन्। तीमध्ये छात्रको संख्या ४ सय ५६ र छात्राको संख्या ४ सय ९४ छ।

विद्यालयको प्राविधिक शिक्षातर्फको नतिजा सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। दास भन्छन्, ‘यसका लागि हामीले विद्यालय प्रशासनसहित शिक्षक, विद्यार्थी, अभिभावकसमेत अझ जिम्मेवार बन्नुपर्ने खाँचो छ।’

स्कुलमा सिकाइ स्तर बढ्दै जानुको एउटा कारण शिक्षक पूरा समय कक्षाकोठामा रहनु हो। विद्यालयमा राजनीतिलाई निरुत्साहित गरिएकै कारण जिल्लामा ख्याति कमाइरहेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनी बताउँछन्।

‘२०६५ सालभन्दा पहिला यहाँको शैक्षिक, भौतिक र व्यवस्थापकीय अवस्था खस्कँदो थियो। विद्यार्थीलाई पढ्ने वातावरण थिएन। शिक्षाका नाममा राजनीतिले डेरा जमाएको थियो। दलका नेताहरू विद्यालय धाराशयी बनाउन सक्रिय थिए,’ वडाध्यक्ष सहनीले अगाडि भने, ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दासम्म जिल्लास्तरमा समेत यस विद्यालयको नामोनिसान कहीँकतै थिएन।’

१२ कक्षासम्मको पठनपाठनका लागि अनुमति दिलाउन सफल भएपछि विद्यालयको अवस्था उकासिँदै गएको उनले जानकारी दिए। विद्यालयको शैक्षिक अवस्था प्रभावकारी बनाउन विद्यालयका साथसाथै स्थानीय सरकारले समेत आवश्यक भूमिका खेल्नुपर्ने उनी बताउँछन्। विद्यालयमा भवन पाँच वटा छन्।

‘यहाँ अझै समस्या छन् जुन विद्यार्थीको र विद्यालयको भविष्यसँग जोडिएको छ’, उनले भने, ‘यसमा विद्यालयभन्दा स्थानीय सरकारले आवश्यक कदम चाल्नुपर्छ।’  उपमहानगरले बवास्ता गरेकै कारण दरबन्दी मिलान भइसकेका शिक्षकसमेत अध्यापनका लागि नपुगेको वडाध्यक्ष सहनीको आरोप छ। यसका लागि आफूले जनकपुरधाम उपमहानगरपालिकालाई पटकपटक आग्रह गरे पनि सुनुवाइ भएको उनले बताए।

‘शिक्षक अभावमा विद्यालयको पठनपाठन प्रभावित भइरहेको छ’, उनले भने ‘तर उपमहानगरलाई चासो छैन। मैले त आफैँ पनि कयौँ पटक आग्रह गरिसके कुनै प्रकारको सुनुवाइ छैन।’

जनकपुरधाम उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे भने आउँदो शैक्षिक सत्रदेखि दरबन्दी मिलाइने बताउँछिन्। उनी भन्छिन्, ‘चैत मसान्तमा परीक्षा नजिक आइसकेकाले पठनपाठनमा कठिनाइ हुन सक्छ। त्यसैले आउँदो शैक्षिक सत्रको सुरुमै दरबन्दी मिलान गर्ने निर्णय गरेका छौँ।’

शिक्षक अभाव रहेको विद्यालयमा सरुवा गरिए पनि विभिन्न कारण देखाउँदै शिक्षक जान नमानेपछि उपमहानगरले केहीको तलबसमेत रोक्का गरिएदिएको थियो। त्यसपछि केही शिक्षकहरु सरुवा गरिएको विद्यालयमा हाजिर भएका थिए। नगएकाहरुलाई पुनः पत्राचार गरिएको प्रमुख पाण्डेले जानकारी दिइन्।

नमुना बन्न के के हुनुपर्छ?

नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका बमोजिम सम्बन्धित विद्यालय व्यवस्थापन समितिले पेस गर्ने सुधारको गुरुयोजनालाई स्थानीय तहले केन्द्रमा प्रतिबद्धतासहित सिफारिस गरेपछि नमुना विद्यालय छनोट भएका हुन्।

निर्देशिकामा उल्लेख भएअनुसार नमुना विद्यालयमा आवासीय सुविधा, पुस्तकालय, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था, घेराबार तथा बगैँचा, प्रशासनिक भवन, शिक्षण भवन तथा कक्षाकोठा, प्राथमिक उपचार तथा परामर्श कक्ष, विद्यालय संग्रहालय, प्रयोगशाला, अडिटोरियम हल, चमेनागृह, व्यवस्थित शौचालय, खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा, व्यावसायिक कार्यशाला कक्ष आदिको प्रबन्ध भएको हुनुपर्छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नमुना विद्यालयको भौतिक शैक्षिक पूर्वाधार विकासमा सरकारले केही वर्षयता बजेट विनियोजन गर्दैै आएको छ। यसअन्तर्गत विद्यालयको भवनदेखि सूचना प्रविधि प्रयोगशालासम्म निर्माण गरिएका छन्।

शैक्षिक पूर्वाधार

विशेष आवश्यकता भएका बालबलिकाका लागि तालिम प्राप्त शिक्षकको व्यवस्था गर्ने, शिक्षण सिकाइ प्रक्रिया अपनाउँदा आधुनिक शिक्षणविधि र प्रविधिसहितको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, नमुना विद्यालयले विज्ञान प्रयोगशालासहितको कक्षा ११ र १२ सञ्चालन गरेको हुनुपर्ने, आधारभूत तहका लागि पूर्वव्यावसायिक सीपको अवसर उपलव्ध गराउनुपर्ने लगायतका विषय छन्।

यसका साथै नमुना विद्यालयले स्थानिय परिवेश अनुसार पाठ्यक्रम निर्माण, अन्तर विद्यालय सञ्जाल निर्माण, शैक्षिक अध्ययन अवलोकन भ्रमण, शिक्षण सिकाइमा सूचना प्रविधिको अधिकतम प्रयोग, विद्यालयको आधिकारीक वेबसाइट र सामाजिक सञ्जाल, शिक्षण सिकाइका लागि पर्याप्त शैक्षिक सामग्री, विद्यालयको मूल्याङ्कन प्रभावकारी रुपमा लागू गरेको हुनुपर्ने उल्लेख छ।

भौतिक पूर्वाधार

शिक्षण भवन तथा कक्षा कोठा बालमैत्री, अपांगमैत्री, विपद् प्रतिरोधात्मक साथै तोकिएको मापदण्डअनुसार कक्षाकोठाको संख्या र पूर्वाधार हुनुपर्नेछ। प्रारम्भिक बालशिक्षाका लागि बालमैत्री राष्ट्रिय प्रारुपबमोजिमको प्रर्याप्त खेल तथा सिकाइ सामग्रीसहितको छुट्टै कोठा भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ।

यसका साथै प्रधानाध्यापक, शिक्षक र कर्मचारीका लागि छुट्टै कोठासहितको प्रशासकीय भवन, पुस्तकालयलाई क्रमिक रुपमा डिजिटल पुस्तकालमा रुपान्तरण गर्नुपर्ने उल्लेख छ। यसका साथै विज्ञान प्रयोगशाला र सूचना प्रविधि प्रयोगशाला, सूचना प्रविधि प्रयोगशालामा नेटवर्किङ उपकरणसहित कम्तीमा ४० सेट कम्प्युरको व्यवस्था भएको हुनुपर्नेछ।

विद्यालयमा स्थानीय भूगोल र समुदायको अध्ययन गराईने धर्म, संस्कृति, संस्कार, जीवनशैली, भेषभुषा, परम्परा झल्कनेगरी विद्यालय हाताभित्र एउटा संग्रहालयको व्यवस्था गर्नुपर्ने, प्राथमिक उपचार तथा परामर्श कक्षको व्यवस्था गरेको हुनुपर्ने, विद्यार्थीको प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीका साथै विद्यार्थीको आवश्यकताअनुसार ह्विल चेयर र स्ट्रेचर, प्राथमिक उपचार बाकसको व्यवस्था गर्ने उल्लेख छ।

नमुना विद्यालयमा विद्यार्थीका लागि व्यावसायिक कार्यशाला कक्ष, खानेपानी सरसफाइ तथा स्वच्छताका लागि कम्तीमा ४० जना बराबर एक धारा, ४० जना विद्यार्थी बराबर एक छुट्टाछुट्टै बालमैत्री, लैंगिकमैत्री, अपांगमैत्री शौचालय तथा वातावरण मैत्री विद्यालयको व्यस्था गर्ने उल्लेख छ।

नमुना विद्यालयले विद्यालयको हाताभित्र एकपटकमा एकसय जना विद्यार्थीले प्रयोग गर्न सक्ने चमेनागृहको व्यवस्था भएको हुनुपर्ने, विद्यालयमा हुने सभा सम्मेलनका लागि अडिटोरियम हलको निर्माण गर्नुपर्ने, विद्यालयको हाता सुरक्षित र बालमैत्री बनाउन तारबार र धेराबार गरेको हुनुपर्ने, विद्यालय हाताभित्र करेसाबारी र फूलबारी हुनुपर्ने, खेलमैदान र वैकल्पिक विद्युतिय व्यवस्था भएको हुनुपर्ने उल्लेख छ।

सुशासन सुधार

नमुना विद्यालयको रुपमा विकास गर्न भौतिक शैक्षिक पूर्वाधारसँगै सुशासनमा पनि सुधार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। निर्देशिका अनुसार विद्यालयको व्यवस्थापनका लागि आवश्यक सुशासनका पक्षहरू सुधार गर्ने, विद्यालयको गतिविधी नियमन गर्न सिसिटिभि क्यामेरा राख्ने, शिक्षक तथा कर्मचारीको विद्युतिय हाजिरीको व्यवस्था गर्ने, विद्यालय सुधार योजना अनुरुप बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तथा कार्यान्वयन गर्नुपर्ने उल्लेख छ। यसका साथै नमुना विद्यालयले अभिभावक भेला, लेखा परीक्षण, सिकाइ उपलब्धी मापन गर्नुपर्ने, बालक्लव, स्काउट , रेडक्रसका जुनियर सर्कल गठन गर्नुपर्ने हुन्छ।


प्रतिक्रिया

2 thoughts on “शिक्षक अभावमै गोगलप्रसाद माविको गुणात्मक फड्को

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =