नमुना विद्यालय

निरन्तर उत्कृष्ट ज्ञानोदय

विपिन पोखरेल ६ चैत २०७९ १०:२०
3.0k
SHARES
निरन्तर उत्कृष्ट ज्ञानोदय

काठमाडौँ– देशका नमुना विद्यालयको सूचीमा रहेर पहिचान बनाउन सफलमध्ये एउटा स्कुल हो, ज्ञानोदय माध्यमिक विद्यालय। व्यवस्थापन समितिको नेतृत्वदायी भूमिका, शिक्षक कर्मचारीको परिश्रम र अभिभावकको विश्वासका कारण काठमाडौँ बाफलस्थित यो विद्यालयले प्राप्त गरेको सफलता लोभलाग्दो छ।

विद्यालय एसईई र एसएलसीमा उत्कृष्ट नतिजा निकाल्न सफल छ। ‘निरन्तर राम्रो नतिजा दिँदा हामीलाई अभिभावकले विश्वास गर्नुभएको छ,’ प्रधानाध्यापक नातिकाजी महर्जनले भने, ‘शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिपक्षीय सम्बन्ध दरिलो छ। यसले विद्यालयलाई उत्कृष्ट बन्न सहयोग पुर्‍याएको छ।’

भौतिक संरचना सबल हुँदैमा शैक्षिक गुणस्तर सुधार नहुने प्रधानाध्यापक महर्जनको अनुभव छ। शिक्षक, विद्यार्थी र अभिभावक मिलेर मेहनत गरेमा मात्र सफलता हात लाग्ने उनी बताउँछन्। त्यसमा पनि मुख्य भूमिका त सिकाइ गतिविधिमा शिक्षकको सक्रियता हो।

महर्जनले भने, ‘हरेक दिन सिकाइ योजना बनाउँछौँ, शैक्षिक सामग्री संकलन गर्छौँ र विद्यार्थीसँग मित्रवत् व्यवहार गरेर सिकाउँछौँ।’ विद्यालयले यस वर्षमात्रै काठमाडौँ उपत्यकाकै ‘बेस्ट प्रिन्सिपल’, ‘बेस्ट अकाउन्टेन्ट’ अवार्ड हात पारेको छ। नेपाल टेलिकमले प्रदान गरेको आईसीटी अवार्ड पनि प्राप्त गर्न सफल भएको छ।

अभिभावकीय भूमिकामा प्रधानाध्यापक

सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न गुणस्तरीय शिक्षा हुनैपर्छ। त्यसैले त विद्यालय प्रशासन अभिभावकलाई राम्रो विद्यालयमा सन्तान पढाइरहेको अनुभूति दिलाउन लागिपरेको छ।

कक्षाकोठामा राम्रो सिकाइ भए उत्कृष्ट नतिजा आउने प्रधानाध्यापक महर्जन बताउँछन्। ‘निजी विद्यालयमा चलिरहेको शिक्षण पद्धति अनुशरण गरेका छौँ,’ उनले भने, ‘उत्कृष्ट विद्यालयको अभ्यासलाई अपनाएका छौँ।’

सिकाइलाई प्रभावकारी र व्यवस्थित बनाउन विद्यालय लागिपरेको छ। महर्जनले भने, ‘अनुभवी र मेहनती शिक्षक समूह, सिकाइमा शैक्षिक सामग्रीको प्रयोग, अनुशासित विद्यार्थी, कुशल व्यवस्थापन सफलताका कारक हुन्।’ प्रतिस्पर्धी बजारका लागि दक्ष जनशक्ति उत्पादनमा विद्यालयले जोड दिँदै आएको शिक्षक विष्णुप्रसाद ज्ञवाली बताउँछन्।

‘दक्ष रूपमा अघि बढ्न जग बलियो हुनपर्छ,’ उनले भने, ‘त्यसका लागि योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ। विद्यार्थीलाई केन्द्रमा राखेर शैक्षिक गुणस्तरमा ध्यान दिएका छौँ।’

शिक्षकले भोलिको शिक्षण सिकाइका लागि गृहकार्य गर्छन्। पाठयोजना बनाउँछन्। विद्यार्थी र शिक्षकका समस्याका सबै मिलेर समाधान गर्ने गरेको महर्जन बताउँछन्।

‘विद्यालयमा प्रधानाध्यापकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘शिक्षकलाई काम गर्न उत्साहित गर्नुपर्छ। विद्यालय व्यवस्थापनसँगै शैक्षिक गुणस्तरमा पनि सुधार गर्नतिर लाग्नुपर्छ।’

सफलताको जग बसालेको चाहिँ अघिल्ला प्रधानाध्यापकले हुन्। प्रधानाध्यापक महर्जनले भने, ‘रत्न बज्राचार्य सरले मेहनत गर्न सिकाउनुभयो। त्यसलाई धनञ्जय सरले निरन्तरता दिनुभयो।’ यसरी सुधार हुँदै गएको गुणस्तरका विषयमा बालबालिकाबाटै प्रचार भएर समुदायमा स्थापित भएको महर्जन बताउँछन्।

भौतिक र शैक्षिक पूर्वाधारले विद्यार्थी आकर्षित

विद्यालय आठ रोपनी क्षेत्रफलमा फैलिएको छ। विद्यालयमा २०७२ सालपछि निर्माण भएका दुईवटा अत्याधुनिक भवन छन्। पुराना ‘रेट्रोफिटिङ’ गरिएका भवनमा ७० कोठा छन्। विद्यालय परिसरभित्र बास्केटबल कोर्ट, टेबल टेनिस कोर्टमा बालबालिका खेलिरहेका हुन्छन्।

दुईवटा अत्याधुनिक आईसीटी ल्याब र विज्ञान प्रयोगशाला छन्। भौतिक पूर्वाधारले सम्पन्न बन्दै गएको विद्यालयमा विद्यार्थीको आकर्षण प्रत्येक वर्ष बढ्दो छ।

विद्यालयले ईसीडी कक्षा, कक्षा ११ र १२ आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको छ। अभिभावकसँग कक्षाअनुसार सहयोग रकम (फी) लिने गरेको छ। मासिक साढे दुईदेखि तीन सय रुपैयाँ शुल्क लिने गरिएको प्रधानाध्यापक महर्जन बताउँछन्।

कक्षा १० मा भने अभिभावकले मासिक सात सय शुल्क निर्धारण गरिएको छ। कक्षा ११ र १२ मा व्यवस्थापनतर्फका विद्यार्थीले नौ सय र विज्ञानतर्फका विद्यार्थीले मासिक १५ सय रुपैयाँ शुल्क तिर्छन्।

सरकारी विद्यालयमा शुल्क किन लिएको भन्ने प्रश्नमा महर्जन भन्छन्, ‘अभिभावकसँग सहयोग लिँदा विद्यालय र अभिभावक दुवै शैक्षिक गुणस्तरमा जिम्मेवार हुँदा रहेछन्।’

यस्तै अतिरिक्त कक्षाका लागि थप शिक्षक व्यवस्थापन गर्न सहयोग पुग्ने उनी बताउँछन्। सफल हुँदै गएपछि सरकारको सहयोगको दायरा पनि बढाउँदै लगेको प्रधानाध्यापक महर्जन बताउँछन्। उनका अनुसार विद्यालय शिक्षा सुधार कार्यक्रम, विद्यालय शिक्षा विकास कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत बजेट आउने गरेको छ। यसबाट विद्यालयको स्वरूप परिवर्तन गर्न मद्दत गरेको महर्जन बताउँछन्।

काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र एसियाली विकास बैंकको सहयोगमा पनि विद्यालयका भौतिक शैक्षिक पूर्वाधार निर्माण भएका छन्। यसले पनि विद्यालयका स्तर उकास्न सहयोग गरेको छ।

कोरोना महामारीपछि विद्यालयमा विद्यार्थीको चाप बढेको छ। निजी विद्यालय छाडेर विद्यार्थी यहाँ भर्ना हुने गरेका छन्। २०७० सालमा लगभग दुई हजारले पढ्ने विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या बढ्दो छ। अहिले नर्सरीदेखि १२ कक्षासम्म गरी विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म रहेको विद्यालयमा चार हजार ३३३ विद्यार्थी अध्ययनरत छन्।

विद्यालयले नर्सरीमा एकसय जना विद्यार्थी भर्ना लिने गरेको छ। भर्ना हुन आवेदन दिने धेरै भए पनि सबैलाई लिन नसकिने प्रधानाध्यापक महर्जन बताउँछन्। ‘शिक्षक व्यवस्थापन निजी स्रोतबाट गर्नुपर्ने अवस्था भए पनि धेरै विद्यार्थी भर्ना गर्न कोठा अपुग हुन्छ,’ महर्जनले भने।

२०६८ सालयता अंग्रेजी माध्यमबाट पढाउन थालेपछि आकर्षण बढेको महर्जन बताउँछन्। २०४६ सालदेखि विद्यालयमा अध्यापन गर्दै आएका नातिकाजी महर्जन विद्यालयका प्रधानाध्यापक बन्नुअघि सो जिम्मेवारी शिक्षाविद् धनञ्जय शर्माले सम्हालेका थिए।

उत्कृष्ट नतिजा

विद्यालयबाट एसईईमा २०७२ सालमा २८ जना, ०७३ मा ४८, ०७४ मा ३१, ०७५ मा ६०, ०७६ मा १९७, ०७७ मा २४९ र ७८ सालमा ४९ जनाले ए प्लस नतिजा ल्याउन सफल भएका थिए। कक्षा १२ को प्राविधिक धारतर्फ काठमाडौँ महानगरकै सर्वोत्कृष्ट विद्यालय हो ज्ञानोदय। गत वर्ष ३८५ जना विद्यार्थी एसईई र टीएसईईमा सहभागी भएकामध्ये ४९ जनाले ए प्लस, १०७ जनाले ए, ११८ जनाले बीप्लस, ७२ जनाले बी, ३५ जनाले सी प्लस र दुई जनाले सी ग्रेड ल्याएका थिए।

यस वर्षको एसईईमा विषयगत औसत नतिजा पनि उत्कृष्ट रहेको छ। २०७७ सालको एसईईमा ३१३ जना विद्यार्थी सहभागी भएकामध्ये २४९ जनाले ए प्लस र ६४ जनाले ए ग्रेड ल्याउन सफल भए।

सिकाइमा प्रविधिको प्रयोग

विद्यालयले सिकाइमा प्रविधिको प्रयोगमा जोड दिँदै आएको छ। आईसीटी ल्याब, डिजिटल ल्याब, स्मार्ट बोर्ड कक्षा सञ्चालनमा ल्याएको विद्यालयले हिउँदे, गर्मी र दसैँ बिदामा समेत अनलाइनमार्फत अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।

कक्षा चारदेखि कम्प्युटर कक्षाको पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक महर्जन बताउँछन्। उनका अनुसार विद्यालयले मन्टेसोरी माध्यममा पूर्वप्राथमिक कक्षा सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरू विभिन्न खालका चित्र बनाएर डिकोडेबल लर्निङ मेथडबाट अध्ययन गर्छन्।

उनले भने, ‘हाम्रा विद्यार्थी किताबको चित्र हेरेरभन्दा पनि आफैँ बनाएर पढ्छन्। बोर्डमा चित्र बनाउनेभन्दा पनि इन्टरनेटमा वास्तविक वस्तु हेरर सिक्छन्। हेर्दै, सिक्दै, पढ्दै गर्दा विद्यार्थीले चाँडै सिक्न सक्छन्।’

शिक्षक नै खम्बा हुन्

ज्ञानोदय स्कुल नमुना बन्नुमा शिक्षकको मेहनत र समुदायको विश्वास प्रमुख कारण रहेको बताउँछन् प्रधानाध्यापक महर्जन। सोही कारण प्रधानाध्यापक र शिक्षकहरू अभिभावक वर्गसँग भेट्दा पनि विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने योजनासहितको चिन्ता र चासो प्रकट गरेर छलफल गर्दै आएका छन्।

प्रधानाध्यापक महर्जन भन्छन्, ‘शिक्षकलाई पनि मेहनत गरेर विद्यालयको साख जोगाउनुपर्छ भन्ने हुन्छ। समुदायका मानिसलाई विद्यालयको अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्छ। सबैले आआफ्नो ठाउँबाट मेहनत गर्दा हामी सफल भएका छौँ।’

विद्यालय प्रशासनले पनि शिक्षकलाई सकारात्मक ऊर्जा र सन्देश प्रवाह हुने गरी खटाउनुपर्ने महर्जन बताउँछन्। उनी भन्छन्, ‘शिक्षकलाई हाम्रो स्कुल राम्रो छ। मैले पढाएको विद्यालयको पठनपाठन उत्कृष्ट त भन्ने सन्देश प्रवाह गर्नुपर्छ।’ अर्को कुरा शिक्षकका सन्तानलाई पनि आफ्नै स्कुलमा पढाउने वातावरण बनाउनुपर्ने महर्जन बताउँछन्। उनी भन्छन्, ‘हाम्रो विद्यालयका अधिकांश शिक्षकका सन्तान यही स्कुलमा पढ्छन्। त्यसैले पनि निजी विद्यालयभन्दा हाम्रो विद्यालयको गुणस्तर राम्रो छ।’

अतिरिक्ति सुविधा के छन् त?

विद्यालयले शिक्षकलाई थप काम लगाएमा सोहीअनुसार सुविधा दिँदै आएको महर्जन बताउँछन्। उनी भन्छन्, ‘नियमित पारिश्रमिकभन्दा अतिरिक्त सुविधा काम र जिम्मेवारीका आधारमा थप्ने गरेका छौँ।’ विद्यालयले कक्षा शिक्षकलाई पनि कक्षाअनुसार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आइको छ।’

यति मात्रै होइन, विद्यालयमा नयाँनयाँ कार्यक्रम लागू हुँदा संयोजक तोकेर त्यसका लागि विशेष भत्ता छुट्याइएको छ। यस्तै बैठक बस्दा थोरै भए पनि भत्ता रकम उपलब्ध गराइँदै आएको छ।
प्रधानाध्यापक महर्जनले भने, ‘बैठक बस्दा खाजा खर्चबापत एक सय भत्ता दिने गरेका छौँ।’

दिवा खाजाले बढायो त आकर्षण?

विद्यालयमा दिवाखाजाको व्यवस्था पनि छ। तर खाजाका कारण विद्यार्थी आकर्षण बढेको भन्ने विषयमा प्रधानाध्यापक सहमत छैनन्। उनी उल्टै सरकारले खाजाको पैसा दिन ढिलाइ गरेको गुनासो गर्छन्।

उनले भने, ‘काठमाडौँ महानगरपालिकाले हामीलाई गत वर्ष असारसम्मको १३ लाख रुपैयाँ दिएको छैन। विद्यार्थीलाई खुवाइसकियो तर समयमा पैसा नआउँदा यसलाई नियमित बनाउन कठिन छ।’ सरकारी विद्यालय भएकाले विशेष छात्रवृत्ति दिने नरहेको उनले बताए।

उनी भन्छन्, ‘विपन्न अभिभावकसँग कुनै पनि किसिमको सहयोग माग्दैनौँ। विद्यार्थीलाई पाठ्यपुस्तक र कापीकलम उपलब्ध गराउछौँ। कक्षामा प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्नेलाई पुरस्कृत गर्ने गरेका छौँ।’

कठिन छैन सिकाइ स्तर उकास्‍न

कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट बन्नुको रहस्य

बोर्डिङलाई छायामा पार्दै जनसेवा मावि

स्कुलबाट सीपसँगै ऋण पनि

प्रकाशित: ६ चैत २०७९ १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =