नमुना विद्यालय

कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

विनोद परियार ५ चैत २०७९ १७:५६
6.8k
SHARES
कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

लुम्बिनी- २०६५ सालमा कारबाहीमा परेको थियो बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय। कारण थियो- कमजोर नतिजा। सरकारले अनुदानसमेत रोक्का गरेपछि शिक्षक निराश भएका थिए। जीर्ण भवन, पुराना डेस्क, थोत्रिएका बेन्च। विद्यार्थी संख्या जम्मा ६६७। उतिखेर यही ‘विशेषता’ थिए, कालिका मानवज्ञान माविका।

त्यसको डेढ दशकमा विद्यालयले काँचुली फेरेको छ। शैक्षिक गुुणस्तरमा नेपालकै उत्कृष्ट विद्यालयमा दरिन सफल भएको छ। अकल्पनीय फड्को मारेको कालिका विद्यार्थी संख्या र शिक्षकको हिसाबले नेपालमै ठूलो विद्यालयका रूपमा स्थापित छ। विद्यालयमा बालकक्षादेखि १२ सम्म ७६११ विद्यार्थी छन्। दरबन्दी र विद्यालय स्रोत गरी ३५१ शिक्षक कर्मचारी छन्। आधुनिक कक्षाकोठा, फर्निचरसहितको भूकम्पप्रतिरोधी र अपांगमैत्री भवन छन्। साधारण र प्राविधिक शिक्षा दुवैमा विद्यालयको नतिजा उत्कृष्ट छ।

२०७३ सालको एसएलसी परीक्षामा राष्ट्रिय प्रथम, २०७४ मा राष्ट्रिय तृतीय हुँदै प्राविधिकतर्फ २०७२ सालदेखि २०७८ सम्म प्रथम बनेर अग्रता कायम गरेको छ। नेपाल सरकारको नमुना विद्यालयमा पर्न कालिकाले यो अवधिमा परम्परागत मूल्यमान्यता र शिक्षण सिकाइमा निकै मेहनत गरेको विद्यालयका पूर्वप्रधानाध्यापक घनश्याम पाठकले बताए।

‘म प्रधानाध्यापक हुँदा २४ जना शिक्षक र कर्मचारी थिए भने विद्यार्थी ६ सय ६७ मात्रै थिए,’ पाठकले विगत सम्झँदै भने, ‘भवन पनि कमजोर थियो। स्कुल र अभिभावकबीच खासै गतिलो सम्बन्ध थिएन। त्यसका लागि हामीले घरदैलो गर्‍यौँ। धेरैभन्दा धेरै विद्यार्थी ल्याउन अंग्रेजी माध्यममा पढाइ गर्न थाल्यौँ। शिक्षण सिकाइमा व्यापक सुधार गर्‍यौँ। समुदायलाई विद्यालयसँग जोड्दै गयौँ।’

अभिभावकलाई ‘गुणस्तरीय शिक्षा दिने’ विश्वास दिलाएपछि कालिकाले फड्को मारेको पूर्वप्रधानाध्यापक पाठकको भनाइ छ। ‘सुरुमा धेरैले पत्याएका थिएनन्,’ उनले भने, ‘२०६५ मै हामीले कक्षा १ देखि ५ सम्म अंग्रेजीमा पढाउन थाल्यौँ। त्यही वर्षबाट नतिजा राम्रो आयो।’ त्यसपछि हरेक वर्ष विद्यार्थी संख्या थपिँदै गयो।

अहिले नेपालकै ठूूलो र नतिजामा अब्बल ठहरिएको कालिकालाई राष्ट्रिय स्तरमा चर्चा दिलाउने श्रेय पूर्वप्रधानाध्यपक पाठकलाई जान्छ। २०१८ पुस ७ मा ‘विश्व शान्ति नेपाल राष्ट्रिय’ प्राविको रूपमा स्थापना भए पनि २०२९ सालमा कालिका निमावि भएको हो। २०३२ सालमा माविको अनुमति पाएको विद्यालयमा २०६५ सालदेखि कक्षा ११-१२ सञ्चालनमा आए।

त्यतिमात्रै होइन, २०७५ सालमा कालिका २०४२ सालमा स्थापना भएको बुटवल रामनगरको मानवज्ञान माविसँग गाभियो। त्यसपछि नामकरण भयो- कालिका मानवज्ञान मावि।  कालिकानगरको ‘ए’ ब्लक र रामनगरको ‘बी’ ब्लक गरी दुई ठाउँमा पढाइ हुँदै आएको छ। रामनगरको ‘बी’ ब्लकमा १३४५ विद्यार्थी छन्।

सामुदायिक विद्यालयले विद्यार्थी नपाएर हैरान भइरहेको अवस्था छ। यहाँ भने दुई विद्यालय गाभिएर दुई ठाउँमा पढाइ हुँदा पनि विद्यार्थीलाई भर्ना पाउन हम्मेहम्मे पर्छ। ‘हामीले एक वर्षमा थप्ने भनेको एसईईबाट पासआउट हुने विद्यार्थी संख्या बराबरमात्रै हो,’ विद्यालयका प्रधानाध्यापक दिनेश थापाले भने। उनका अनुसार विद्यालयमा ६८ जिल्लाका विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश लुम्बिनी प्रदेशका विद्यार्थी हुन्। ‘हामीलाई विद्यार्थी भर्नाका लागि प्रत्येक वर्ष दबाब आउँछ, तर हामीले विद्यार्थी भर्ना गर्ने भनेको नर्सरी, कक्षा ४ देखि ६ र ९ मा प्राविधिकतर्फ मात्रै हो,’ उनले भने।

विद्यालयमा साधारण र प्राविधिक शिक्षाको पढाइ हुुन्छ। कक्षा ९-१२ प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ र कक्षा ११-१२ मा नेपालमै पहिलोपटक कानुुन विषय पढाइ हुँदै आएको छ। यस्तै कक्षा ११ र १२ मा पत्रकारिता विषय पनि पढाइ हुन्छ। विद्यालयका अनुसार बालकक्षामा एउटा कोठामा ३५ जना, कक्षा १-३ सम्म ४० विद्यार्थी, कक्षा ४-५ मा ४५, कक्षा ६-८ सम्म ४८ र कक्षा ९-१० मा ४८ विद्यार्थीसम्म राखेर पढाइन्छ।

अन्य सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भइरहँदा कालिकामा विद्यार्थी भर्ना नै गर्न नसक्ने अवस्था आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले बताए। विद्यालयले परीक्षामा निकालेको नतिजाकै कारण देशभरिबाट विभिन्न विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापक कालिकामा आउने गरेको अध्यक्ष ज्ञवालीले बताए। विद्यालयका अनुसार अहिलेसम्म १६ हजार प्रधानाध्यापक र शिक्षकले अवलोकन गरिसकेका छन्।

विद्यार्थी केन्द्रित सिकाइ

विद्यार्थी केन्द्रित सिकाइका कारण विद्यालय उत्कृष्ट गनिनुमा सफल भएको हो। बालविकास कक्षामा मन्टेसरी विधि अवलम्बन गरी शिक्षण सिकाइ गराइन्छ। ‘हाम्रो विद्यालय हाम्रो सान’ भन्ने नारासहित सामूूहिक रूपमा शैक्षिक क्रियाकलापलाई रचनात्मक बनाउने गरिएको प्रधानाध्यापक थापाले बताए।

गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई प्रोत्साहन, तालिम र उत्प्ररेणा अवलम्बन गर्ने गरिएको पनि उनले बताए। ‘हामीले कोर्समा मात्रै ध्यान दिँदैनौँ,’ उनले भने, ‘विद्यार्थीले कसरी सिकाइ गर्न सक्छन्, त्यसलाई ध्यानमा राख्छौँ।’

कोर्सको किताबमा मात्रै केन्द्रित नभई विद्यार्थीलाई आफैँ अभ्यास गराउने गरेको कानुन संकायका इन्चार्ज तथा शिक्षक युुवराज कँडेलले बताए। २०७३ सालदेखि कक्षा ११ र १२ मा कानुन विषय पढाउन थालेको कालिकाले विद्यार्थीलाई फिल्डमा गएर मिसिल तयार पार्न लगाउने, समुदायमा कानुनी साक्षरता र कानुनी वकालतको अभ्यास गराउने गरेको उनले बताए।

‘सैद्धान्तिक विषयमात्रै सिकाउँदैनौँ,’ कँडेलले भने, ‘हाम्रोमा कक्षा १२ पास भएपछि कानुनी अभ्यासमा कुनै समस्या नै पर्दैन।’

उनका अनुसार कक्षा १२ पास गर्नेबित्तिकै लेखापढीमा नाम निकालेर सेवामा लागेका पनि छन्। विद्यार्थीसँग घुलमिल भएर पढाउने र नेतृत्वलाई स्वीकार गर्ने प्रवृत्तिका कारण विद्यालयले उत्कृष्ट नतिजा निकालेको उनको भनाइ छ। कालिकाबाट उतीर्ण भएका विद्यार्थीले एमबीबीएस, इन्जियिनरिङ अध्ययनमा ५० देखि ७० जनासम्मले छात्रवृत्तिमा नाम निकाल्ने गरेका छन्। १२ जना राष्ट्रिय खेलाडी छन्। यहाँका विद्यार्थी खेलकुदसँगै साहित्य, संगीतलगायत क्षेत्रमा पनि आबद्ध छन्।

हालै सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा कक्षा १२ की प्रशंसा भट्टराई नेपाल प्रथम हुन सफल भएकी छन्। ‘विद्यार्थीको रुचि र क्षमताको पहिचान गरी उनीहरूको प्रतिभालाई पनि प्रस्फुटित हुने अवसरको खोजी गरिरहेका हुन्छौँ,’ प्राधानाध्यापक थापाले भने।

त्यसो त यो विद्यालयले सरकारले तोकेको शिक्षण विधिलाई अपनाउने गरेको छ। कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रमअनुसार शिक्षण विधि, कक्षा ४ देखि ५ मा निरन्तर मूल्यांकन विधि अवलम्बन गरी विद्यार्थीको स्तर मापन, कक्षा ८ मा नगरस्तरीय मूल्यांकन, कक्षा ९ मा आन्तरिक मूल्यांकन र कक्षा १० मा माध्यमिक शिक्षा मूल्यांकन विधि अपनाएको छ।

हालै विद्यालयले ‘किसानसँग कालिका’ नामक सहक्रियाकलाप सञ्चालन गरेको थियो। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराएर किसानको यथार्थ बुुझ्न फिल्डमा पठाउने र किसानसँग छलफल गराउने गरिएको प्रधानाध्यापक थापाले बताए।

त्यस्तै विद्यार्थीको रुचिअनुसार साहित्य क्लब, साइन्स क्लब, बाल क्लब र परोपरकारका लागि रेडक्रस पनि गठन गरिएको छ।

विद्यार्थीमैत्री पूर्वाधार

विद्यालयले भौतिक पूर्वाधारसँगै विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन कक्षा कोठा, प्रयोगशाला, कम्प्युटर, प्रोजेक्टर राखेको छ। वातावरण अनुुुकूलित कम्प्युटर ल्याब, शुुद्ध खानेपानीको व्यवस्था, विद्यार्थीको उमेरअनुसारको डेस्क-बेन्च, यातायात, जेनेरेटर, इन्टरनेट, खेल मैदानजस्ता अत्यावश्यक पूर्वाधार बनाइएको छ।

पछिल्लो पाँच वर्षमा विद्यालय भवन, छात्रावास र कार्यालय भवन निर्माण गरिएको छ। द्वन्द्वपीडित, आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निःशुल्क आवासको व्यवस्थापन गर्ने छात्रावास सञ्चालन गरेको छ। छात्राबास सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले सहयोग गर्दै आएको विद्यालयले जनाएको छ।

पुस्तकालय, संग्रहालय, संगीतकक्ष, वाचनालय पनि विद्यालयले स्थापना गरेको छ। गत वर्षमात्रै सेक्टर ‘ए’मा १२ कोठाको र सेक्टर ‘बी’मा छ कोठाका दुईवटा भवन निर्माण गरिएको विद्यालयको लेखा शाखाले जनाएको छ। थप १४ कोठा सहितको भवन निर्माणाधीन छ।

रामनगर र कालिकानगरमा गरी विद्यालयको ५ बिघा ८ कट्ठा जग्गा छ। विद्यालयको आर्थिक वर्ष ०७८÷०७९ मा ३१ करोड ३९ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ। यसमध्ये २० करोड ४० लाख १४ हजार रुपैयाँ आन्तरिक स्रोत र बाँकी ७ करोड १ लाख ८४ हजार रुपैयाँ सरकारी अनुदानबाट प्राप्त भएको हो। कालिकाले विद्यालयको व्यावसायिक भवनको भाडा र अभिभावक सहयोगबाट आन्तरिक स्रोतमा आम्दानी गर्ने गरेको छ।

त्यस्तै विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति र शिक्षक सम्मानको लागि २०६३ सालयता ५५ वटा अक्षयकोष सञ्चालित छन्। जसमा कुल १ करोड १३ लाख ३५ हजार रुपैयाँ संकलित छ।

गुणस्तर कायम राख्न चुनौती

नेपालकै नमुूना विद्यालय भएयता त्यसको उत्कृष्टता र उच्चतालाई कायम राख्नुु नै विद्यालयको प्रमुख चुनौती रहेको ठान्छन् विद्यालय व्यवस्थापन समितिका पूूर्वसल्लाहकार एवँ पत्रकार महेन्द्र थापा। उनले भने, ‘सामुदायिक विद्यालयतर्फ रोलमोडेल स्कुल बनेको छ, नतिजा पनि उत्कृष्ट छ। यसलाई कायम राख्नुु नै कालिकाको मुख्य चुनौती हो।’

आठ हजारजति विद्यार्थी रहेकाले यसको व्यवस्थापन चुुस्त र दुरुस्त बनाउन व्यवस्थापन समितिले अभिभावकसँग आत्मीय सम्बन्ध कायम राख्नुपर्ने उनको सुुझाव छ। ३३७ शिक्षक कर्मचारीमध्ये ६२ जना शिक्षक कर्मचारीमात्रै सरकारी दरबन्दीका हुन्। बाँकी २७५ शिक्षक कर्मचारी विद्यालयको आन्तरिक आम्दानीबाट तलब व्यवस्थापन हुँदै आएको छ।

‘विद्यार्थीको संख्याअनुसार दरबन्दी खोज्ने हो भने २९६ को आवश्यकता पर्छ,’ उनले भने, ‘तर हामीले विद्यालयको सटर भाडा र अभिभावकको सहयोगले ठूलो जनशक्तिलाई धानेका छौँ।’

कठिन छैन सिकाइ स्तर उकास्‍न

 

प्रकाशित: ५ चैत २०७९ १७:५६

प्रतिक्रिया

One thought on “कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

  1. Namaste ma sugreem gautam
    Good Evening I am sugreem gautam I also want to admit in this school but in class 9 only technical line education is opened so what can I do please give me suggestions about it
    I feel very proud of you
    Waiting for your reply on +9779800725283 Whatsapp
    Thinks

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =