काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा दीपावली मनाएका छन्। दियो बालेर उनी दीपावली समारोहमा सहभागी भएका हुन्।
पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस अवसरमा अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, चर्चित सेफ विकास खन्ना, उद्यमी विशाल गोन्डल, आईबीएमका सीईओ अरविन्द कृष्णालगायतका व्यक्ति उपस्थित थिए।
समारोहका सुरुवात ओभल अफिसमा ट्रम्पले दियो बालेर भएको थियो। यो सानो र निजी समारोहमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ‘सोसल सेक्युरिटी एडमिनिनिस्टेशनका उपकमिशनर’ अर्जुन मोदी पनि सहभागी थिए।
भारतीय प्रविधि उद्यमी गोन्डलले राष्ट्रपति ट्रम्पलाई हनुमान चालिसाको एकप्रति उपहार दिएका थिए।
ह्वाइट हाउसमा दीपावली मनाउने परम्पराको सुरुवात सन् २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा भएको थियो।
त्योबेला दीपावलीसँग सम्बन्धित कार्यक्रमहरुमा मुख्य रुपमा भारतीय–अमेरिकी समुदायका सदस्य र भारतीय कूटनीतिज्ञहरु सहभागी हुन्थे।
त्यसपछि सन् २००९ मा तत्कालीन राष्ट्रपति बराक ओबामा ह्वाइट हाउसको इस्ट रुममा दीपावली समारोहका क्रममा दियो बाल्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए।



