नमुना विद्यालय

बोर्डिङलाई छायामा पार्दै जनसेवा मावि

विवेक विवश रेग्मी ५ चैत २०७९ ११:११
130
SHARES
बोर्डिङलाई छायामा पार्दै जनसेवा मावि

इटहरी- पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङको कानेपोखरीबाट ४ किलोमिटर दक्षिण लागेपछि आउँछ रमाइलो बजार। बजार नजिकै छ कानेपोखरी गाउँपालिकाको कार्यालय। ठीक अगाडि रहेको जनसेवा नमुना माध्यमिक विद्यालयको गेटमा भेटिए विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देल। बिहानको समय भएकाले गेटनजिकै केही शिक्षक प्रार्थनाको तयारीमा थिए। सडकसम्मै कल्याङमल्याङ आवाज सुनिने गरी विद्यार्थी विद्यालय प्रांगणमा रमाइरहेको देखिन्थ्यो।

केही छात्रा विद्यालयकै प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा व्यस्त त केही बालबालिका नवनिर्मित भवन आसपास खेल्न मस्त। शिक्षण पेसामा ४० वर्ष बिताइसकेका सिग्देल १२ वर्षदेखि यही विद्यालयमा प्रधानाध्यापक छन्। बिहानैदेखि विद्यालयको गेट वरिपरि देखिने उनी ‘अफिसियल’ काममा खटिएका बेलाबाहेक प्रायः विद्यालय प्रांगणमै भेटिँदा रहेछन्।

जागिर अवधि नौ महिना बाँकी रहेका सिग्देल निरन्तर विद्यालयको स्तरोन्नतिका निम्ति सक्रिय छन्। संवादका क्रममा नयाँ भवन देखाउँदै १० वर्षअघि फर्किए प्रधानाध्यापक सिग्देल, ‘उति बेला टिनको छाना थियो। गर्मीमा विद्यार्थीलाई राखेर पढाउन निकै सकस हुन्थ्यो। अहिले सबै भवन पक्की छन्। २४ कोठाको तीनतले भवन निर्माणाधीन छन्।’

यसो भनिरहँदा निवृत्त हुनै लागेका ती शिक्षकको मुहारमा सन्तुष्टिको आभास स्पष्ट देखिन्थ्यो। आफ्नो एकल प्रयासले मात्रै विद्यालय अहिलेको अवस्थामा नआएको उनको स्वीकारोक्ति छ। कक्षा ८ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन हुँदै आएको विद्यालयमा बालकक्षादेखि कक्षा ६ सम्मका विद्यार्थीलाई सरकारले दिएको खाजा उपलब्ध गराइँदै आएको छ।

सिकाइ उपलब्धि बढ्दै गएपछि विद्यार्थीको चाप बढ्दो छ। ‘सिकाइ गतिविधि बढाउन हामीले टेलिभिजन पनि राखेका छौँ,’ प्रधानाध्यापक सिग्देल भन्छन्, ‘शिक्षकलाई दक्ष बनाएका छौँ।’  विद्यार्थीलाई आकर्षित गर्न एउटै मात्र ‘फ्याक्टर’  पर्याप्त नहुने उनको बुझाइ छ। उनी भन्छन्, ‘अहिले कतिपय अभिभावकले यो स्कुलमा उपचार पनि पाइन्छ भनेर चर्चा गरिरहनुभएको छ, यसको प्रभाव सकारात्मक छ।’

अभिभावकको चाहनाअनुसार पाठ्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। उनले भने, ‘पहिलेपहिले विद्यालयमा खरको छाना हुन्थ्यो, पछि टिनको छाना भयो। त्यसपछि इँटा हुँदै अहिले पक्की छाना भएको विद्यालयमा विद्यार्थी पढ्न पाइरहेका छन्।’

प्रविधि र समयक्रमसँगै विद्यार्थीले असीमित सुविधा पाइरहेका छन्। जसकारण विद्यार्थीको मनोविज्ञानसँगै सिकाइ गतिविधिमा समेत सघाउ पुगेको छ। शिक्षक सक्रिय बनाउन विद्यालयमा नियमित बैठक बस्ने गरेको छ। ‘हामीले योजना बनाएर शिक्षकको काम छुट्याएका हुन्छौँ,’ सिग्देलले भने, ‘महिनामा एक दिन पालिकाले प्रअको बैठक राख्छ, जसकारण शिक्षकसँगको समन्वयमा सहज हुन्छ।’

विद्यालयभित्रको अनुगमन प्रधानाध्यापक र विद्यालय व्यवस्थापनले गर्दै आए पनि शिक्षकलाई कडाइ गर्नुभन्दा काम लगाएर सहुलियत दिँदा प्रभावकारी हुने सिग्देलको छ।  विद्यालयमा ३० लाख बराबरका १२ वटा अक्षयकोष छन्। दाता थपिँदै छन्। सोही रकमको ब्याजमा विद्यार्थी र शिक्षकलाई पुरस्कृत गर्दै आएको छ। विद्यालयमा शिक्षक र कर्मचारी गरेर ५१ जना छन्।

विद्यार्थीका लागि पनि दर्जन बढी पुरस्कार र शिक्षकका लागि तीनवटा पुरस्कार छन्। ‘वर्षभरि उत्कृष्ट काम गरेबापत शिक्षकलाई पनि पुरस्कृत गरिन्छ, पुरस्कारका कारण शिक्षकलाई प्रोत्साहन हुन्छ,’ उनले भने। विद्यार्थीलाई मात्रै पुरस्कारबापत वर्षमा ८० हजार बराबर खर्च हुँदै आएको छ।

दर्जन बढी पुरस्कारका कारण पनि विद्यार्थी आकर्षित भइरहेको सिग्देल सुनाउँछन्। उनले भने, ‘८ कक्षासम्म अंग्रेजी हुनुले पनि गत वर्ष मात्रै एक सय बढी विद्यार्थी बढे, हामीले हरेक समयमा अतिरिक्त कार्यक्रम आयोजना गर्दै आएका छौँ, यसकारण पनि विद्यार्थीको बढ्दो आकर्षण छ।’

गत वर्ष सरकारले नमुना विद्यालय घोषणा गरेपछि डेढ करोड रुपैयाँ बजेट आएको थियो। सोही बजेटअनुसार कुल पाँच करोड लागतमा अहिले पालिकाले ठेक्का लगाएर भवन निर्माण गरिरहेको छ। २०८२ सम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि ०८० असारभित्रै सक्ने तयारी भएको प्रधानाध्यापक सिग्देलले बताए। पहिलो तला अपांगमैत्री र सबै कक्षाकोठामा बालमैत्रीको अवधारणा अपनाइएको छ।

नमुना विद्यालय बनाउन विद्यार्थी, शिक्षकसँगै समुदायको उत्तिकै योगदान रहने उनी सुनाउँछन्। ‘एकपटक देशभरका ५८ वटा विद्यालयका प्रधानाध्यापकसँग एकैपटक छलफल भएको थियो।  अधिकांश प्रधानाध्यापकले आआफ्ना अनुभव सुनाएका थिए,’ उनले भने, ‘विद्यालय अरूको भन्दा फरक बनाऔँ भन्न लाग्यो। त्यो प्रस्तावमा गाउँपालिकाले पनि साथ दियो।’ समुदायले लाभ लिने भएका कारण विद्यालय नमुना बनेको सिग्देल बताउँछन्।

विद्यालय नमुना भइकन ठूला समस्या नभए पनि न्यूनतम मापदण्ड पूरा गर्न अझै लागिपरिहेको छ। ‘पूर्वाधारयुक्त विद्यालय बनाऔँ भन्ने मेरो चाहना हो,’ उनले भने, ‘ल्याब, छात्रावास, उचित क्यान्टिन लगायतमा धेरै गर्नुपर्नेछ।’

छात्रा आकर्षित

कुल एक हजार ३१७ विद्यार्थीमध्ये ६० प्रतिशत छात्रा छन्। अधिकांश छात्रालाई महिनावारीका बेला समस्या हुने भएकाले दुई वर्षयता विद्यालयमै ‘विद्यालय नर्स कक्ष, प्राथमिक उपचार तथा परामर्श केन्द्र’ स्थापना गरिएको छ।

स्टार्फ नर्स आस्मा आचार्यले दुई वर्षयता विद्यालयमा दैनिक सेवा सुरु गरेकी छन्। विद्यालयकै एक कक्षाकोठामा उपचार गरिँदै आएको छ। कोशी प्रदेशको सहयोगमा दुई वर्षअघि विद्यालयमा प्राथमिक उपचार सेवा सुरु गरिएको आचार्य बताउँछिन्।

उनका अनुसार दिनमा १२ देखि २० जनासम्म विद्यार्थी बिरामी हुन्छन्। ‘खासगरी छात्रा बढी बिरामी हुन्छन्। अधिकांशमा महिनावारीका बेला समस्या हुन्छ,’ आचार्य भन्छिन्, ‘यहीँ गर्न सकिने प्राथमिक उपचार हामीले गर्छौँ, नसकेको अवस्थामा अस्पतालसम्म लैजान सहजीकरण गर्दै आएका छौँ।’

विद्यालयले छात्रालाई मासिक प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ। कतिपय विद्यार्थीमा ‘कन्भर्जन डिसअर्डर’ हुने भएकाले आफूले जनचेतना फैलाउने गरेको आचार्य बताउँछिन्। ‘म यसअघि नोबेल अस्पताल विराटनगरमा कार्यरत थिएँ, मावि तहमा प्रदेश सरकारले यो किसिमको योजना ल्याएपछि यो विद्यालयमा रोजेर आएकी हुँ,’ उनले भनिन्, ‘कतिपय विद्यार्थीमा बेहोस हुने, लड्ने जस्ता समस्या आइपर्छन्। उनीहरूको उपचार यहीँ हुन्छ।’

एक महिनामा सरदर ६०० बढीको उपचार हुँदै आएको आचार्य बताउँछिन्। उनले स्वस्थकर खानेकुरा खानेदेखि जनचेतना फैलाउने काम पनि गरिरहेकी छन्। प्राथमिक उपचार गराएको अवस्थामा भेटिएकी कक्षा ६ की छात्रा प्रीति धिमालले स्कुलमै स्वास्थ्य उपचार सेवा पाउँदा सहज भएको बताइन्।

‘बिरामी हुँदा घर गइराख्नुपर्दैन, यहीँ उपचार हुने भएकाले राम्रो छ,’ धिमालले भनिन्, ‘उपचार गराएर रेस्ट गर्नुपरेको अवस्थामा यहीँ बेड पनि भएका कारण सजिलो छ।’  उपचार केन्द्र व्यवस्थापनका लागि पाँच जनाको समिति सक्रिय छ। समितिमा शिक्षिकाहरू सदस्य र नर्स आचार्य सदस्य सचिव छिन्। समितिले उपचारका लागि सहजीकरण गर्दै आएको आचार्यले बताइन्।

‘बच्चालाई दिएको सुविधा त छुटाउनुभएन नि?,’ विद्यालयका प्रधानाध्यापक सिग्देलले यसअघि भने, ‘स्कुल आफैँले औषधि किन्दै आएको छ, पालिका र प्रदेश सरकारबाट ४० प्रतिशत औषधि उपलब्ध हुँदा विद्यालयले ६० प्रतिशत किन्दै आएको छ।’ विद्यालयमा विद्यार्थी आकर्षित हुनुको एउटा कारण प्राथमिक उपचार पाउनु पनि हो।

खुत्रुकेमा पैसा जम्मा गरेर स्कुल बस

विद्यालयमा स्कुलबसको व्यवस्था छ। दैनिक छात्रछात्रा ओसार्न सहज भएको छ। ‘१४/१५ किलोमिटर टाढाबाट पनि विद्यालय आउनेहरू छन्, उनीहरूलाई लिन बस जान्छ,’ सिग्देलले भने, ‘भूगोलअनुसार फरक-फरक ठाउँबाट मिश्रित संख्यामा विद्यार्थीको उपस्थिति बाक्लो छ।’

सिग्देल भन्छन्, ‘निजी स्कुलका छात्रा मात्रै बस चढ्छन् भन्ने हुँदैन। प्रयास गरेपछि हामीले पनि बस खरिद गरेका छौँ।’ विद्यालयले ११ लाख भारु जम्मा गरेर बस किनेको हो। बस किन्दा शिक्षा मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान रहेको उनले सुनाए।

‘हामीले विभिन्न कोषमा आएका तर खर्च नभएका रकम खुत्रुकेमा जम्मा गर्दै आएका थियौँ,’ उनी भन्छन्, ‘सोही रकमबाट र मन्त्रालयको स्वीकृति लिएपछि बस किनेका हौँ।’ आफ्नै बस भएका कारण विद्यार्थीलाई शैक्षिक भ्रमण वा अन्यत्र लैजान सहज भएको छ।

अबको चासो कमजोर विद्यार्थीतर्फ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनाथ पौडेलले आगामी शैक्षिक सत्रबाट कमजोर विद्यार्थीको शिक्षाको गुणस्तर वृद्वि गर्न नयाँ योजना ल्याउन लागिएको जानकारी दिए। ‘कमजोर विद्यार्थीका अभिभावकसँग नेटवर्क खडा गरी समन्वय गर्ने र आगामी शैक्षिक सत्रदेखि कक्षागत सिकाइमा थप केन्द्रित गर्ने तयारी गरेका छौँ,’ पौडेलले भने, ‘पठनपाठन राम्रो बनाउन विद्यार्थी संख्या थप बढाउने गरी कार्यक्रम ल्याउने योजना बनाएका छौँ।’

विद्यालय विकास कार्यक्रमबाट आउने रकमबाट अहिले पूर्वाधार बनिरहेको र थप रकम आएको अवस्थामा विद्यार्थीको गुणस्तरमा लगानी बढाइने उनले बताए।

‘बालकक्षादेखि नै लगानी गर्दै जाने तयारी अनुरूप हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘अब निजी विद्यालयमा धेरै पैसा तिरेर आफ्ना छोराछोरी पढाउनुपर्ने बाध्यता हटाउन हाम्रो प्रयास रहन्छ।’

प्रकाशित: ५ चैत २०७९ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =