वर्षौंदेखि नक्कली प्रमाणपत्रको भरमा जागिर गरेका शिक्षकविरुद्ध अख्तियारको मुद्दा

हिमाल प्रेस १९ कार्तिक २०८३ १५:२९ | Thursday, November 5, 2026
वर्षौंदेखि नक्कली प्रमाणपत्रको भरमा जागिर गरेका शिक्षकविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ- नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार जुम्लाको तिला गाउँपालिका-१, राँसामालापानीस्थित ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेन्द्रराज शाहीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी करार शिक्षकको नियुक्ति लिएका थिए।

शाहीले आर्थिक वर्ष २०७८/०७९ मा तिला गाउँपालिकाबाट प्राप्त शिक्षा सिकाइ अनुदानअन्तर्गत निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षक पदमा नियुक्ति पाउन नक्कली अध्यापन अनुमतिपत्र बनाएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

उनले उक्त नक्कली प्रमाणपत्र पेस गरी २०७९ जेठ १५ गते विद्यालयमा करार शिक्षकका रूपमा नियुक्ति लिई राष्ट्रसेवकको हैसियत, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको ठहर छ।

शाहीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै आयोगले सोही कानुनी व्यवस्थाअनुसार कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ।

आयोगले आज (०८३ कात्तिक १९ गते) शाहीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ १५:२९ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast