भ्रष्टाचारविरुद्धको कारबाहीमा थप कडा बन्दै चीन

हिमाल प्रेस १३ कार्तिक २०८३ १३:५५ | Friday, October 30, 2026
4
SHARES
भ्रष्टाचारविरुद्धको कारबाहीमा थप कडा बन्दै चीन चिनियाँ राष्ट्रपति सी चिनफिङ। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- चीनका नेताहरूले भ्रष्टाचार र अनुशासनहीनतामा संलग्न पार्टी कार्यकर्तामाथिको कारबाहीलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्। आगामी वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको तयारीका क्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएको सिन्हवाले उल्लेख गरेको छ। महाधिवेशनले सी चिनफिङलाई लगातार चौथो पाँचवर्षे कार्यकालका लागि पार्टी महासचिवमा पुनः नियुक्त गर्ने अपेक्षा गरिएको छ।

चीनको केन्द्रीय समितिले यस वर्ष आयोजना गरेको सबैभन्दा महत्त्वपूर्ण उच्चस्तरीय राजनीतिक बैठकको समापनमा जारी विज्ञप्तिमा पार्टीका कार्यकर्ताहरूलाई सर्वोच्च नेता सीको नेतृत्वमा एकताबद्ध हुन आह्वान गरिएको छ। केन्द्रीय समिति चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो नेतृत्वकारी निकाय हो।

विज्ञप्तिमा पार्टीको पाँचवर्षे महाधिवेशन आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिमा आयोजना हुने उल्लेख छ।

विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीले आचरण सुधार्ने र अनुशासन कायम गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ। भ्रष्टाचार गर्ने आँट नगर्ने, भ्रष्टाचार गर्न नसक्ने र भ्रष्टाचार गर्न नचाहने अवस्था सिर्जना गर्ने एकीकृत रणनीतिलाई दृढतापूर्वक अघि बढाउनुपर्छ।’

‘पाँचौँ पूर्ण बैठक’ (फिफ्थ प्लेनम) नामले चिनिने चारदिने बैठकमा अनुशासनमाथि दिइएको जोडलाई चीनका जानकारहरूले सी चिनफिङ प्रान्त र मन्त्रालयहरूमा कार्यरत पार्टी कार्यकर्ताहरूको आचरण तथा कार्यसम्पादनप्रति पछिल्लो समय झन् असन्तुष्ट बन्दै गएको सन्दर्भमा अर्थपूर्ण मानेका छन्।

सन् २०१२ मा सत्तामा आएयता सीले देशको विशाल राजनीतिक संयन्त्र र सेनामाथि आफ्नो नियन्त्रण थप बलियो बनाउने उद्देश्यले भ्रष्टाचारको आरोपमा मुख्यतः लाखौँ सरकारी अधिकारीलाई पदमुक्त गरिसकेका छन्।

विज्ञप्तिमा चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली केन्द्रीय अनुशासन निरीक्षण आयोगले कारबाहीका लागि सिफारिस गरेका दर्जनौँ उच्च अधिकारीको नामसमेत उल्लेख छ। तीमध्ये सशस्त्र सेनाको नेतृत्व गर्ने केन्द्रीय सैन्य आयोगका पूर्वउपाध्यक्ष झाङ युसिया पनि छन्।

आयोगका अध्यक्षसमेत रहेका सीपछि सेनाको नेतृत्वमा सबैभन्दा वरिष्ठ अधिकारी झाङमाथि गत वर्ष पार्टीप्रति गैरजिम्मेवार बनेको आरोप लागेको थियो। त्यसपछि उनलाई पार्टी र सेनाबाट निष्कासन गरिएको थियो।

झाङमाथिको कारबाहीपछि केन्द्रीय सैन्य आयोगमा सी र अर्का एक सक्रिय सदस्य मात्रै बाँकी छन्। ती सदस्य राजनीतिक कमिसार तथा आयोगका उपाध्यक्ष झाङ शेङमिन हुन्। यसैबीच दुई पूर्वरक्षामन्त्रीलाई पनि गत मे महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो। यसको कार्यान्वयन भने स्थगित गरिएको छ।

विज्ञप्तिमा झाङ सेङमिनलाई केन्द्रीय समितिबाट चयन गरिने पार्टीको २४ सदस्यीय निर्णयकारी निकाय पोलिटब्युरोमा बढुवा गरिने उल्लेख छ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा सुरुमा २०५ पूर्ण सदस्य र १७१ वैकल्पिक सदस्य थिए। एसिया सोसाइटीको अनुमानअनुसार अहिले समितिमा करिब १६१ पूर्ण सदस्य र १३० वैकल्पिक सदस्य बाँकी छन्। सुरुका ३७६ सदस्यमध्ये २९१ जना मात्रै अहिले समितिमा छन्।

विज्ञप्तिले सिन्जियाङका पूर्वपार्टी प्रमुख तथा एरोस्पेस इन्जिनियर माओ सिङरुई, पूर्वप्रविधिमन्त्री जिन झुआङलोङ र पूर्ववरिष्ठ कूटनीतिज्ञ तथा विदेशमन्त्रीका सम्भावित दाबेदार लिउ जियानचाओलाई पार्टीबाट निष्कासन गरिएको पनि पुष्टि गरेको छ

प्रकाशित: १३ कार्तिक २०८३ १३:५५ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast