चीनले एक हजार टनभन्दा बढी सुन आयात गर्न कीर्तिमानी रकम खर्चियो

हिमाल प्रेस ६ असोज २०८३ १६:११ | Tuesday, September 22, 2026
चीनले एक हजार टनभन्दा बढी सुन आयात गर्न कीर्तिमानी रकम खर्चियो

चीनले यस वर्ष एक हजार टनभन्दा बढी सुन आयात गर्न कीर्तिमानी रकम खर्च गरेको छ। विदेशमा बढ्दो भूराजनीतिक तनाव र स्वदेशी सम्पत्तिबाट कमजोर प्रतिफल प्राप्त भइरहेका बेला केन्द्रीय बैंक र स्थानीय लगानीकर्ताले सुनमा ठूलो रकम लगानी गर्न थालेका छन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले यस वर्षको पहिलो आठ महिनामा सुन आयातमा १५८.८ अर्ब डलर खर्च गरेको छ। गत वर्षभरि चीनले ८८६ टन सुनका लागि ९६.५ अर्ब डलर खर्च गरेको थियो।

सुनको मूल्य तीव्र रूपमा बढिरहेका बेला चीनले गत वर्ष सुन खरिदमा केही नियन्त्रण गरेको थियो। सन् २०२५ को प्रारम्भमा प्रतिट्रय औंस करिब २,६२५ डलर रहेको सुनको मूल्य जनवरीमा बढेर ५,५९५ डलरसम्म पुगेको थियो।

विश्व सुन परिषद्का अनुसार चीन विश्वकै सबैभन्दा ठूलो सुन उत्पादक पनि हो। गत वर्ष चीनले ३८४ टन सुन उत्पादन गरेको थियो।

चिनियाँ लगानीकर्ताले आफ्नो सम्पत्ति विविधीकरण गर्ने व्यापक प्रयासअन्तर्गत सुन खरिद बढाइरहेको देखिन्छ। जुलाईमा अमेरिकी ट्रेजरी बन्डमा चीनको स्वामित्व ६१८ अर्ब डलरमा झरेको थियो, जुन सन् २००८ को अगस्टयताकै न्यून हो।

चीनको सबैभन्दा ठूलो सुन उत्पादक कम्पनी जिजिन माइनिङ ग्रुपको हिस्सा रहेको गोल्ड माउन्टेन्स एसेट म्यानेजमेन्टकी प्रबन्ध निर्देशक लिसा लिउले भनिन्, ‘केन्द्रीय बैंक र निजी लगानीकर्ता दुवैले प्रतिपक्ष जोखिम नभएको सम्पत्तितर्फ आफ्नो सञ्चिति र बचत विविधीकरण गरिरहेका छन्। यो दीर्घकालीन रूपमा सम्पत्ति संरक्षण गर्ने बृहत् रणनीतिको हिस्सा हो।’

सन् २०२१ मा चीनको घरजग्गा बजारमा गिरावट सुरु भएपछि त्यहाँ घरेलु लगानीका विकल्प सीमित भएका छन्। प्रमुख सीएसआई ३०० सूचकांक यस वर्ष हालसम्म १।८ प्रतिशतले घटेको छ र सन् २०२१ को सुरुवातमा पुगेको उच्च बिन्दुभन्दा अझै २० प्रतिशतभन्दा बढी तल छ। यसैबीच, चिनियाँ सरकारी ऋणपत्रको प्रतिफल पनि कीर्तिमानी न्यूनस्तरनजिक छ।

लिउले भनिन्, ‘यो छोटो अवधिको कारोबार होइन, घरपरिवार र सरकारी सम्पत्तिको बहुवर्षीय पुनर्संयोजन हो। चिनियाँ लगानीकर्ताले निरन्तर र ठूलो परिमाणमा सुन खरिद गरिरहेकाले यो अहिले विश्वव्यापी सुन मूल्यको प्रमुख चालक बनेको छ। आर्थिक वृद्धि र भूराजनीतिसम्बन्धी अनिश्चितता कायम रहेसम्म यो प्रवृत्ति जारी रहने हाम्रो अपेक्षा छ।’

सरकारी ऋणपत्र र सेयर बजारबीच पहिले जस्तो विपरीत सम्बन्ध नरहेका बेला विश्वभरका लगानीकर्ताका लागि सुन सम्पत्ति विविधीकरणको महत्त्वपूर्ण माध्यम बन्दै गएको छ।

इन्भेस्कोका जापानबाहेक एसिया-प्रशान्त क्षेत्रका ग्राहक समाधान प्रमुख क्रिस्टोफर ह्यामिल्टनले वास्तविक प्रतिफल बढिरहेका बेला विगतमा सुनको मूल्य घट्ने गरेको भए पनि अहिले सुनको मूल्यले त्यस्तो व्यवहार गर्न छाडेको बताए।

‘तपाईँ वास्तविक सम्पत्ति स्वामित्वमा राख्न चाहने वातावरणमा हुनुहुन्छ,’ उनले भने। ह्यामिल्टनका अनुसार सुनको मूल्य बढ्नुमा संस्थागत लगानीकर्ताको खरिद अझै सबैभन्दा महत्त्वपूर्ण कारक हो।

चीनले आधिकारिक तथ्यांकमा देखाएभन्दा बढी सुन खरिद गरिरहेको विश्लेषकहरूको भनाइ छ।

गोल्डम्यान स्याक्सका विश्लेषकहरूका अनुसार चीनको केन्द्रीय बैंकले सार्वजनिक गर्ने आधिकारिक तथ्यांकमा देखाइएभन्दा बढी सुन खरिद गरिरहेको छ।

उनीहरूले यसै महिनाको सुरुमा जारी गरेको टिप्पणीमा चिनियाँ केन्द्रीय बैंकले जुलाईमा ३५ टन सुन खरिद गरेको अनुमान गरेका छन्। यो चिनियाँ केन्द्रीय बैंकले आधिकारिक रूपमा सार्वजनिक गरेको २० टनको खरिदभन्दा निकै बढी हो। फाइनान्सिइल टाइम्सबाट

प्रकाशित: ६ असोज २०८३ १६:११ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast