भोजपुर- भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय भत्ता प्राप्त गरेका विद्यालयका शिक्षक तथा प्राविधिक धारमा कार्यरत प्रशिक्षकलाई भत्ताबापत प्राप्त रकम दाखिला गर्न निर्देशन दिएको छ।
गाउँ कार्यपालिकाको कार्यालय बालंखाले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी तथा करार शिक्षकहरूका साथै कक्षा ९-१० र ११-१२ का प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई निकासा गरिएको स्थानीय भत्ता फिर्ता गर्न भनिएको हो।
महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उक्त स्थानीय भत्ताबापतको रकम असुलउपर गर्नुपर्ने बेरुजु औँल्याइएपछि गाउँपालिकाले यस्तो निर्देशन जारी गरेको जनाएको छ।
गाउँपालिकाले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई आर्थिक प्रशासन शाखामा सम्पर्क गरी ०८३ साल कात्तिक १६ गतेदेखि २० गतेसम्म रकम दाखिला गर्न आग्रह गरेको छ।
गाउँपालिकाले विद्यालयगत निकासा विवरण तथा लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको बेरुजुको विवरणसमेत पत्रसाथ संलग्न गरेको जनाएको छ।




