दुई निबन्ध कृतिले पाए विमल गुरुङ पुरस्कार

हिमाल प्रेस १९ कार्तिक २०८३ १६:५५ | Thursday, November 5, 2026
दुई निबन्ध कृतिले पाए विमल गुरुङ पुरस्कार

काठमाडौँ- कवि विमल गुरुङको स्मृतिमा स्थापित प्रतिष्ठित कृति पुरस्कार यस वर्ष दुई निबन्ध सङ्ग्रहले संयुक्त रूपमा प्राप्त गरेका छन्।

कवि भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिएको हो।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले कवि गुरुङको ५५ औँ जन्मजयन्ती तथा ३५ औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा दुवै सर्जकलाई पुरस्कार प्रदान गरेको हो।

पुरस्कारअन्तर्गत दुवै जनालाई एक–एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरिएको थियो। धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले उनीहरूलाई ताम्रपत्र प्रदान गरे।

पुरस्कारका लागि स्वदेश तथा विदेशबाट नेपाली भाषामा लेखिएका ५२ कृति प्राप्त भएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए। तीमध्येबाट उत्कृष्ट ठहरिएका दुई कृतिलाई संयुक्त रूपमा पुरस्कृत गरिएको उनले बताए।

महोत्सवकै अवसरमा सुनसरीकी पत्रकार सङ्गीता राईलाई युवा प्रतिभा सम्मान प्रदान गरिएको छ। साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याएबापत उनलाई नगद १० हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो।

यसैगरी, ३५ औँ राष्ट्रिय कविता महोत्सवको प्रतियोगितामा सुनसरीकी कवि सविता फागोको ‘भुइँमान्छेका सपना’ शीर्षकको कविता प्रथम भएको छ। सिन्धुपाल्चोकका कवि सुन्दर शिरीषको ‘चेतावनीको अन्तिम हरफ’ द्वितीय भएको छ।

सिन्धुलीका निरुपम श्रेष्ठको ‘एउटा इच्छापत्र’ र ताप्लेजुङका लेकाली कान्छाको ‘घामको जन्म’ शीर्षकका कविता संयुक्त रूपमा तृतीय भएका छन्।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कविलाई क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।

महोत्सवको अवसर पारेर वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले सम्पादन तथा संयोजन गरेको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ कविता सङ्ग्रहसमेत लोकार्पण गरिएको थियो।

प्रकाशित: १९ कार्तिक २०८३ १६:५५ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast