विश्व आर्थिक मन्दीको चपेटामा छ। कोराना महामारी, लगत्तै भएको रुस-युक्रेन युद्ध, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, आपूर्ति शृंखलामा भएको अवरोधलगायतले विश्वभर आर्थिक संकट छ। यसको बाछिटा नेपालसम्म परेको छ।
रोजगारी वृद्धि, राजस्व संकलन र व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका हुने क्षेत्रमा सरकारको उपस्थिति कछुवा गतिमा छ। यस्तैमध्येको एउटा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सुरसार छैन। विश्वकै शक्तिशाली देशका ठूला सहर सधैँ जागा भए पनि नेपालको अवस्था ठीक उल्टो छ।
संघीय राजधानीसहित ठूला भनिएका सबै सहर सम्साँझै सुनसान बन्छन्। अलिकति अँध्यारो भयो भने ड्यामडुम सटर तानिन्छन्, सडक सुनसान बन्छन्। ठूला सहरमै भएका क्यासिनो, क्लब हाउस, बार, दोहोरी साँझ पनि मध्यरात नहुँदै बन्द भइसक्छन्।
राजमार्ग आसपासका कतिपय बजार भने २४ सै घण्टा गुल्जार हुन्छन्। विशेषगरी पूर्वपश्चिम महेन्द्र राजमार्ग आसपासका ससाना बजार मध्यरातमा झन् झिलिमिली देखिन्छन्। व्यवसायीकै पहलमा यस्ता क्षेत्रमा चहलपहल बढेको हो।
धनुषाको लालगढ, रौतहटको चन्द्रनिगाहपुर, चितवनको रामनगर, नवलपरासीको दाउन्ने, सुनवल, कपिलवस्तुको चन्द्रौटा र गोरुसिङलगायत बजार जतिबेलै जागा हुन्छन्।
दाङको लमही, अमिलिया, बाँकेको चप्परगौडी, कैलालीको खानीडाँडालगायतका बजार पनि कहिल्यै सुत्दैनन्। यी बजारमा सरदर २५/३० वटा होटल छन्।
चितवनको दासढुंगामा २५ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका गुल्मेली होटलका कृष्ण न्यौपाने रातभर व्यवसाय गर्न सहज नरहेको बताउँछन्। उनी भन्छन्, ‘पहिलो कुरा त सुरक्षा व्यवस्था प्रभावकारी छैन। अर्को कुरा राति ११ बजे राम्रा ग्राहक प्रायः होटल छिर्दैनन्।’
उनका अनुसार प्रशासनले अनुमति दिने हो र सुरक्षा व्यवस्थामा ढुक्क हुन सक्ने हो भने व्यवसाय सञ्चालन गर्न सजिलो हुन्छ। तर यसका लागि नीतिगत व्यवस्था छैन। विगतको तुलनामा होटल व्यवसाय संकटमा पर्दै गएको उनी बताउँछन्।
चितवनकै रामनगर क्षेत्रमा भात खानका लागि धेरै होटल खुलेका छन्। मुख्य राजमार्गमा पर्ने भएकाले यहाँका होटल प्रायः रातभर खुला रहन्छन्।
ठूला सहरलाई केन्द्र बनाएर गुड्ने रात्रिबसका यात्रु यी बजार र होटलका मुख्य ग्राहक हुन्। जसको सेवा र आफ्नो व्यवसायका लागि राजमार्ग आसपासका बजारका होटेल, खाना तथा खाजा घर, पेट्रोलपम्प, खुद्रा पसल जतिबेलै खुलिरहेकै देखिन्छन्। यसले राजमार्ग भएर ओहोरदोहार गर्ने यात्रुलाई सेवा मात्रै दिएका छैनन्। आफ्नो आम्दानी, रोजगारी र राजस्व संकलनमा पनि उत्तिकै योगदान दिएका छन्।
कुनै बेला रातभर नसुती आम्दानी, यात्रुको सेवासँगै मुलुकको अर्थतन्त्रमा टेवा दिएका कतिपय बजार भने अहिले सुनसान हुन थालेका छन्। यहीमध्येमा पर्छ- पृथ्वी राजमार्गको चर्चित मुङलिन बजार।
मुङलिन केही वर्षअघिसम्म काठमाडौँबाट मुलुकका विभिन्न जिल्लाका लागि छुटेका र भित्रिने यात्रुबसले खाना खुवाउने ठाउँ थियो । तर अहिले १०/११ नबज्दै सुनसान भइसक्छ। पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्ग मात्रै चालु रहँदा मुङलिनको सान अर्कै थियो। सडक विस्तारसँग अन्य ठाउँमा पनि बजार बस्न थालेपछि मुङलिङ ओझेलमा परेको हो।
यस्ता सहरमा व्यवसाय चलायमान बनाइराख्न राज्य स्तरबाट कुनै पहल भएको पाइँदैन। रात्रिकालीन व्यवसायका लागि सम्भावित बजारमा भौतिक पूर्वाधारको विकासमा पनि ध्यान गएको देखिन्न।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल आर्थिक विकासका लागि रात्रिकालीन व्यवसाय उपयुक्त विकल्प भए पनि यसमा सरकारले चासो नदिएको बताउँछन्।
उनका अनुसार निर्माण क्षेत्रमा बिहान, दिउँसो र रातको समयमा गरी तीन ‘सिफ्ट’ मा काम गर्ने हो भने जनजीवन चलायमान हुनेछ। यसले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न टेवा पुग्ने उनको तर्क छ। डा. पोखरेल भन्छन्, ‘विद्यालय बिहान साढे ७ बजेदेखि खोल्ने, बैंक दिउँसो ११ बजेपछि खुल्ने हो भने जीवनशैली पनि सहज हुनेछ।’
सरकारी स्तरबाट रातिको समयमा व्यवसाय सञ्चालनका लागि २०५२ सालअघि नै काम थालिए पनि माओवादी द्वन्द्वका कारण अघि बढ्न नसकेको उनी बताउँछन्। मुलुक राजनीतिक रूपमा स्थिरतातर्फ अघि बढेकाले अब रात्रिकालीन व्यवसाय विस्तारमा ढिलाइ गर्न नहुने उनको सुझाव छ।
ननिदाउने विश्व
विश्व अर्थतन्त्रलाई तीव्र गतिमा डोर्याइरहेका शक्तिशाली देशका ठूला सहर दिउँसो हुने आर्थिक गतिविधिमा मात्रै निर्भर छैनन्। २४ सै घण्टा खुल्ने व्यवसाय र त्यसबाट हुने आम्दानीले आर्थिक छलाङमा बलियो साथ दिइरहेका छन्।
लन्डन, न्युयोर्क, सनफ्रान्सिसको, पेरिस, आर्मस्टाडमलगायत ठूला सहर कहिल्यै सुत्दैनन्। छिमेकी भारतकै नयाँदिल्ली, चण्डीगढ, गोवा, बैंग्लोर, हैदराबाद, चेन्नईलगायत पनि नसुस्ताउने सहरमा पर्छन्।
यी सहरले रोजगारीसँगै समग्र मुलुकको मात्रै नभएर विश्वकै अर्थतन्त्रमा ठूलो प्रभाव पार्छन्। सन् २०२२ मा मात्रै लन्डनको रात्रिकालीन व्यवसायबाट करिब ६६ अर्ब पाउन्ड राजस्व संकलन गरेको छ।
बेलायतको रात्रिकालीन व्यवसायले कुल रोजगारीको ८ प्रतिशत हिस्सा ओगटेको ‘लन्डन ट्वान्टी फोर आवर इकोनमी’ रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार यहाँ हरेक रात सात लाख २३ हजार बढीले काम गर्छन्।
लन्डनको जमिनमुनि गुड्ने रेलसेवाले मात्रै वार्षिक ३६ करोड पाउन्डभन्दा बढी बेलायती अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाका थुप्रै सहर हरक्षण जागा रहन्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२२ मा अमेरिकी अर्थतन्त्रको आकार २५.३ ट्रिलियन डलर पुगेको छ। सन् १८७१ देखि अमेरिका लगातार विश्व अर्थतन्त्रको पहिलो नम्बरमा छ।
अमेरिकाको ठूलो सहरमा पर्ने न्युयोर्क पनि कहिल्यै नसुत्ने सहरमा पर्छ। गत आर्थिक वर्ष २०२१/२२ मा न्युयोर्कको रात्रि व्यवसायले ३५ अर्ब डलरको कारोबार गरेको थियो। जसबाट राज्यले करिब ७० करोड डलर कर उठाएको छ। सन् २०२१ सम्म अमेरिकाको बार र नाइट क्लबमा भएको लगानी मात्रै २६ अर्ब ७ करोड डलर पुगेको थियो।
विश्वकै दोस्रो नम्बरमा रहेको चिनियाँ अर्थतन्त्रको आकार १९.९ ट्रिलियन डलर पुगेको छ। मुद्रा कोषले सन् २०३० भित्र चिनियाँ अर्थतन्त्रको आकारले अमेरिकालाई जित्ने प्रक्षेपण गरिसकेको छ।
अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले पूर्वाधारका साथै औद्योगिक विकास र रात्रिकालीन अर्थतन्त्रलाई विशेष प्राथमिकता दिएको छ। आईआई मिडिया रिसर्चका अनुसार चीनको रात्रिकालीन व्यवसायको आकार ६ अर्ब डलर पुगेको छ। सन् २०२५ मा यसलाई १४ अर्ब डलर पुर्याउने चिनियाँ लक्ष्य छ।
४.९ ट्रिलियन डलरसहित विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको रात्रिकालीन व्यवसायको आकार सात अर्ब डलर पार गरेको छ। जापानको रात्रिकालीन व्यवसायको ठूलो हिस्सा टोक्यो सहरले ओगट्छ। जहाँ राति बार, रेस्टुरेन्ट मात्रै चल्दैनन्, रेलसेवा, मनोरञ्जनात्मक खेल, पार्क, संग्रहालयजस्ता क्षेत्र पनि चलायमान हुन्छन्।
यो पनि,