रात्रिबजार

कोशी पुग्नेको रोजाइ स्यार्सेकाली

विवेक विवश रेग्मी २८ फागुन २०७९ ११:३७
1.0k
SHARES
कोशी पुग्नेको रोजाइ स्यार्सेकाली इटहरी बजार। तस्बिर सौजन्य: गुरु ढकाल।

इटहरी- बिहानैदेखि चहलपहल छ। कोही प्याज केलाउन त कोही खानाको तयारी गरिरहेका छन्। कोही मासु काटिरहेका छन् त कोही चटनी बनाउने तरखरमा छन्।

यो महेन्द्र राजमार्गमा पर्ने इटहरी-१६ स्थित स्यार्सेकालीको होटलमा देखिएको दृश्य हो। राजमार्ग हुइँकिने बस आइपुग्छ। खाना खानका लागि यात्रु गुरुरु होटलमा छिर्छन्। होटलवालालाई सेवा दिन र यात्रु खानामा व्यस्त हुन्छन्।

बिहान ६ देखिको व्यस्तताले होटल सञ्चालकलाई अबेर रातिसम्म फुर्सद मिल्दैन। यो स्यार्सेकालीमा दैनिकी हो।

६ वर्ष वैदेशिक रोजगारीमा बिताएर १२ वर्षअघि स्यार्सेकालीमा होटल सुरु गरेका डिल्लीराम पोखरेल यही पेसाको आम्दानीबाट सन्तुष्ट छन्। विदेशमा कुकको काम गरेर फर्किएका कारण स्वदेशमा पनि उनले यही पेसा रोजे। अहिले उनको ‘दिनेश स्टाफ होटल’का सञ्चालनमा छ।

डिल्लीरामकी श्रीमती सरिता पनि होटलको काममै व्यस्त हुन्छिन्। उनले पछिल्ला महिना व्यवसाय कम भएको बताइन्। ‘केही समयअघिसम्म खाना बेचेरै दैनिक ३५ हजारसम्म हुन्थ्यो, अहिले २५ हजार पुग्न पनि मुस्किल हुन्छ।’ स्यार्सेकाली पाँचवटा होटल छन्। सबैले बिहान झिसमिसेदेखि मध्यरातसम्म सेवा दिइरहेका छन्।

इन्दिरा स्टाफ होटलकी सञ्चालिका धारणा भट्टराई यसअघि काठमाडौँमा फेन्सी पसल सञ्चालन गर्थिन्। तर केही वर्षयता होटल सञ्चालन गरेर मनग्य आम्दानी भइरहेको सुनाउँछिन्।

‘बिहान ६ बजेतिर सुरु भएको काम बेलुका १२ बजेसम्म निरन्तर चल्छ,’ भट्टराई भन्छिन्, ‘दिनमा एक सयदेखि डेढ सय जनासम्मले खाना खानुहुन्छ।’ भट्टराई दम्पती मिलेर तीन वर्षदेखि यो होटल चलाइरहेका छन्।

इटहरीका व्यवसायी राजकुमार कार्की राजमार्गमा यात्रा गर्ने मात्रै नभई इटहरी बजारतिरका ग्राहकसमेत खानाका लागि स्यार्सेकाली पुग्ने बताउँछन्। उनले भने, ‘जति बेला पनि तयारी हुने र मध्यरातसम्मै खुल्ने भएकाले पनि स्यार्सेकालीका होटलको व्यवसाय राम्रो छ।’

इटहरीको मुख्यचोकबाट पश्चिममा पर्ने यो ठाउँमा तीनवटा स्यार्सेकाली पेट्रोल पम्प छन्। पम्पमा पेट्रोलियम भर्ने चालकहरूले खाना खान थालेपछि बिस्तारै यो ठाउँ स्यार्सेकालीकै नाममा चर्चित भएको हो।

प्रदेशका अन्य ठाउँ भने रातिसम्म गुल्जार हुँदैनन्। महेन्द्र राजमार्ग झापाको काँकडभिट्टादेखि सप्तकोसीसम्म चौबीसै घण्टा व्यस्त हुन्छ।

लामो यात्रा गर्नेहरूका लागि कोशी प्रदेशमा रातिको समयमा खाना खाने उपयुक्त ठाउँ अहिलेसम्म बन्न सकेको छैन। लामो बाटो तय गर्नेहरूले मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी, रौतहट तथा बागमतीका हेटौँडा र चितवनमा खाजा खाने गरेका छन्।

मदन भण्डारी राजमार्ग झापाको शान्तिनगरदेखि सुनसरीको धरान हुँदै उदयपुरको कटारीसम्म सञ्चालनमा छ। मध्यपहाडी लोकमार्ग प्रदेशका १४ जिल्लामध्ये ९ जिल्ला जोडिएका छन्। यी राजमार्ग क्षेत्रमा बजार विस्तार भए पनि रात्रिकालीन सेवा भने पाइँदैन।

विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिका प्रदेशका ठूला सहर हुन्। यी सहरमा केही डिस्को, नाइट क्लब त सञ्चालनमा छन्। तर तिनले रातभर सेवा दिन सकेको पाइँदैन। प्रदेशका केही सहरमा रात्रिकालीन बजार सञ्चालन गर्न खोजिए पनि त्यसले मूर्त रूप लिन सकेको छैन।

इटहरीमा ०७४ पछि रात्रिकालीन बजार लगाउने अवधारणा ल्याएको थियो। उपमहानगरपालिकाको ३० औँ कार्यपालिकाको बैठकले रात्रिकालीन बजार लगाउने निर्णय गर्‍यो। यसका लागि विभिन्न मितिमा २२ लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। तर रात्रिकालीन बजार देखिँदैन।

इटहरी–४ मा रहेको आइतबारेदेखि टेलिकमसम्म करिब १ किलोमिटर क्षेत्रमा रात्रिकालीन बजार लगाउने गरी ‘रात्रि बजार सञ्चालन व्यवस्थापन समिति’ भनेर उपभोक्ता समिति गठन गरिएको थियो।

पूर्वाधार तयारी हुँदै गर्दा कोरोना महामारी फैलियो। त्यसपछि उपमहानगरको ध्यान बजारतर्फ नगएको स्वयं जनप्रतिनिधिहरू बताउँछन्।

रात्रिकालीन बजार लगाउने भनिएको क्षेत्रमा १० वटा सौर्यबत्ती जडान, ८ वटा सीसी क्यामेरा, बस्नका लागि फलैँचा तथा रुखहरूमा रंगरोगन गरिएको थियो। उपमहानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि २२ लाख रुपैयाँ बढी भुक्तानी भएपछि काम अगाडि बढ्न सकेन।

‘इटहरीको रात्रिकालीन बजार ८ बजे नै बन्द हुन्छ, बाहिरबाट आउने मानिसहरूले एउटा ब्रस किन्ने ठाउँ पनि हुँदैन,’ उपभोक्ता समितिका संयोजक कृष्णप्रसाद भट्टराईले भने, ‘रात्रिकालीन बजारका कारण यहाँको आर्थिक वृद्धिमा हुन्छ, बाहिरबाट आउने मानिसलाई होल्डिङ सेन्टर पनि हुन्छ भन्ने योजनाअनुरुप बजार लगाउन खोजिएको थियो। तर कोरोनाका कारण सम्भव भएन।’ राजमार्गमा बिर्तामोड, दमक, उर्लाबारी, इटहरी, इनरुवा हुँदै कोसी ब्यारेजसम्म पर्छ। जसमध्ये इटहरी ‘ट्रान्जिट प्वाइन्ट’ मानिन्छन्।

लामो यात्रा गर्नेहरूका लागि कोशी प्रदेशमा रातिको समयमा खाना खाने उपयुक्त ठाउँ अहिलेसम्म बन्न सकेको छैन। लामो बाटो तय गर्नेहरूले मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी, रौतहट तथा बागमतीका हेटौँडा र चितवनमा खाजा खाने गरेका छन्।

प्रकाशित: २८ फागुन २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =