रात्रिबजार

सधैँ गुल्जार लेकसाइड

विजय नेपाल २८ फागुन २०७९ १६:३२
138
SHARES
सधैँ गुल्जार लेकसाइड पोखराको एउटा नाइट क्लबमा रमाउँदै युवा। तस्बिर : विजय उत्सव

पोखरा- पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो। पोखराको पनि लेकसाइड जोकाहीको पहिलो रोजाइ हुने गर्छ। फेवाताल छेउ लेकसाइड सडकमा सानासाना चिरिच्याँट्ट परेका घरमा विभिन्न खालका पर्यटकीय गतिविधि चलायमान हुने गर्दछन्।

एकताका नेपाली पर्यटक हाराहारीमा गोरो छालाका पर्यटकको ताँतीले लेकसाइडलाई चिन्ने गरिन्थ्यो। पछिल्ला दिनमा भने स्वदेशी पर्यटकले नै व्यवसाय धान्न थालेको छ।  कोरोना महामारी एवं विविध कारण सुस्ताएको यहाँको पर्यटन पुरानै लयमा फर्किन खोजेको छ।

पोखरा आफैँ पनि ‘नाइट लाइफ’ का लागि चर्चित सहर हो। पोखरा आउने जोकोही पनि यहाँको ‘नाइट लाइफ’ मा नझुमेर फर्किएका कमै होलान्। यसकारण युवाको पहिलो रोजाइ पोखरा बन्दै आएको छ। शुक्रबारको रात त गीतसंगीतका सयौँ पारखी रातभर झुमेर आनन्द लिन्छन्।

होटल, रेस्टुराँसहित क्लब, डान्स, डिस्को, बार, पब, लाउन्ज, गजल साँझ, दोहोरी साँझलगायत रात्रिकालीन व्यवसायले पाहुनाको सेवा दिइरहेका हुन्छन्। तन्नेरीको भीडभाड देखिने रात्रिकालीन व्यवसायको रंगीन दुनियाँमा उनीहरू रमाइरहेको पाइन्छ। त्यसैले दिनभर सुतेर रातभर खट्ने यहाँका होटल व्यवसायी र होटल मजदुरको जीवनशैली बनेको छ।

द ट्रेजर लाउन्ज, क्याटवाक, क्लब सिक्टिन, एरिना म्याट्रिक्स लेकसाइडका चर्चित क्लब हुन्। यिनीहरूमा दिन ढलेपछि लाइभ म्युजिकबाट राति छिप्पिने क्रम सुरु हुन्छ। राति १०/११ बजेपछि डिजे सेसन सुरु भई बिहानसम्म चल्छन्।

ड्रागन, रंगिला, बेबी गर्ललगायत आधा दर्जन डिस्को तथा डान्सबार लेकसाइड केन्द्रित छन्।  डिस्को र बारमा सामान्यतया २ बजेसम्म युवकयुवती झुम्मिने गरेको व्यवसायी बताउँछन्। डुंगा, किङ्स, आइसिस, माया, त्रिसला, प्याराडिसो, बुमर्‍याङ, द फ्लेम, बिजीबी, द वन, टुरिस्ट रोड बिस्ट्रो, अलफान्जो जस्ता पब तथा रिसोर्टमा लाइभ म्युजिकसहित विभिन्न खानाका परिकारमा ग्राहकको मध्यरातसम्म भीडभाड देखिन्छ।

लेकसाइड।

रात्रिकालीन सेवा लिनेमध्ये अधिकांशले मदिरा पिउँछन्। मदिरा सेवनकै कारण सवारी दुर्घटना निम्तिने, आपसी झैझगडा हुने, चोरी, डकैती, कुटाकुटसम्मको अवस्था पनि सँगसँगै आउँछन्। रात्रिकालीन व्यवसायको यो नै सबैभन्दा बढी सुरक्षा चुनौती रहेको व्यवसायीको भनाइ छ।

रात्रिकालीन व्यवसाय निर्बाध रूपमा चालु हुने गरे पनि सामान्य पसल, व्यवसाय राति १० बज्दानबज्दै बन्द गर भनी प्रहरी सक्रिय हुन्छ। यसबाट हैरानीमा परेको गुनासो व्यवसायीको छ। गत  महिना यहाँका पर्यटन व्यवसायी प्रमुख जिल्ला अधिकारीसमक्ष ‘डेलिगेसन’ गएका थिए। छलफलपछि राति १ बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिने भनी निर्णय भएको थियो।

गण्डकी प्रदेशमा विभिन्न जिल्लाका अन्य सहरमा पनि रात्रिकालीन व्यवसायको चहलपहल देखिन थालेको छ। तनहुँको दमौली, डुम्रे, खैरेनी, पर्वतको कुश्मा, बागलुङको बागलुङ बजार, स्याङ्जाको पुतलीबजार, वालिङ, लमजुङको बेसीसहर, गोरखा सदरमुकाम गोरखा, म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित डान्सबार, दोहोरी, क्लब, गजल साँझमा युवकयुवतीको आकर्षण बढ्दो छ।

गण्डकीका व्यवसायी पनि ग्राहकको सेवामा आफूहरू सधैँ तयार रहेको बताउँछन्। पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पाहुनाको स्वागतमा जुनसुकै बेला सेवा दिन तयार रहेको बताए। कोरोना, आर्थिक मन्दी, पोखरामा हवाई दुर्घटना, पोखरा जोड्ने राजमार्गको स्तरोन्नतिमा सडक अवरुद्ध लगायतले पर्यटन चलायमान हुन नसके पनि बिस्तारै पुरानै लयमा जान खोज्दा रात्रिकालीन व्यवसायले केही भए पनि टेवा दिने उनको धारणा छ।

संघमा हाल चार सय २५ होटल दर्ता छन्। लेकसाइडसहित बाहिर समग्रमा साना ठूला गरी एक हजार दुई सय होटल सञ्चालित रहेको सुवेदीले जानकारी दिए।

सुरक्षा चुनौती कायमै

कोरोना महामारीपछि बिस्तारै तंग्रिन थालेको व्यवसायमा टेवा दिन गत वर्ष फागुन अन्तिम साता गृह मन्त्रालयले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाउँदै देशभर एउटा सर्कुलर गर्‍यो।

प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भएको परिपत्रमा भनिएको थियो, ‘व्यवसायीसँगको समन्वयमा सुरक्षा व्यवस्थालाई ध्यानमा राखी चौबिसै घण्टा सञ्चालन गर्न पाउने गरी व्यवस्था मिलाउनू।’ दिउँसो र रातको समयमा होटल, रेस्टुराँ, डान्स, डिस्कोरबार लगायत व्यवसाय सञ्चालन गर्न आचारसंहिता जारी गर्दै समयसीमा हटाइएको थियो।

समयसीमा त हट्यो तर रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती उस्तै छ। व्यवसायी भन्छन्, ‘अर्थतन्त्र सुस्ताको बेला आएका पाहुनालाई पनि मापसे (मादक पदार्थ सेवक) नाममा गौँडो ढुकेर प्रहरीले दुःख दिने गरेको छ। त्यसैले व्यवसाय चौपट भयो।’

पोखरा उपत्यकाको रात्रिकालीन दृश्य।

वैधानिक रूपमा मदिरा बिक्रीवितरण गर्न पाइने राज्यको नीति भए पनि नियोजित रूपमा प्रहरीले ग्राहकलाई भड्काउने गरेको लेकसाइडको टुरिस्ट रोड बिस्ट्रोका सञ्चालक अर्जुन सुवेदीको गुनासो छ। दुई करोड लागतमा व्यवसाय सञ्चालन गरेका उनले केहीलाई छोड्ने तर केहीलाई फसाउँछु भन्ने नियतले प्रहरीले गौँडो ढुक्ने गरेको आरोप लगाए।

‘सवारी जाँच गर्नु राम्रो हो तर मापसे गरेकै भरमा दुर्घटना हुन्छ भने त सय सय मिटरमै चेकिङ गर्नुपर्‍यो नि,’ उनको तर्क छ। सुरक्षा अधिकारीहरू भने भने रात्रिकालीन व्यवसाय क्रममा आपराधिक क्रियाकलाप बढी हुने भएकाले हमेसा चनाखो हुनुपर्ने बताउँछन्। मापसे चेकिङ नियमित प्रक्रिया भएकाले यसमा विरोध गर्नुको कुनै तुक नरहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसी बताउँछन्।

उनका अनुसार जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा एक हजार जनाको कमान्ड परिचालित हुन्छ। त्यस्तै गणबाट सुरक्षा टोली गस्तीमा जान्छ। केसी भन्छन्, ‘हामी रातभर गस्तीमा हुन्छौँ। त्यसकारण ढुक्क तरिकाले व्यवसाय गर्न सकिन्छ। कानुनको अधीनमा हुनेलाई कारबाही गर्दैनौँ। प्रहरीको सरोकार के हो भने मापसे गरेर स्टेरिङमा बस्नु भएन।’

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गुरुदत्त ढकाल रातको समयमा पर्याप्त रूपमा सुरक्षा टोली खटाउन नसकिने बताउँछन्।  उनी भन्छन्, ‘व्यवसायीको मागलाई पनि सम्बोधन हुने गरी राति १ बजेसम्म पसल व्यवसाय सञ्चालन सकिने निर्णय भएको छ।’

रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा आन्तरिक सुरक्षा, कर्मचारीलाई समयमै घर पुर्‍याउने, ध्वनि प्रदूषण नगर्ने, छिमेकीलाई असर नगर्ने लगायतका आचारसंहिता पालना गर्नुपर्ने उनको भनाइ छ।

विगतमा १० बजेपछि प्रहरी लेकसाइडमा पसल व्यवसाय बन्द गर्नुपर्ने भनी जान्थ्यो। तर सीडीओ कार्यालयमा व्यवसायीसँगको छलफलपछि राति १ बजेसम्म खोल्ने भन्ने सहमति भएको हो। रात्रिकालीन व्यवसायमा यो कुरा लागू नहुने सहमति भएको छ। ढकाल भन्छन्, ‘ यिनीहरूले रातैभर खुल्न पाउने भनी प्रशासनसँग सहमति लिएका हुन्छन्।’

त्यसैले अहिले रेस्टुरेन्टदेखि सानाठूला सबै खालका व्यवसाय अरुलाई असर नगर्ने गरी राति १ बजेसम्म सञ्चालन अनुमति छ। क्लब, डान्स, डिस्को, बार, पव, लाउन्ज लगायत रात्रिकालीन व्यवसाय सञ्चालन अनुमति लिएकाहरूकहाँ भने बिहान ४/५ बजेसम्म ग्राहक झुमिरहेका हुन्छन्। यिनीहरू कोरोनाका बेला बन्द थिए। प्रहरी उपरीक्षक केसी भन्छन्, ‘अरूलाई व्यवधान नहुने गरी सञ्चालित व्यवसायमा सुरक्षाको प्रत्याभूति हुन्छ। हामी त्यस्तालाई रोकतोक गर्दैनौँ।’

प्रकाशित: २८ फागुन २०७९ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =