दमौली (तनहुँ)- पर्यटकीय सहरलाई राजधानीसँग जोड्ने सडकको स्तरउन्नतिमा अघिल्ला सरकारहरूले अघि बढाएका कामलाई वर्तमान सरकारले पनि तिव्रता दिने भएको छ। मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल म्याद थप गरिएको समय सीमा भित्र सम्पन्न गर्न सरकारले दवाव दिएपछि काम द्रुत गतिमा अघि बढेको छ।
उक्त पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। समयमा विरलै काम सक्ने र म्याद थप गर्दै रकम समेत बढाउन पहल गर्ने ठेकेदार कम्पनीहरु माथि वर्तमान सरकार निर्मम हुन थालेपछि यसमा कामको द्रुतता आएको सडक विभाग अन्तरगतका एक अधिकारीले जानकारी दिए।
उक्त पुल निर्माणका लागि २०७९ साउनमा सम्झौता भएको थियो भने भदौ २१ मा यसको म्याद सकिएको थियो। तर त्यसमा सम्पन्न गर्न नसकेपछि अगामी असार १९ गतेसम्मलाई म्याद थप गरिएको र त्यस भित्र सक्ने गरी काम भइरहेको जानकारी दिइएको छ। समयमा काम सकिएमा साउनदेखि नै उक्त पुल सञ्चालनमा आउनेछ।
मादी नदीमाथि निर्माण भइरहेको पुलको भौतिक प्रगति ८४ प्रतिशत र आर्थिक तर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको दावी गरिएको छ। समयमा पुल सम्पन्न नभएपछि अहिले म्याद थप गरिएको समयमा सम्पन्न गर्ने गरि काम अघि बढेको हो। उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको बताउँदै भने, ‘हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको छ।
तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछन्। पुलको वारिपारी दुई/दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेका छन्। फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको जनाइएको छ। ‘मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो। त्यसको काम भइरहेको छ,’ उनले जानकारी दिए।
एक अर्ब २१ करोड लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो नेपाल भित्र निर्माणाधिन पहिलो पुल रहेको पनि उनले बताए। निर्माण कम्पनी अन्नक जेडआइष्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठले थपिएको म्यादभित्रै काम सम्पन्न गराउन आफूहरू लागिपरेको बताए।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ।




