बाजुरा- बेतालमाडौँ-डेल्टा सडकको बार्जुगाड खोलामा दश वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन।
स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बुढीगंगा नगरपालिका-४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुल दश वर्षमा निर्माण भएको थियो।
खप्तड छेडेदह-३ का स्थानीय रामबहादुर रावतका अनुसार अहिले पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सञ्चालनमा आएको छैन।
‘यसअघि खोलामा पुल नहुँदा विद्यार्थी, बिरामी तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने स्थानीयले वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो,’ उनले भने,‘अहिले पुल बनेपछि पैदल आवतजावत गर्न सहज भएको छ। तर,पुल सञ्चालनमा नआउँदा यातायातमा हुने समस्या भने उस्तै छ।’
पुल निर्माण भएपछि सहज रुपमा यातायात सेवा लिने आशा गरेका स्थानीयवासीले पुरानै समस्या झेल्नु परेको उनले बताए।
२०७३ सालमा तत्कालीन जिल्ला विकास समितिद्वारा पक्की पुल लागि रु दुई करोड २९ लाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।
अछामको साउद एडभेन्चर जेभीले निर्माणको जिम्मा लिएको उक्त पुल तयार हुन करिब दश वर्षमा लागेको हो।
पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका प्रमुख जंगबहादुर थापाले निर्माण कम्पनीको लापर्वाहीका कारण पुल निर्माणमा ढिलाइ भएको बताए।
उनका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल २०८३ असारमा मात्रै सम्पन्न भएको हो।
पुलको काम सकिए पनि वरपरको सडकको अवस्था राम्रो नहुँदा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।
निर्माण कार्यमा भएको ढिलाइका कारण आर्थिक दायित्वसमेत थपिएको कार्यालयको भनाइ छ।



