वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ११ प्रतिशतभन्दा धेरै वृद्धि

हिमाल प्रेस १० कार्तिक २०८३ १५:५२ | Tuesday, October 27, 2026
8
SHARES
वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ११ प्रतिशतभन्दा धेरै वृद्धि

काठमाडौँ- वाणिज्य बैंकहरूले आफ्नो स्वामित्वमा राखेका गैरबैंकिङ सम्पत्ति एक वर्षमा ११ प्रतिशतभन्दा धेरै बढेक‍ो छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मध्यसम्म २० वाणिज्य बैंकको कुल गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको भदौ मध्यमा यस्तो सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा २० मध्ये १४ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने पाँच बैंकको घटेको छ। यसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको तथ्यांक उपलब्ध छैन।

ऋणीले कर्जा चुक्ता नगरेपछि बैंकहरूले आफ्नो बक्यौता असुल गर्न धितोमा राखिएका सम्पत्ति लिलाम गर्छन्। लिलाम प्रक्रियाबाट त्यस्ता सम्पत्ति बिक्री हुन नसके बैंकले तिनको स्वामित्व लिनुपर्ने हुन सक्छ। यसरी बैंकको स्वामित्वमा आएका जग्गा, भवनलगायतका सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमध्ये हिमालयन बैंकसँग सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति छ। समीक्षा अवधिमा बैंकको यस्तो सम्पत्ति ९.७४ प्रतिशतले बढेर ६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै बढ्ने बैंकमध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) पनि छ। बैंकको यस्तो सम्पत्ति ५३.४३ प्रतिशतले बढेर भदौ मध्यसम्ममा पाँच अर्ब ८६ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति भने घटेको छ। बैंकको यस्तो सम्पत्ति ६.७५ प्रतिशतले घटेर पाँच अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।

प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति २२.४५ प्रतिशतले बढेर ४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, एनआईसी एसिया बैंकको यस्तो सम्पत्ति ८.७२ प्रतिशतले घटेर चार अर्ब १२ करोड रुपैयाँ कायम भएको छ।

वाणिज्य बैंकमध्ये सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकसँग छ। सरकारी स्वामित्वको यस बैंकको गैरबैंकिङ सम्पत्ति २.९७ प्रतिशतले घटेर २७ करोड ७३ लाख रुपैयाँमा झरेको छ।

प्रकाशित: १० कार्तिक २०८३ १५:५२ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast