दुई लाख बढी परिवार कांग्रेससँग अलग हुनुभएको छ, उहाँहरूसँग संवाद गर्नुपर्‍यो : सभापति थापा

हिमाल प्रेस १० कार्तिक २०८३ १७:०५ | Tuesday, October 27, 2026
दुई लाख बढी परिवार कांग्रेससँग अलग हुनुभएको छ, उहाँहरूसँग संवाद गर्नुपर्‍यो : सभापति थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन्। बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने पनि बताए।

सभापति थापाले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी जोडिनुपर्ने धारणा राखे। सभापति थापाले भने,‘दुई लाखभन्दा बढी परिवारहरू अहिले हामीसँग अलग हुनुभएको छ। ती अलग भएका परिवारलाई हामीले खोज्नुपर्‍यो। उहाँहरूसँग संवाद गर्नुपर्‍यो।’

पार्टीमा २० देखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले पाका नेताको अनुभव र युवाहरुको ऊर्जाको संयोजनबाट मात्र नतिजा हासिल हुने बताए। आफ्नो चार वर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेताहरूलाई भड्किलो शैली त्यागेर गाउँगाउँमा खटिन निर्देशन दिए।

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिइने सभापति थापाले बताए। सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्‍याएका गण्डकी प्रदेशका ११ जिल्लाका एकरएक जनालाई सम्मान गरेका थिए।

सम्मातिन हुनेहरूमा नवलपुरका सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिकराम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट हुन्। उनीहरूलाई जनही रु २५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो।

प्रकाशित: १० कार्तिक २०८३ १७:०५ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast