कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा यसपालि चियापान कार्यक्रम नमनाउने भएको छ।
यो वर्ष देश शोकको सामना गरिरहेको भन्दै कांग्रेसले शुभकामना आदान प्रदान गर्न कोजग्रात पूर्णिमाका दिन आयोजना गर्दै आएको कार्यक्रम नमनाउने भएको हो।
बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपश्चात २०३४ सालको कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरेका थिए।
यसपश्चात कांग्रेसले विशेष कारणबाहेक हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान प्रदान गर्न चियापान समारोहको आयोजना गर्दै आएको छ।
भोटेकोशीमा आएको बाढीले १४ सयबढी आफन्तको मृत्यु र पाँच हजारबढी बेपत्ता रहेको अवस्था तथा बुढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेकोले यसपालि चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
शोकको यो घडीमा चाडपर्व मनाइरहँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाउन सभापति गगन थापाले आग्रह गरेको उनले बताएका छन्।




