भारतीय नागरिक नभएको भन्दै अभिनेता इमरान खानलाई देश छाड्न नोटिस

हिमाल प्रेस २९ असोज २०८३ १२:४६ | Thursday, October 15, 2026
14
SHARES
भारतीय नागरिक नभएको भन्दै अभिनेता इमरान खानलाई देश छाड्न नोटिस

मुम्बई- बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न मुम्बई प्रहरीले नोटिस जारी गरेको छ। उनलाई यही अक्टोबर २८ सम्म भारत छाड्न समय दिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय नागरिक नभएका इमरान विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर उनीमाथि अध्यागमनसम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको छ।

इमरान खान अक्टोबर १० मा मुम्बईस्थित अगस्त क्रान्ति मैदानमा आयोजित प्रदर्शनमा सहभागी भएका थिए।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै तथा एसआईआर (विशेष गहन पुनरावलोकन) प्रक्रियाको विरोधमा उक्त प्रदर्शन आयोजना गरिएको थियो। प्रदर्शनका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

यसअघि उनी जुलाई २२ र २३ मा राष्ट्रिय प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावटविरुद्ध आयोजित ‘ककरोच जनता पार्टी’ को प्रदर्शनमा पनि सहभागी भएका थिए।

दैनिक भास्करका अनुसार इमरान खानको जन्म अमेरिकाको विस्कन्सिनमा भएको हो। जन्मका आधारमा उनी अमेरिकी नागरिक हुन् र उनीसँग अमेरिकी पासपोर्ट छ।

उनी भारतीय नागरिक नभई ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसीआई) कार्डको माध्यमबाट भारतमा बसोबास तथा काम गर्दै आएका छन्।

भारतमा विदेशी नागरिकको प्रवेश, बसोबास र गतिविधि नियमन गर्न लागू अध्यागमनसम्बन्धी कानुनी व्यवस्थाअन्तर्गत उनीमाथि कारबाही गरिएको बताइएको छ।

विदेशी नागरिकले लागू नियम वा आफ्नो बसोबासको अनुमतिसम्बन्धी सर्त उल्लंघन गरेमा सरकारले कानुनबमोजिम कारबाही गर्न सक्ने व्यवस्था छ।

‘ककरोच जनता पार्टी’ ले अक्टोबर १० मा एसआईआर प्रक्रियाको विरोध तथा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शन आयोजना गरेको थियो। उक्त प्रदर्शनमा सहभागी भएका इमरानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा रहेका बेला उनले प्रहरी भ्यानभित्र खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका थिए, ‘लाग्छ, म ड्राइभमा जाँदै छु।’

प्रहरी भ्यानभित्रबाट सार्वजनिक भएको एउटा भिडियोमा उनकी कजिन जैनले इमरानलाई आफू कहिल्यै जेल गएको छ कि छैन भनेर सोधेकी थिइन्।

जवाफमा इमरानले अहिलेको अवस्था हेर्दा जेल जाने सम्भावना देखिएको बताएका थिए।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफूलाई कुनै कारणबिना सडकबाट उठाएर प्रहरी भ्यानमा राखिएको दाबी गरेका थिए।

प्रहरी नियन्त्रणबाट रिहा भएपछि अभिनेत्री लेखा वासिङ्टनले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै प्रहरीले आफूहरूलाई रिहा भएपछि घर जान गाडी वा ट्याक्सीको व्यवस्था गर्न नदिएको दाबी गरेकी थिइन्।

उनका अनुसार मोबाइल फोनसमेत बुझाउनुपरेपछि उनी, इमरान खान र जैन पैदलै घरतर्फ लागेका थिए। इमरानले पनि रिहा गर्नुअघि आफूहरूलाई करिब दुई घण्टासम्म प्रहरी भ्यानमा घुमाइएको बताएका थिए।

प्रदर्शनमा सहभागितापछि इमरानलाई भारत छाड्न नोटिस जारी गरिएको घटनाले अहिले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको छ।

प्रकाशित: २९ असोज २०८३ १२:४६ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast