काठमाडौँ- भारतीय अभिनेता आमिर खानका भान्जा इमरान खानलाई भारत छोड्न निर्देशन दिइएको छ।
बलिउड अभिनेतासमेत रहेका इमरानलाई भारतको ‘फरेनर्स रिजनल रजिस्ट्रेशन अफिस’ ले अक्टोबर २८ सम्म देश छोड्न निर्देशन दिएको हो।
इमरान मुम्बईमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको विरोधमा भइरहेको प्रदर्शनमा सहभागी भएका थिए।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित विरोध प्रदर्शनमा सहभागी भई विदेशी ऐन उल्लंघन गरेको आरोपमा उनलाई यस्तो निर्देशन दिइएको हो।
इमरान अमेरिकाको नागरिक रहेको बताइएको छ।
प्रदर्शनलगत्तै भारतीय जनता पार्टी (बीजेपी) का नेता किरिट सोमैयाले इमरान अमेरिकी नागरिक रहेको र उनले विदेशी नागरिकका रुपमा भारतमा राजनीतिक/सामाजिक विरोध प्रदर्शनमा भाग लिएर ‘फरेनर्स एक्ट’ को उल्लंघन गरेको आरोप लगाएका थिए।
सोमैयाले यस विषयमा प्रहरीमा औपचारिक उजुरीसमेत दर्ता गराएका थिए।
गामदेवी प्रहरी स्टेशनका अनुसार सोमैयाको उजुरी परे लगत्तै आवश्यक कारबाहीका लागि यो मामिला ‘फरेनर्स रिजनल रजिस्ट्रेशन अफिस’ पठाइएको थियो।
निर्देशनमा इमरानलाई अमेरिकी नागरिकको रुपमा उल्लेख गर्दै ‘इमिग्रेसन एन्ड फरेनर्स एक्ट’ को धारा ७ र २९ उल्लंघन गरेको आरोप लगाइएको छ।
यही कानुनी आधारमा उनलाई तोकिएको समयसीमाभित्र भारत छाड्न भनिएको छ।




