सरकार लक्षित रास्वपा सांसद अमरेश सिंहको यस्तो टिप्पणी

हिमाल प्रेस २९ असोज २०८३ १५:१७ | Thursday, October 15, 2026
सरकार लक्षित रास्वपा सांसद अमरेश सिंहको यस्तो टिप्पणी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन्। सिंहले बिहीबार सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित रहने बताएका हुन्।

राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे त्यसलाई रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उनको भनाइ छ। ‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ सिंहले भनेका छन्।

उनले लोकतन्त्रमा बहुमतको शासन हुने भए पनि बहुमतलाई जवाफदेही बनाउने व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्। सरकारका निर्णयमाथि संसदीय समितिले गर्ने निगरानीलाई लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै सिंहले बहुमतका आधारमा मात्रै सबै निर्णयलाई उचित ठहर गर्न नसकिने सन्देश दिएका छन्।

उनको यो भनाइ राजदूत नियुक्तिसम्बन्धी सरकारको सिफारिस र त्यसमा संसदीय समितिको भूमिकालाई लिएर आएको हो।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको छ। सुनुवाइका क्रममा खरेलमाथि विभिन्न प्रश्नहरू उठेका थिए। समिति सदस्यहरूले उनीसँग आर्थिक चलखेललगायतका प्रश्न गरेका थिए।

त्यसैगरी समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत गरेको थियो। उनीमाथि घरेलु हिंसा, आर्थिक लेनदेन, कुटनीतिक मर्यादाविपरित लगायतका काम गरेको आरोपमा समितिमा उजुरी परेको थियो।

बैठकले जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको सुनुवाइ ‘होल्ड’ मा राखेको छ। थापामाथि जापानको ‘पीआर’ लिएको आरोप छ।

समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा.निश्‍चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा,अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरवशमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

उक्त बैठकले इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण, ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रस्तावित राजदूत प्रा.डा. संगम श्रेष्ठ, स्पेन अधिराज्यका लागि प्रस्तावित राजदूत प्राप्‍ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा.मञ्चलाकुमारी झाको नाम अनुमोदन गरिएको थियो।

सरकारले यही असोज २ गते १३ वटा देशका राजदूतहरू नियुक्ति गर्नका लागि सिफारिस गरेको थियो।

प्रकाशित: २९ असोज २०८३ १५:१७ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast