जसबिरेमा सडक पुगेको धेरै भयो। अहिले सडक कालोपत्रे समेत भइसकेको छ। म प्रत्येक दिन घरमाथिको डिलमा उभिएर जसबिरेबाट माईपोखरीतिर उकालिएको कालोपत्रे सडक र इतिहासको एउटा साक्षी बनेर जसबिरे चिहाइरहेको कोठीडाँडा नियालिरहन्छु। मलाई इतिहासको एउटा साक्षी कोठीडाँडाको हरियाली र जसबिरे हुँदै उकालिएको कालोपत्रे सडकको चहलपहल नियाल्न रमाइलो लाग्छ।
कोठीडाँडाको नामकरण पृथ्वीनारायण शाहको शासनकालसँग जोडिएको छ। पृथ्वीनारायण शाहले १८३१ मा इलामसहित पूर्वी पहाडको धेरै लिम्बुवान क्षेत्र सम्झौतामार्फत आफ्नो राज्यमा समावेश गरेका थिए। तर इलाम जिल्लाका रूपमा रहेको भए पनि त्यहाँ सदरमुकाम थिएन। सरकारी कामकारबाही धनकुटाबाट सञ्चालन हुने गरेको रहेछ।
समयक्रममा एउटै ठाउँबाट सबै जिल्लाको कामकारबाही अघि बढाउन कठिन हुने महसुस गरी तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले राम कुँवरको अगुवाइमा एउटा टोली इलामको सदरमुकाम कहाँ राख्न उपयुक्त हुन्छ भन्ने सर्वेक्षणका लागि पठाएका रहेछन्। ज्येष्ठजनहरूसँग गफिने क्रममा उनीहरू भन्दै थिए- राम कुँवरको टोली इलामको सदरमुकाम राख्ने ठाउँको सर्वेक्षण गर्न काठमाडौँबाट झापा हुँदै टाङटिङ-विरिङको किनारैकिनार आइतबारे डाँडा पुगेका थिए रे।
उनीहरूले आइतवारे डाँडामा सदरमुकाम राख्ने विषयमा अध्ययन गर्दा फिक्कल, आइतवारे, करफोक आदि ठाउँको समेत अवलोकन गरेका रहेछन्। तर यो ठाउँ भारतसँगको सीमाना नजिक रहेको तथा केही जातजाति (विशेषगरी लाप्चा जाति) बाट विघ्नबाधा समेत पुग्न सक्ने महसुस गरी सदरमुकाम राख्न उपयुक्त नहुने निष्कर्षमा पुगेछन्।
त्यसपछि अर्को ठाउँको खोजी गर्दै जाँदा हालको सदरमुकाम इलाम बजारबाट १० किलोमिटर उत्तरमा पर्ने उच्च देउराली डाँडा (कोठीडाँडा) लाई उचित ठहराएको ऐतिहासिक तथ्य ज्येष्ठजनहरूले सुनाए। त्यतिबेला देउराली डाँडा भनिने उच्च स्थानमा सदरमुकाम राख्न उचित ठानिएको कागजातसहितको रिपोर्ट प्रधानमन्त्री जंगबहादुर राणाको हात परेपछि उनले आफ्ना ज्वाइँ कर्नेल गजराज थापालाई पठाएर सदरमुकाम स्थापना गर्न लगाएका थिए भनिन्छ। कर्नेल गजराजले विक्रम संवत् १९२० मा देउराली डाँडामा कोठी (दरबार अर्थात् ठूलो घर) बनाएपछि यसको नामकरण कोठीडाँडाका रूपमा भएको ज्येष्ठजनहरूको भनाइ छ।
चिया बगानहरूको बीचमा उभिएको १,९०० मिटर उचाइको कोठीडाँडा निकै सुन्दर र रमणीय छ। यो डाँडामा उभिएर इलामका धेरै भूभाग नियाल्न सकिन्छ। त्यति मात्र होइन, कोठीडाँडाबाट धनकुटा, धरान, विराटनगर तथा पूर्वी तराईका धेरै स्थान देख्न सकिन्छ। सूर्योदयका लागि समेत उत्कृष्ट गन्तव्य बनेको कोठीडाँडालाई पर्यटकीय गन्तव्य बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्छ।
कोठीडाँडामा कर्नेल गजराज थापाले निर्माण गरेका कोठी (दरबार अर्थात् ठूलाघर) हरूका धेरै भग्नावशेष अझै देख्न सकिन्छ। भग्नावशेषको अवलोकन र विश्लेषण गर्दा कोठीडाँडामा चारैतिर ठूला र राम्रा काँचो तथा पाकेको इँटाबाट बनेका भवन र बीचमा ठूलो चोक रहेको अनुमान गर्न सकिन्छ।
भवनको भग्नावशेष विश्लेषण गर्दा पूर्वउत्तरमा ठूलो पटाङ्गिनी रहेको र त्यो सिपाहीहरूले कवाज खेल्ने ठाउँ भएको अनुमान गर्न सकिन्छ। त्यसैगरी पूर्वदक्षिणतर्फ घाम ताप्ने र चिसो हावा लिने ठाउँ रहेको अनुमान गर्न सकिन्छ। कोठीडाँडा आसपास लप्टने डाँडा, कप्ताने डाँडा आदि रहेका छन्। यी ठाउँमा लप्टन र कप्तान बस्ने भवनहरू रहेको भन्ने जनश्रुति प्रचलनमा छ। त्यसैगरी कोठीडाँडा नजिकै घर्ती कटेरा, सुतार कटेरा, भोटे पधेँरा, कागतेपानी धारो (हाते कागज बनाउने धारो), ठकुरीको चिहान आदि समेत देख्न सकिन्छ।
कोठीडाँडाबाट डेढ किलोमिटर पूर्वमा रानीटार छ। रानीटारमा रानीको भेडागोठ थियो भन्ने जनश्रुति समेत ज्येष्ठजनहरूको मुखबाट सुन्न सकिन्छ। १९६१ तिर तत्कालीन बरबोटे गाविसस्थित धारापानीका अमृत खत्री (लामिछाने) ले आफ्नो गाईभैँसी चराउँदै भत्किएको दरबारमा पुरिएको आँखीझ्याल भेट्टाएको र त्यसलाई जतनसाथ आफ्नो घरमा झ्यालकै रूपमा राखेको भनाइ छ। २०४५ सालमा घर लड्दा समेत उक्त झ्यालमा कुनै क्षति नभएको र अहिले पनि त्यो सुरक्षित रहेको स्थानीय ज्येष्ठजनहरूले सुनाए।
कोठीडाँडामा सदरमुकाम स्थापना गरेका कर्नेल गजराज थापाले निकै लामो समय जिल्लाको शासन व्यवस्था चलाएका थिए भनिन्छ। उनीपछि कर्नेल हर्कजंग जबरा र कर्नेल भोगेशमशेर जबराले कोठीडाँडाबाट जिल्लाको शासन व्यवस्था चलाएको ज्येष्ठजनहरूले सुनाउने गरेका छन्। त्यसपछि भने इलाम जिल्लाको सदरमुकाम कोठीडाँडाबाट इलाम बजार सरेको थियो।
जसबिरेबाट कोठीडाँडा नजिकै भएकाले म प्रत्येक दिन यो ऐतिहासिक थलोमा पुग्ने गरेको छु। भग्नावशेषका रूपमा रहेको कोठी (दरबार अर्थात् ठूलो घर) का काँचो र पाकेका इँटाका टुक्राहरूलाई सुमसुम्याउँदै कोठीडाँडालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न के-के गर्न सकिएला भन्ने परिकल्पना गर्नु मेरो दैनिकी बनेको छ।
कोठीडाँडा-जसबिरे साइनो
जसबिरेको नामकरण नै कोठीडाँडाको इतिहासबाट सुरु भएको छ। कर्नेल गजराज थापाको नेतृत्वमा इलामको सदरमुकामका रूपमा कोठीडाँडालाई स्थापित गर्ने क्रममा कर्नेल गजराजकी श्रीमती (उनी राणाकी छोरी भएकाले रानी भनेर सम्बोधन गरिने) पनि कोठीडाँडामै बस्ने भएपछि उनले आफ्ना बाबुसँग सबै जातिका एकएक जना मानिस पठाउन विन्ती बिसाएकी रहेछिन्। छोरीको चाहनाअनुसार लिम्बु प्रतिनिधिका रूपमा ताप्लेजुङको मेवा खोलाबाट काठमाडौँमा खरिदारको जागिर खाएर बसेका जस्वीर लिम्बु पठाइएको इतिहास रहेछ।
म सानैदेखि इतिहासको अध्ययन र खोजीमा चासो राख्ने भएकाले सानै हुँदा जस्वीर लिम्बुका भाञ्जा शेरहाङ लिम्बु, तत्कालीन प्याङ गाविसका शानबहादुर थेवे लगायतका ज्येष्ठजनबाट जसबिरेको नामकरणसम्बन्धी इतिहास सुनेको हुँ। रानीको आग्रहअनुसार कोठीडाँडामा जस्वीर लिम्बुसहित बाहुन, ठकुरी, नेवार, मगरलगायत जातिका मानिस पुगेका थिए।
सदरमुकामका रूपमा रहेको कोठीडाँडा क्षेत्रमा जस्वीर लिम्बु स्थायी रूपमै बसोबास गर्ने भएपछि यो ठाउँको नाम नै जसबिरे भञ्ज्याङ रहन गएको भन्ने भनाइ छ। अहिले यो ठाउँ जसबिरे बजारका रूपमा विकास भइरहेको छ।
विगतमा जसबिरे तमुरपारे, अरुनपारे, भोजपुरे, पाँचथरे, ताप्लेजुङेहरूको भारतसम्म पुग्ने क्रममा विश्राम गर्ने भञ्ज्याङ थियो। सडक विस्तारको क्रमसँगै सबै ठाउँबाट आवतजावतका नयाँ-नयाँ मार्ग निर्माण भएपछि अहिले भने माबु, माईमजुवा, सुलुबुङ लगायतका ठाउँका मानिसका लागि मात्र यो विश्राम गर्ने भञ्ज्याङ बनेको छ।
जसबिरेमा घरहरू थपिने क्रम बढे पनि सरसफाइ र सुन्दरतामा कुनै कमी देखिँदैन। जसबिरेका प्रत्येक घर अहिले पनि विभिन्न थरीका बेगुनिया लगायत अन्य जातका फूलहरूले सजिने गरेका छन्। यहाँको आतिथ्यता र मित्रता उदाहरणीय छ। २०४२ सालदेखि सुरु भएको चिया खेतीले आर्थिक उन्नतिसँगै जसबिरेको सुन्दरता पनि बढाएको छ। त्यसैले कोठीडाँडाको ऐतिहासिकता र जसबिरेको सुन्दरतालाई व्यवस्थित गरेर पर्यटक आगमनमा वृद्धि गर्ने हो भने यसले समग्रमा मुलुककै आर्थिक पक्षमा सहयोग पुर्याउनेछ।
पछिल्लो समय कोठीडाँडा-जसबिरे हुँदै अन्तर्राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत रामसार क्षेत्र माईपोखरी जाने स्वदेशी एवं विदेशी पर्यटकलाई यो ठाउँको संस्कार र सुन्दरताले आकर्षित गरिरहेको छ। यहाँ अहिले विभिन्न देशीविदेशी चलचित्रको छायांकन समेत हुने गरेको छ।
कोठीडाँडाबाट इलाम बजारमा सदरमुकाम सर्नुको कारणबारे कुनै आधिकारिक तथ्य वा भनाइहरू पाइँदैन। तर धेरैको अनुमानमा कोठीडाँडा निकै उचाइको जङ्गली क्षेत्र भएकाले, त्यहाँ चिसो हुने र पानीको समेत निकै समस्या रहेकोले सदरमुकाम सारिएको हुनुपर्छ। विभिन्न तथ्यहरूको विश्लेषण गर्दा १९५५ देखि १९५९ को बीचमा कोठीडाँडाबाट इलाम बजारमा सदरमुकाम सरेको वा बडाहाकिमको काम नै इलामबाट हुन थालेको भन्ने बुझ्नुपर्ने होला। किनकि सरकारी तथ्याङ्कले यसो भनिरहेको छैन।
स्थानीय तथा सरकारी विवरणअनुसार नागरीगढीबाट सुगौली सन्धिपछि करफोकमा मुकाम सारिएको देखिन्छ। करफोकमा करिब दुई वर्ष बसेपछि १८७५ सालमा इलामडाँडामा सदरमुकाम स्थापना भएको थियो। कोठीडाँडामा गजराज सिंह थापाको कोठी रहेकाले त्यो स्थानको नाम कोठीडाँडा रहेको इतिहास छ।
इलाम बजारबाट उत्तरतर्फ पर्ने जसबिरे क्षेत्रको उच्च डाँडा कोठीडाँडामा जंगबहादुर राणाका ज्वाइँ तथा इलामका बडाहाकिम गजराज पुगेका थिए। उनले १९२० साल आसपास त्यहाँ कोठी अर्थात् दरबारजस्तो भवन बनाएको तथ्यहरू सार्वजनिक छन्। त्यसैले उक्त ठाउँको नाम कोठीडाँडा रहन गएको र त्यहाँ अहिले पुराना संरचनाका भग्नावशेष भेटिएको पनि सरकारी अध्ययनमा उल्लेख छ। गजराज १९२२ देखि १९४६ सम्म इलामका बडाहाकिम रहेको सरकारी बडाहाकिमको सूचीमा उल्लेख छ।
घटनाक्रम नियाल्दा पृथ्वीनारायण शाहको एकीकरण अभियानपूर्व पूर्वी लिम्बुवान क्षेत्रमा नेपालको राजनीतिक विस्तार र सम्झौतामार्फत राज्यमा समावेश गर्ने प्रक्रिया अघि बढेको देखिन्छ। त्यसपछि सुगौली सन्धि अनि १८७२ सालमा नागरीगढीको मुकाम नेपालभित्र सार्नुपर्ने अवस्थाले १८७३-१८७५ सम्म करफोकमा प्रशासनिक तथा सैनिक मुकाम रहेको देखिन्छ। १८७५ सालमा इलामडाँडामा सदरमुकाम स्थापना भएकाले १९२० आसपासमा गजराजले कोठीडाँडामा कोठी बनाएको र बसेको स्थानीय ऐतिहासिक विवरणअनुसार १९२२-१९४६ सम्म गजराज सिंह थापाको इलाम बडाहाकिम कार्यकाल रहेको सरकारी सूचीबाट बुझ्न सकिन्छ।
त्यसैले कोठीडाँडा सदरमुकाम स्थापनाको प्रारम्भिक स्थान थियो भन्नेभन्दा पनि बडाहाकिमको आवासीय वा प्रशासनिक मुकामका रूपमा प्रयोग भएको स्थानका रूपमा बुझ्न सकिन्छ। राम कुँवरको टोली काठमाडौँको निर्देशनमा झापा हुँदै टाङटिङ-विरिङ किनारबाट आइतवारे, फिक्कल, करफोक र कोठीडाँडा निरीक्षण गर्न आएको विवरण निकै रोचक छ। विशेषगरी लाप्चा समुदायको सम्भावित अवरोध, सीमाना नजिकको सुरक्षा जोखिम र उच्च देउराली डाँडा छनोटको प्रसंगले तत्कालीन राज्यको प्रशासनिक तथा सुरक्षासम्बन्धी सोच देखाउँछ। तर, यो विवरण सरकारी तथ्याङ्कबाट पुष्टि हुन नसकेकाले यसबारे थप अध्ययन आवश्यक छ।



