मन्त्रीहरूको वरीयता हेरफेरमा सोविता किन तेस्रो नम्बरमा?

हिमाल प्रेस १० मंसिर २०८३ २०:५८ | Thursday, November 26, 2026
मन्त्रीहरूको वरीयता हेरफेरमा सोविता किन तेस्रो नम्बरमा? कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो वरीयतामा उकासेका छन्। सातौँ स्थानमा रहेकी गौतमलाई चार स्थान माथि ल्याएर प्रधानमन्त्री शाहले पार्टीभित्रको शक्ति सन्तुलनदेखि नेतृत्वको प्राथमिकतासम्मको सन्देश दिन खोजेको बुझाइ रास्वपा नेताहरूको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन्। नयाँ मर्यादाक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गौतमलाई राखिएको छ। यससँगै परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन्।

यो हेरफेरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी पदाधिकारीको वरीयता, नेतृत्वसँगको निकटता र प्रधानमन्त्रीको राजनीतिक प्राथमिकतासँग जोडेर हेर्न थालिएको छ।

पार्टी पदाधिकारीको वरीयता मन्त्रिपरिषद्‌मा पनि?

रास्वपामा गौतम उपसभापति हुन्। पार्टीमा सभापति रवि लामिछानेपछि उपसभापतिको वरीयता हुने भएकाले मन्त्रिपरिषद्मा पनि उनको स्थान माथि राखिएको व्याख्या पार्टीभित्रबाट भइरहेको छ। प्रधानमन्त्री शाह निकट एक नेताका अनुसार पार्टीको पदाधिकारीगत वरीयतालाई सरकारको मर्यादाक्रममा समेत प्रतिबिम्बित गराउने उद्देश्यले गौतमलाई माथि ल्याइएको हो।

पार्टीका सचिवालय सदस्य रहेका परराष्ट्रमन्त्री खनाल र ऊर्जामन्त्री श्रेष्ठको वरीयता भने गौतमको बढुवासँगै एकएक स्थान तल झरेको छ। यसले मन्त्रिपरिषद्को मर्यादाक्रममा पार्टीभित्रको पदगत हैसियतलाई पनि आधार बनाइएको संकेत गर्छ।

कार्यसम्पादनमा प्रधानमन्त्रीको सन्तुष्टि

गौतमलाई माथिल्लो वरीयतामा राख्नुको अर्को कारण उनको कार्यसम्पादन रहेको प्रधानमन्त्रीनिकट नेताको दाबी छ। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गौतमले गरेको कामबाट प्रधानमन्त्री सन्तुष्ट रहेको ती नेताले बताए।

‘अन्य मन्त्रीहरूको भन्दा मन्त्री गौतमको कार्यसम्पादनमा प्रधानमन्त्री सन्तुष्ट देखिनुभएको छ,’ ती नेताले भने।

गौतम रास्वपा सभापति रवि लामिछानेनिकट मानिन्छिन्। उनलाई मन्त्रिपरिषद्मा माथिल्लो वरीयतामा राख्नु पार्टीभित्रको पदगत संरचना मिलाउने प्रयास हो वा प्रधानमन्त्रीको कार्यसम्पादन मूल्यांकनको परिणाम भन्ने बारेमा प्रधानमन्त्रीको धारणा सार्वजनिक भएको छैन।

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को मर्यादाक्रममा गरेको यो फेरबदलले सरकार सञ्चालनमा आफ्नो प्राथमिकता र पार्टीभित्रको शक्ति संरचनालाई कसरी समायोजन गरिरहेका छन् भन्ने बहस जन्माएको ती नेताको बुझाइ छ।

प्रकाशित: १० मंसिर २०८३ २०:५८ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast