निर्वाचन आयोगबाट गगन नेतृत्वको कांग्रेसलाई मान्यता

हिमाल प्रेस ९ मंसिर २०८३ १७:३५ | Wednesday, November 25, 2026
निर्वाचन आयोगबाट गगन नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरेको छ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिसँगै महाधिवेशनले पारित गरेको संशोधित विधान तथा राजनीतिक दस्तावेजहरूलाई समेत आयोगले औपचारिक रूपमा अद्यावधिक गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेसले अद्यावधिकका लागि पेस गरेका सम्पूर्ण कागजपत्र, महाधिवेशनका निर्णय र विधान संशोधनसम्बन्धी विवरणहरूको कानुनी अध्ययन गरी आयोगको मंगलबारको बैठकले स्वीकृत गर्ने निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम आयोगले बुधबार नेपाली कांग्रेसलाई विवरण अद्यावधिक गरिएको आधिकारिक पत्र प्रदान गरेको प्रवक्ता भट्टराईले जानकारी दिए।

उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र विधानलगायतका सबै विवरण आयोगको अभिलेखमा अद्यावधिक भइसकेको बताए।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले पनि निर्वाचन आयोगबाट कार्यसमिति तथा विधान अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भइसकेको पुष्टि गरेका छन्।

सभापति थापाले पनि जारी पार्टी केन्द्रीय समितिको बैठकमा पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाइ निर्वाचन आयोगले अध्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको बताएका थिए।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई पनि आयोगले आधिकारिकता दिएको थियो। सोही कार्यसमितिले सम्पन्न गरेको १५औँ नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

कांग्रेसको देउवा समूहले गनन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

सर्वोच्च अदालतले समेत निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि देउवा समूहले पुनरावलोकनका लागि निवेदन दिएको थियो। सर्वोच्चले निस्सा दिए पनि मुद्दाको सुनुवाइ भने सुरु हुन सकेको छैन।

प्रकाशित: ९ मंसिर २०८३ १७:३५ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast