दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

हिमाल प्रेस ९ मंसिर २०८३ १७:५१ | Wednesday, November 25, 2026
दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

काठमाडौँ- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार भएको महिला क्रिकेट खेलमा बागमती प्रदेश विजयी भएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालाको क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेश विजयी भएको हो। बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको हो।

बागमतीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर ब्याटर मनिषा बोहराले ३० तथा अनु कडायतले अविजित २३ रन बनाइन्। अनुले १५ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरिन्।

यसैगरी, कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५, स्नेहा महराले २२, ममता बोहराले दुई तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक–एक रन बनाइन्।

बलिङतर्फ बागमतीकी कप्तान अस्मिना कर्माचार्यले तीन तथा संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट लिइन्।

एक सय १३ रनको लक्ष्य बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा ग¥यो।

बागमतीका लागि ओपनर ब्याटर हेलिषा गुरुङले अविजित ५५ रन बनाइन्। उनले ५१ बलको सामना गर्दै छ चौका प्रहार गरिन्।

यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिषा शाहीले १० तथा सेविकाकुमारी यादवले तीन रन बनाइन्।

बलिङतर्फ सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक एक विकेट लिइन्। बागमतीलाई जिताउन महत्वपूर्ण पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ दी म्याच घोषित भइन्।

प्रकाशित: ९ मंसिर २०८३ १७:५१ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast