‘सरयू-कमला’ एक्सप्रेस : कहिलेदेखि हुन्छ सञ्चालन? कसरी लिने टिकट?

हिमाल प्रेस ९ मंसिर २०८३ १६:१५ | Wednesday, November 25, 2026
10
SHARES
‘सरयू-कमला’ एक्सप्रेस : कहिलेदेखि हुन्छ सञ्चालन? कसरी लिने टिकट?

काठमाडौँ- जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने ‘सरयू-कमला’ एक्सप्रेस रेल सेवाको उद्घाटन भएपछि भारतीय रेलवेले यो रेलमार्फत यात्रा गर्ने मापदण्ड र टिकट रिजर्भेसनका लागि कार्यविधि तय गरेको छ।

अयोध्या-जनकपुरधाम सञ्चालन हुने साप्ताहिक रेलसेवाका लागि भारतको रेल विभागले यात्रुका लागि आवश्यक मापदण्ड र टिकट रिजर्भेसनको कार्यविधि तय गरेको हो।

‘सरयू-कमला’ एक्सप्रेस जनकपुरधामबाट प्रत्येक शनिबार दिउँसो १ः१० बजे र अयोध्याबाट प्रत्येक सोमबार भारतीय समयअनुसार साँझ ५ः५० बजे छुट्नेछ।

जनकपुरधामबाट अयोध्याका लागि छुट्ने ट्रेन नम्बर १५५९५ ‘सरयू-कमला’ एक्सप्रेस भारतीय समयअनुसार दिउँसो २ः१० बजे जयनगर पुग्नेछ। त्यहाँ सुरक्षा जाँचका लागि एक घण्टा रोकिनेछ। त्यसपछि साँझ ७ बजे सीतामढी पुग्ने रेल अर्को दिन भारतीय समयअनुसार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।

त्यसैगरी ट्रेन नम्बर १५५९६ प्रत्येक सोमबार भारतीय समयअनुसार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुटेर मंगलबार बिहान ८ः३० बजे जयनगर पुग्नेछ। त्यहाँ दुई घण्टा विश्राम गरेर नेपाली समयअनुसार दिउँसो १२ः४० बजे जनकपुरधाम पुग्नेछ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ‘सरयू-कमला’ एक्सप्रेस ट्रेनको संयुक्त रुपमा उद्घाटन गरेका थिए। उद्घाट्न भएकै दिन अयोध्याबाट हिँडेको यो ट्रेन मंगलबार बिहान जनकपुरधाम आइपुगेको थियो। ट्रेनमा सवार भएर आएका भारतीय नागरिकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको थियो।

कसले गर्न सक्छन् यात्रा ?

‘सरयू-कमला’ एक्सप्रेस ट्रेनमा नेपाल र भारतका नागरिकले मात्र यात्रा गर्न पाउनेछन्। ट्रेनमा यात्रा गर्ने नेपाली तथा भारतीय यात्रसँग परिचय खुल्ने वैध परिचयपत्र हुनुपर्छ। साथै टिकटमा उल्लेखित परिचयपत्रको विवरण जयनगरमा देखाइने परिचत्रसँग मेल खानुपर्ने हुन्छ।

यस ट्रेनमा यात्रा गर्ने भारतीयका लागि राहदानी वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि मात्र आधारकार्ड मान्य हुने बताइएको छ। त्यस्तै नेपाली नागरिकका लागि नागरिकताको प्रमाणपत्र वा राहदानी मान्य हुनेछन्।

जयनगरमा तेस्रो मुलुकका राहदानी वाहकका लागि पूर्ण अध्यागमन कार्यालय नभएकाले सुरुवाती चरणमा यो रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न सक्ने बताइएको छ। यात्राका क्रममा यात्रुले सक्कल परिचयपत्र बोक्नुपर्ने हुन्छ।

कसरी लिने टिकट?

जनकपुरधामदेखि अयोध्यासम्म सञ्चालन हुने ‘सरयू-कमला’ एक्सप्रेस रेलको टिकट दुई तरिकाबाट काट्न मिल्ने व्यवस्था मिलाइँदै छ। नेपाल रेलवेका प्रबन्धक प्रवेश हमालले सोझै काउन्टर वा अनलाइन माध्यमबाट टिकट काट्न सकिने जानकारी दिए।

उनका अनुसार जनकपुरधामस्थित रेलवे काउन्टरबाट सोझै टिकट काट्ने व्यवस्था मिलाउन लागिएको छ। त्यस्तै भारतीय रेलवेको टिकट बुकिङसम्बन्धी वेबसाइट आईआरसीटीसी र भारतका रेलवे काउन्टरबाट टिकट उपलब्ध हुने उनले बताए।

यसबाहेक आधिकारिक एजेन्टममार्फत पनि यात्रुले टिकट काट्न सक्नेछन्। यात्रा गर्नुभन्दा ६० दिनअगाडि अनलाइनमार्फत टिकट काट्न सकिने बताइएको छ। टिकटको भाडादर भने निर्धारण भइसकेको छैन। प्रबन्धक हमालले एक दुई दिनभित्र भाडादर निर्धारण गरेर सार्वजनिक गर्ने तयारी रहेको बताए।

‘हामी छलफलमै छौँ। एक दुई दिनभित्र सबैथोक प्रस्ट हुन्छ,’ उनले हिमालप्रेससँग भने, ‘जनकपुर रेल्वे स्टेसनको काउन्टरबाटै टिकट काट्ने व्यवस्था मिलाएका छौँ। आधिकारिक एजेन्टहरूमार्फत पनि टिकट काट्न पाइहालिन्छ।’

यसै सातादेखि नियमित सञ्चालन गर्ने योजना रहे पनि टिकट बुकिङ, भाडालगायतका विषय टुंगिन नसक्दा सम्भव हुन नसकेको उनको भनाइ छ। यो साता भाडा, टिकट बुकिङलगायतका विषय टुंगिएर अर्को सातादेखि रेल सञ्चालनमा आउने हमालको भनाइ छ।

भाडा घोषणा भएपछि अन्य भारतीय एक्सप्रेस रेलमा जस्तै यसमा पनि आधारभूत भाडा, आरक्षण शुल्क, सुपरफास्ट शुल्क र जीएटी समावेश हुने बताइएको छ।

यो रेलमा टिकट ‘कन्फर्म’ भइसकेका यात्रुले मात्र यात्रा गर्न पाउनेछन्। भारतको अन्य रेल जस्तो यसमा ‘आरएसी’ र ‘वेटिङ’ जस्तो व्यवस्था छैन। त्यस्तै यो रेलमा तत्काल, प्रिमियम तत्काल वा भीआईपी कोटा उपलब्ध छैन। टिकट हराएको अवस्थामा प्रतिलिपि जारी नहुने बताइएको छ।

कस्तो हुनेछ कोच?

‘सरयू-कमला’ एक्सप्रेस आधुनिक ‘एलएचबी’ श्रेणीका १७ डिब्बा भएको रेलको रुपमा सञ्चालन हुनेछ। यसमा दुईवटा ‘एसी टु-टायर’ का डिब्बा हुनेछ।

त्यस्तै तीनवटा ‘एसी थ्री टायर’ र तीनवटा ‘एसी थ्री टायर इकोनोमी’ का डिब्बा हुनेछ। सातपटा स्लिपर क्लास, एउटा लगेज डिब्बा र एक पावर कार हुनेछ।

यो रेलमा साधारण (जनलर) डिब्बा र फस्ट एसी छैन। प्रत्येक यात्रुका लागि आरक्षित वर्थ (सिट) अनिवार्य छ। भारतीय रेलवेको एसी श्रेणीहरुमा ओढ्ने-ओछ्याउने सामग्री उपलब्ध गराइन्छ। तर स्लिपरमा भने यो सेवा उपलब्ध हुँदैन।

जनकपुर-अयोध्या रेलबारे जान्नैपर्ने ९ कुरा

प्रकाशित: ९ मंसिर २०८३ १६:१५ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast