विद्युत् चुहावट नियन्त्रणमा ‘लक्ष्यभन्दा बढी प्रगति’

हिमाल प्रेस ९ मंसिर २०८३ १६:०५ | Wednesday, November 25, 2026
विद्युत् चुहावट नियन्त्रणमा ‘लक्ष्यभन्दा बढी प्रगति’

काठमाडौँ– सरकारले विद्युत् चुहावट नियन्त्रणमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको दाबी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा झरेको छ।

सरकारले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको उक्त लक्ष्य ऊर्जा मन्त्रालयले पूरा गरेको हो। मन्त्रालयका अनुसार लक्ष्यभन्दा ०.०४ प्रतिशत बिन्दुले बढी चुहावट नियन्त्रण गरिएको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले चुहावट नियन्त्रणका लागि नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकता दिएका थिए। उनले दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि समग्र व्यवस्थापन चुस्त बनाउन आवश्यक निर्देशन र पहल गरेका थिए।

मन्त्री श्रेष्ठले प्राविधिक पक्ष र व्यवस्थापनमा सुधार गर्दै विद्युत् चुहावट थप न्यूनीकरण गर्ने काम भइरहेको बताए।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा लोड व्यवस्थापनका समस्याले चुहावट बढ्ने गरेको छ। प्राविधिक समस्या देखिनासाथ तत्काल सम्बोधन गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ।

ऊर्जा मन्त्रालयले विद्युत् नेटवर्कको स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक पक्षको सुधारलाई तीव्रता दिइएको जनाएको छ। चुहावट नियन्त्रणका लागि व्यवस्थापकीय र प्राविधिक सुधारलाई समेत प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयको दाबी छ।

अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत छ। नेपालको चुहावट दर भने त्यसको औसतभन्दा कम रहेको छ।

प्रकाशित: ९ मंसिर २०८३ १६:०५ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast