लगातार तीन दिन उकालो लाग्यो नेप्से परिसूचक

हिमाल प्रेस ९ मंसिर २०८३ १५:५३ | Wednesday, November 25, 2026
लगातार तीन दिन उकालो लाग्यो नेप्से परिसूचक सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि बढेको छ। बुधबार नेप्से ८.७० अंकले बढेर दुई हजार ६ सय ४७.६५ अंकमा बन्द भएको छ।

सुरुवाती कारोबारमा परिसूचक घटे पनि पछि सुधार हुँदै दिनभरकै उच्च दुई हजार ६ सय ५६.५७ अंकसम्म पुगेको थियो। कारोबार अघि बढ्दै गर्दा केही वृद्धि गुमाए पनि अन्ततः बजार हरियोमै बन्द भयो।

बुधबार बजारमा समग्र वृद्धि देखियो। एक सय ७० कम्पनीको सेयर मूल्य बढ्दा एक सय एक कम्पनीको घट्यो भने आठ कम्पनीको मूल्य स्थिर रह्यो। कुल ५२ हजार ६६९ कारोबारमार्फत एक करोड ६५ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

व्यक्तिगत कम्पनीतर्फ मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढेको छ। हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ८.६२ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड ५.९६ प्रतिशत बढेर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ३.३ प्रतिशत घटेको छ। लक्ष्मी भ्यालु फन्ड-२ को २.९८ प्रतिशत र ओम मेगा फर्मास्युटिकल्स लिमिटेडको २.९४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३४ करोड ७४ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कुमारी बैंक लिमिटेडको २२ करोड १९ लाख ५० हजार रुपैयाँ र ग्लोबल आईएमई बैंक लिमिटेडको १७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

१३ कारोबार समूहका उपसूचकमध्ये तीन समूहको परिसूचक घटेर बन्द भएको छ। उत्पादन तथा प्रशोधन समूहको उपसूचक सबैभन्दा धेरै ०.३६ प्रतिशत घटेको छ। विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै ०.९९ प्रतिशत बढेको छ। जलविद्युत् समूह ०.८८ प्रतिशत र जीवन बीमा समूह ०.५१ प्रतिशत बढेका छन्।

प्रकाशित: ९ मंसिर २०८३ १५:५३ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast