काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार लगातार दोस्रो कारोबार दिन घटेको छ। परिसूचक ९.६२ अंकले घटेर २ हजार ६०३.७१ विन्दुमा बन्द भएको हो।
कारोबार सुरु हुँदा परिसूचक केही बढे पनि त्यसपछि घट्न थालेको थियो। कारोबारका क्रममा २ हजार ५८८.९५ विन्दुसम्म झरेको परिसूचकले केही सुधार गरे पनि अन्ततः रातोमै बन्द भयो।
मंगलबार बजारमा १९९ कम्पनीको सेयर मूल्य घट्दा ६९ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। कुल ५१ हजार २७४ कारोबारबाट १ करोड १० लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ।
आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को मूल्य सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ। सयपत्री हाइड्रोपावर लिमिटेडको ६.७९ प्रतिशत र ७ प्रतिशत एसबीआई बैंक डिबेन्चर २०९० को ६.४२ प्रतिशतले बढेको छ।
यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फन्डको मूल्य सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ। आरबीबी म्युचुअल फन्ड–२ को ४.६७ प्रतिशत र मेगा म्युचुअल फन्ड–१ को ४.३९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको २२ करोड ९९ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भयो। शिवम् सिमेन्टको १७ करोड २५ लाख ७० हजार रुपैयाँ र सिद्धार्थ बैंक लिमिटेडको १६ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भयो।
मंगलबार दुईवटा उपसमूह सामान्य बढे भने बाँकी ११ उपसमूह घटेका छन्। ट्रेडिङ उपसमूह सर्वाधिक १.८७ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन उपसमूह ०.६५ प्रतिशत र लघुवित्त उपसमूह ०.५५ प्रतिशतले घटेका छन्।
अन्य उपसमूह ०.१२ प्रतिशत र निर्जीवन बिमा उपसमूह ०.११ प्रतिशतले सामान्य बढेका छन्।



