बाँदरले हैरान बनाउँदा मकै-कोदो खेतीमा कठिनाइ, अदुवातिर सोझिए किसान

हिमाल प्रेस २९ कार्तिक २०८३ ८:०८ | Sunday, November 15, 2026
बाँदरले हैरान बनाउँदा मकै-कोदो खेतीमा कठिनाइ, अदुवातिर सोझिए किसान फाइल तस्बिर

भोजपुर- भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्‍याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन्।

भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती गर्न थालेको बताइन्। जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित बाली रहेको उनको भनाइ छ। व्यावसायिक रूपमा खेती गर्नसके अदुवाबाट परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उनले बताइन्।

बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवाखेती तुलनात्मक रूपमा सहज हुने भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काको भनाइ छ। बाँदरको हैरानीका कारण खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवाखेती विकल्प बनेको उनले बताइन्।

अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेकी छन्। अदुवाखेतीको क्षेत्र अझ विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ। बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवाखेतीलाई प्राथमिकता दिएको पोखरेल बताउँछिन्। अदुवाखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि यसको उत्पादनमा लागेको उनको भनाइ छ ।

अदुवा स्थानीय बजारमा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको पोखरेलले बताइन्। अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा पनि खासै समस्या नरहेको उनको भनाइ छ। स्थानीय बजारमा राम्रो मूल्य पाउने र तथा धुलो बनाएर पनि बिक्री गर्न सकिने भएकाले नष्ट हुने सम्भावना कम रहेको पोखरेले बताइन्।

ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ। खेतबारीमा लगाएको धान, मकै, कोदोलगायतका बाली नष्ट गर्ने भएकाले बाँदर किसानको मुख्य समस्याका रूपमा देखिएको छ। स्थानीयस्तरमा अदुवाको बजार मूल्य राम्रो रहेकाले यसको व्यावसायिक खेती विस्तार गर्न सके किसानको आयआर्जन बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

प्रकाशित: २९ कार्तिक २०८३ ८:०८ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast