शिक्षक सेवा आयोग : अनलाइन फाराम भर्दा यी कुरामा दिनुहोस् ध्यान

हिमाल प्रेस १० मंसिर २०८३ १९:४७ | Thursday, November 26, 2026
शिक्षक सेवा आयोग : अनलाइन फाराम भर्दा यी कुरामा दिनुहोस् ध्यान

काठमाडौँ- शिक्षक सेवा आयोगले आयोगद्वारा सञ्चालन हुने अध्यापन अनुमतिपत्र तथा खुला शिक्षक पदपूर्तिसम्बन्धी परीक्षाका लागि अनलाइन फाराम भर्ने उम्मेदवारहरूलाई फाराम भर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

आयोगले एक सूचना जारी गर्दै अनलाइन फाराम भर्ने क्रममा उम्मेदवारहरूले प्रयोग गरेको मोबाइल नम्बर, इमेल ठेगाना तथा आवेदन आईडी  बिर्सने, नाम, ठेगाना, विषय, प्रतिस्पर्धा गर्न चाहेको जिल्ला तथा प्रदेशलगायतका विवरण गलत प्रविष्ट गर्ने समस्या बारम्बार दोहोरिने गरेको जनाएको छ।

यस्ता समस्याका कारण परीक्षार्थीहरूमा अन्योल र तनाव सिर्जना हुनुका साथै प्रवेशपत्र प्रिन्ट गर्ने तथा आगामी परीक्षाका लागि पुनः फाराम भर्ने क्रममा समेत कठिनाइ हुने गरेको आयोगले जनाएको छ। यस्ता समस्या समाधान गर्न आयोगको समय र जनशक्ति खर्चिनुपरेको तथा नियमित कार्यसम्पादनमा समेत असर परेको सूचनामा उल्लेख छ।

आयोगले सम्भव भएसम्म उम्मेदवारहरूलाई अनलाइन फाराम आफैँ भर्न आग्रह गरेको छ। फाराम भर्दा प्रयोग गरिएको मोबाइल नम्बर, आवेदन आईडी र इमेल ठेगाना सुरक्षित राख्न पनि आयोगले अनुरोध गरेको छ।

त्यस्तै, फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण पटकपटक जाँच गरी यकिन भएपछि मात्र सबमिट गर्न, सूचनामा तोकिएको समयभित्र अनलाइन वा बैंकमार्फत दस्तुर बुझाउन र दस्तुर बुझाएको भौचर सुरक्षित राख्न आयोगले सुझाव दिएको छ।

आफैँले फाराम नभरी अन्य व्यक्तिमार्फत फाराम भराएको अवस्थामा समेत फाराम भर्न प्रयोग गरिएको मोबाइल नम्बर, आवेदन आईडी तथा इमेल ठेगाना सम्बन्धित आवेदक आफैँले सुरक्षित राख्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

आयोगले अनलाइन फाराम भर्दा हुने सामान्य त्रुटिका कारण परीक्षासम्बन्धी प्रक्रियामा समस्या उत्पन्न हुन सक्ने भएकाले सबै आवेदकलाई सचेत र जिम्मेवार भएर फाराम भर्न आग्रह गरेको छ।

प्रकाशित: १० मंसिर २०८३ १९:४७ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast