नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण औपचारिक सहमति र घोषणामा मात्रै सीमित रहेन, दुई देशबीच नयाँ राजनीतिक परिस्थितिअनुसार सम्बन्धको तालमेल मिलाउने र एकअर्काको नेतृत्व, सोच तथा प्राथमिकता बुझ्ने महत्त्वपूर्ण अवसर पनि बन्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेनबीच नयाँदिल्लीमा गत सोमबार भएको लामो संवादले बदलिएको नेपाली राजनीतिक नेतृत्वसँग सहकार्य गर्न भारत इच्छुक रहेको र नेपालले पनि विकास तथा आर्थिक साझेदारीलाई केन्द्रमा राखेर सम्बन्ध अघि बढाउन खोजेको संकेत गरेको छ।
त्यसैले प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई औपचारिक सहमति, संयुक्त वक्तव्य र घोषणाका आधारमा मात्रै मूल्यांकन गर्दा यसको एउटा महत्त्वपूर्ण पक्ष छुट्छ। नयाँदिल्लीमा यसपटक हाम्रा युवा प्रधानमन्त्रीलाई बुझ्ने प्रयास भयो। प्रधानमन्त्री बालेनले पनि भारतको नेतृत्वले नेपाल र आफूलाई कसरी हेरिरहेको छ भन्ने बुझ्ने अवसर पाए।
भ्रमणको मूल महत्त्व दुई देशबीचको सम्बन्धलाई नयाँ परिस्थितिअनुसार अघि बढाउने प्रयासमा देखिन्छ। साथै यो भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार भएको देखिन्छ। ‘भारतले नेपालमा नयाँ सरकार बनेको केही हप्तामै आफ्नो देशमा स्वागत गरेर युवा पुस्ताको कुरा सुन्न खोजेको थियो,’ एक उच्च अधिकारीले भने, ‘त्यतिबेला भ्रमण सम्भव भएन। त्यसपछि भारत र नेपालबीच मन्त्रीस्तरमा लगातार भ्रमण भइरहे। अन्ततः भ्रमणको तालमेल मिल्यो र कसिलो अंकमाल पनि जुर्यो।’

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की भारत भ्रमणमा गइनन्। उनको सरकार निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारीमा केन्द्रित रहेकाले भ्रमण हुन नसकेको छिप्दैन। बाह्य सम्बन्धका दीर्घकालीन विषयमा राजनीतिक तहबाट व्यापक संवाद गर्ने परिस्थिति थिएन। त्यसपछि जेनजी आन्दोलनकै जगमा भएको निर्वाचनबाट करिब दुईतिहाइ जनमतसहित नयाँ सरकार बनेको छ। त्यसैले नयाँ प्रधानमन्त्रीको दिल्ली भ्रमण दुवै देशका लागि महत्त्वपूर्ण थियो।
भारतले नेपालको नयाँ राजनीतिक शक्तिको सोच, प्राथमिकता र विदेश नीतिको दिशा बुझ्न चाहेको थियो। बालेन शाहको भारतप्रतिको दृष्टिकोण कस्तो छ? उनको उमेर समूहले भारतलाई कसरी नियाल्छ? यी कुरा बुझ्नु भारतका लागि आवश्यक थियो। त्यसैगरी, नेपालको नयाँ नेतृत्वले पनि भारतसँग सहकार्य गरेर विकास अघि बढाउन सकिन्छ भन्ने बुझ्दै गएपछि मात्रै यो भ्रमण तय भएको हो।
भारतले राजदूत डा. निश्चलनाथ पाण्डेको नियुक्तिमा छिटो सहमति दिनु र तय भइसकेको अन्य देशको राजदूतको क्रेडेन्सियल प्रक्रियामा फेरबदल गरेर तीन दिनमै डा. पाण्डेलाई ओहोदाको प्रमाणपत्र बुझ्ने व्यवस्था गर्नुले पनि नयाँ सरकारप्रति भारतको उत्साह देखाउँछ। यही पक्षबाट नियाल्दा भारतले देखाएको सहकार्यको तत्परता स्पष्ट हुन्छ। प्रधानमन्त्रीले अन्तिम समयमा भ्रमण एक रातको बनाउन अनुरोध गरेपछि सबै तयारी पुनर्विचार गरेर एकदिने भ्रमणमा पनि राजकीय भ्रमणका सबै पक्ष पूरा गरिनुले युवा नेतृत्वको कार्यशैली बुझ्न भारतले चाहेको प्रष्ट देखिन्छ।
नेपाल-भारत सम्बन्धलाई कुन आधारमा अघि बढाउन चाहन्छन्? चीन, अमेरिका र क्षेत्रीय भूराजनीतिलाई कसरी हेर्छन्? आर्थिक साझेदारी र विकासमा उनको प्राथमिकता के हो? यी प्रश्नको उत्तर खोज्नु भारतका लागि स्वाभाविक थियो। सञ्चारमाध्यममा निर्माण भएको पश्चिमा भाष्यलाई भारतले कसरी नियाल्छ र विकासका क्षेत्रमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा वर्तमान प्रधानमन्त्रीको जोड थियो।
बालेनका लागि पनि भारतलाई बुझ्नु उत्तिकै आवश्यक थियो। नयाँ जनमत र नयाँ राजनीतिक शक्तिको नेतृत्व गर्दै भारत पुग्दा उनलाई त्यहाँ कसरी ग्रहण गरिन्छ? मोदीले उनीप्रति कस्तो धारणा बनाएका छन्? नेपालका नयाँ प्रधानमन्त्रीसँग भारतको अपेक्षा के छ? भविष्यमा दुई देशबीचको सम्बन्ध सञ्चालन गर्दा कुन विषयमा सहजता र कुनमा चुनौती आउन सक्छ? यी कुरा बुझ्ने अवसर भ्रमणले प्रदान गर्यो।
त्यसैले यस भ्रमणलाई औपचारिक भेटघाटभन्दा पनि एकअर्काको राजनीतिक नाडी छाम्ने, बुझ्ने र आगामी सम्बन्धको ट्युनिङ मिलाउने अवसरका रूपमा हेर्नुपर्छ। किनभने दुई प्रधानमन्त्रीबीच भएको झन्डै एक घण्टा ४५ मिनेटको एकान्त संवाद यस सन्दर्भमा अर्थपूर्ण छ। कूटनीतिमा यति लामो समयको ‘वान अन वान’ अर्थात् एकान्त भेटघाट सामान्य औपचारिकता होइन।
यसले दुई नेताबीच पर्याप्त संवाद भएको र एकअर्काको विचार बुझ्न समय दिइएको संकेत गर्छ। छलफल कति आत्मीय थियो, त्यसमा कति खुलापन थियो र कति विषयमा सहमति बन्यो भन्ने कुरा आगामी दिनका नीतिगत निर्णयबाट देखिनेछ। तर संवादका लागि समय दिनु आफैँमा सकारात्मक थालनी हो।
भ्रमणका अनौपचारिक दृश्य पनि कम अर्थपूर्ण थिएनन्। प्रतिनिधिमण्डलहरू संयुक्त सम्बोधनका लागि पत्रकारसामु उपस्थित भइसकेपछि पनि दुई प्रधानमन्त्रीबीच करिब ५० मिनेट संवाद जारी रहनु सामान्य मान्न सकिँदैन। दुवै पक्षका उच्च अधिकारीलाई पालैपालो भित्र बोलाइनु र औपचारिक कार्यक्रमको समय केही लम्बिनुले नेतृत्व तहमा एकअर्कालाई बुझ्ने प्रयास भइरहेको संकेत गर्थ्यो।
कूटनीतिक भेटघाटका हरेक दृश्यको अर्थ खोज्नु उचित नहोला, तर यस्ता व्यवहारले संवादको वातावरण र प्राथमिकता बुझ्न मद्दत गर्छन्। हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनको सुरुमै मोदीले बालेन शाहको प्रशंसा गर्नु सामान्य थिएन। राष्ट्रसङ्घमा बालेनले गरेको सम्बोधन र त्यसमा प्रस्तुत दृष्टिकोणको प्रशंसा गर्दै मोदीले नेपालका प्रधानमन्त्रीप्रति सकारात्मक सन्देश दिए। यसले भारतले नेपालको नयाँ नेतृत्वलाई राजनीतिक परिवर्तनको परिणामका रूपमा मात्रै नभई आफ्नै दृष्टिकोण र सम्भावना भएको नेतृत्वका रूपमा बुझ्न खोजेको संकेत गर्छ।
७६ वर्षका मोदी र ३६ वर्षका बालेनबीचको उमेर अन्तरले पनि भेटघाटलाई रोचक बनाएको थियो। एक दशकअघि मोदी प्रधानमन्त्री हुँदा बालेन युवा इन्जिनियरका रूपमा आफ्नो करिअरमा थिए। अहिले उनी मोदीका समकक्षी बनेर दिल्ली पुगे। मोदीले उनीसँग अंकमाल मात्रै गरेनन्, लामो समय संवाद पनि गरे। मन्त्रीहरूले फुकाउन नसकेको गाँठो उनले फुकाएर नेतृत्वको भूमिका देखाए। यो नेपालको राजनीतिक पुस्तान्तरण र कूटनीतिक शैली परिवर्तनको संकेत हो।
दिल्लीमा बालेनप्रतिको चासो पनि देखिन्थ्यो। विमानस्थल, होटल र भेटिएका सर्वसाधारणमाझ उनको नामप्रतिको उत्सुकता अनुभव गर्न सकिन्थ्यो। सार्वजनिक चासोको यो पक्ष औपचारिक कूटनीतिक कार्यक्रमभन्दा बाहिरको भए पनि नयाँ नेपाली नेतृत्वप्रति भारतमा रहेको ध्यान बुझ्न उपयोगी थियो। नेपालका प्रधानमन्त्रीको भ्रमणलाई भारतीय नागरिकले समेत चासोका साथ हेर्नु दुई देशबीचको जनस्तरको सम्बन्धका लागि अर्को सकारात्मक संकेत हो।

नेपाल-भारत सम्बन्धलाई ‘रिसेट’ गर्ने वा नयाँ ढंगले अघि बढाउने बहस यसअघि पनि हुँदै आएको छ। तर सम्बन्ध रिसेट गर्नु भनेको पुराना विषय मेटाउनु होइन। विगतका विवाद र असमझदारीलाई नयाँ ढंगले सम्बोधन गर्दै भविष्यका साझा हितमा अघि बढ्नु हो। बालेनको भ्रमणमा देखिएको आर्थिक साझेदारी, विकास, जनसम्बन्ध र नयाँ सहकार्यप्रतिको जोडले यही दिशाको संकेत गर्छ। परराष्ट्रमन्त्री शिशिर खनालले यसअघि भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धमा विगतका बोझ बोकेर अघि बढ्न नचाहेको अभिव्यक्ति दिएका थिए। उनको भनाइको अर्थ नेपालले आफ्ना राष्ट्रिय हित र विवादित विषय त्याग्ने होइन, सम्बन्धलाई विगतका असमझदारीमै सीमित नराख्ने हो भन्ने बुझ्न सकिन्छ।
विकास कूटनीति र आर्थिक समृद्धिलाई प्राथमिकता दिने नयाँ सरकारको सोच यस भ्रमणमा पनि देखिएको छ। नेपाल र भारतबीच विवादित विषय छन्। सीमा, कालापानी, लिपुलेक, सुस्ता, १९५० को सन्धि र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनजस्ता विषय नेपालको राजनीतिक र कूटनीतिक विमर्शमा निरन्तर उठ्दै आएका छन्। यी विषयलाई बिर्सन सकिँदैन। तर प्रत्येक उच्चस्तरीय भ्रमणमा सबै विवाद एकैपटक उठाएर सम्बन्धलाई तनावपूर्ण बनाउनु पनि बुद्धिमानी होइन।
कूटनीतिमा समय, परिस्थिति, प्राथमिकता र संवादको शैली महत्त्वपूर्ण हुन्छ। कुनै विषय कहिले, कसरी र कुन तहमा उठाउने भन्ने निर्णय पनि रणनीतिकै हिस्सा हो। बालेनले यसपटक विवादित विषयलाई प्राथमिकतामा नराखी आर्थिक सहकार्य र विकासका मुद्दामा जोड दिएको देखिन्छ। यसलाई पुराना मुद्दाबाट पछि हटेको भन्दा पनि सम्बन्धको वातावरण बनाउँदै भविष्यमा ती मुद्दा समाधान गर्न सक्ने आधार तयार पार्ने प्रयासका रूपमा बुझ्नुपर्ने देखिन्छ।
यसको अर्को पक्ष पनि छ। नेपालले आफ्ना राष्ट्रिय मुद्दा छोडेको छैन भन्ने सन्देश भारतलाई स्पष्ट रूपमा दिनु आवश्यक हुन्छ। सम्बन्ध सहज बनाउनु र राष्ट्रिय अडान कमजोर बनाउनु एउटै कुरा होइन। नेपालका स्थायी मुद्दा सरकार परिवर्तनसँगै बदलिँदैनन् भन्ने कुरा कूटनीतिक तहमा निरन्तर स्थापित हुनुपर्छ। यस भ्रमणमा ती विषयको सार्वजनिक चर्चा कम भए पनि आगामी संवादमा तिनलाई गम्भीरतापूर्वक अघि बढाउने जिम्मेवारी सरकारकै हो।
नेपालमा विदेश सम्बन्धलाई प्रायः घरेलु राजनीतिको भावनात्मक चस्माबाट हेर्ने प्रवृत्ति छ। कुनै नेताले भारतसँग कुरा गर्दा कति कडा बोले, कुन मुद्दा उठाए र कुन विषयमा मौन रहे भन्ने आधारमा तत्काल लोकप्रियता वा आलोचना निर्माण गरिन्छ। तर अन्तर्राष्ट्रिय सम्बन्ध घरेलु राजनीतिभन्दा भिन्न हुन्छ। त्यहाँ भावनाले मात्रै होइन, राष्ट्रिय हित, शक्ति सन्तुलन, व्यावहारिकता र दीर्घकालीन रणनीतिले निर्णय गर्नुपर्ने हुन्छ।
बालेन मेयर हुँदा ग्रेटर नेपालको नक्सासहितको प्रस्तुति र भारतप्रति आलोचनात्मक अभिव्यक्ति चर्चामा आएका थिए। त्यसलाई त्यतिबेलाको राजनीतिक तथा सार्वजनिक मनोविज्ञानसँग जोडेर हेर्न सकिन्छ। प्रधानमन्त्रीका रूपमा भारतसँग संवाद गर्दा उनले देखाएको शैली भने भिन्न छ। यो परिवर्तनलाई राजनीतिक परिपक्वताको संकेतका रूपमा लिन सकिन्छ।
किनभने लोकप्रियताका लागि व्यक्त गरिने अभिव्यक्ति र राज्यको जिम्मेवारीमा बसेर गरिने कूटनीति एउटै हुँदैन। नेपालको हितका लागि भारतसँग संवाद गर्नुपर्छ, असहमति भए स्पष्ट रूपमा राख्नुपर्छ र सहकार्यका सम्भावना भए अघि बढाउनुपर्छ। कूटनीतिमा मित्रता र असहमति दुवैलाई व्यवस्थापन गर्न सक्नु नेतृत्वको क्षमता हो।
हवाईमार्ग र भूराजनीति
भ्रमणका क्रममा भैरहवाका लागि थप हवाई प्रवेशमार्ग र दुईतर्फी सञ्चालनको सम्भावनाबारे संयुक्त वक्तव्यमा उल्लेख हुनु एक प्रकारको ब्रेकथ्रु हो। यसलाई सबैले सकारात्मक रूपमा लिएका छन्। नेपालले लामो समयदेखि थप हवाई प्रवेशमार्गको माग गर्दै आएको छ। यसले अन्तर्राष्ट्रिय उडानको समय र इन्धन खर्च घटाउनुका साथै विमानस्थलको व्यावसायिक सम्भावना बढाउन सक्छ। यद्यपि, प्राविधिक अध्ययन र कार्यान्वयनपछि मात्रै यसबाट पूर्ण उपलब्धि हासिल भएको निष्कर्षमा पुग्न सकिनेछ।
नेपालले महाकाली प्रवेश बिन्दुको माग गर्दै आए पनि भारतले बागडुग्रा क्षेत्रसँग जोडिएको अर्को प्रस्ताव अघि सारेको छ। यस विषयलाई धेरैले भूराजनीतिसँग जोडेर व्याख्या गरे पनि भारतले भने उक्त मार्ग प्रयोगमा रहेको जनाएको छ। बागडुग्रा भारतको ‘चिकेन नेक’ सँग जोडिएको सामरिक रूपमा संवेदनशील क्षेत्र हो। चीनसँगको प्रतिस्पर्धा तथा बंगलादेश र उत्तरपूर्वी भारतसँगको सम्पर्कका दृष्टिले यो क्षेत्र भारतका लागि महत्त्वपूर्ण छ। त्यसैले यस क्षेत्रसँग जोडिएको कुनै पनि प्रस्ताव अघि बढाउँदा नेपालले पनि भारतको सामरिक संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने देखिन्छ।
हवाई प्रवेशमार्गको विषय प्राविधिक सहमतिबाट टुङ्गिनुपर्ने भए पनि त्यससँग जोडिएका सुरक्षा र रणनीतिक पक्षको समेत अध्ययन गरेर निष्कर्षमा पुग्न सके यो प्रक्रिया थप परिपक्व हुनेछ। नेपालको भौगोलिक र भूराजनीतिक अवस्थाका कारण कुनै पनि निर्णय संवेदनशील बन्ने विषय मन्त्रीहरूबीचको अनौपचारिक कुराकानीमा समेत उठेको थियो। भारतको प्रस्तावलाई सकारात्मक रूपमा छलफलमा राख्नु र नेपालको राष्ट्रिय हितअनुसार त्यसको अध्ययन गर्नु दुवै आवश्यक छन्। यस विषयमा सरकार सचेत रहेको पनि देखिन्छ।
यस विषयमा नेपालले तत्काल निर्णय नगर्नु कमजोरी होइन। संवेदनशील विषयमा पर्याप्त अध्ययन, आन्तरिक परामर्श र आवश्यक परे विज्ञहरूसँग थप छलफल गरेर निर्णय गर्नु परिपक्व कूटनीतिक अभ्यास हो। यस विषयमा भारतले पनि ठूलो दबाब नदिएको र प्रस्तावित मार्गबाट आफ्ना विमानले समेत सहज रूपमा उडान गर्न पाउने धारणा राखेको देखिन्छ। यस्ता विषयमा पनि बालेनले प्रतिनिधिमण्डलस्तरको छलफलभन्दा मोदीसँगको प्रत्यक्ष संवादबाट समाधान खोज्न चाहेको देखिन्छ। उनले प्रतिनिधिमण्डलस्तरमा करिब १५ मिनेट मात्रै छलफल गरेका थिए। त्यसबाहेकका सबै कुराकानी दुई प्रधानमन्त्रीबीच भएको बताइएको छ।
बन्दरगाह थपिए, उपयोगिता कति?
भारतले नेपाललाई पारादीप र दीनदयाल बन्दरगाह प्रयोग गर्न सुविधा दिने निर्णय पनि भ्रमणको एउटा महत्त्वपूर्ण पक्ष हो। भूपरिवेष्टित देशका लागि समुद्री बन्दरगाहसम्मको पहुँच महत्त्वपूर्ण हुन्छ। बन्दरगाहको विकल्प थपिनु व्यापार र पारवहनका दृष्टिले सकारात्मक हो।
तर बन्दरगाहको सङ्ख्या बढ्दैमा व्यापारिक लाभ स्वतः बढ्दैन। त्यसको उपयोगिता, दूरी, ढुवानी लागत, रेल तथा सडक सम्पर्क, भन्सार प्रक्रिया र नेपाली व्यवसायीले पाउने सुविधाजस्ता पक्ष महत्त्वपूर्ण हुन्छन्। नेपालले यसअघि भारतको विशाखापटनम बन्दरगाहसमेत पूर्ण रूपमा उपयोग गर्न नसकेको अवस्था छ। तर त्यसो भन्दैमा अन्य विकल्पको खोजी नै नगर्ने भन्ने हुँदैन।

नेपालले कुन बन्दरगाह आर्थिक दृष्टिले बढी उपयुक्त हुन्छ, कुन मार्गबाट आयात-निर्यात सस्तो र सहज हुन्छ तथा व्यवसायीले कुन सुविधा प्रभावकारी रूपमा उपयोग गर्न सक्छन् भन्ने विषयमा अध्ययन गर्नुपर्छ। भारतले सुविधा उपलब्ध गराउनुअघि नै यसबारे परामर्श र अध्ययन गरेको विश्वास व्यक्त गरेको छ।
अब पारवहनका क्रममा कन्टेनर ढुवानीका लागि नेपाली गाडीसमेत भारत जान पाउने व्यवस्था गर्न र त्यसलाई सहजीकरण गर्न भारत थप उदार भए यो ठूलो उपलब्धि हुनेछ। किनभने कुनै पनि सहमतिको वास्तविक उपलब्धि त्यसलाई व्यवहारमा उपयोग गरेर आर्थिक लाभ लिन सक्नुमा निर्भर हुन्छ।
ऊर्जा सहकार्य
ऊर्जा सहकार्यका विषयमा नेपालले राजनीतिक तहमा थप स्पष्ट संवाद गर्नुपर्ने देखिन्छ। भारतले तेस्रो देशको लगानी वा निर्माण संलग्नता भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिदमा लगाएको सीमाले नेपालको ऊर्जा विकासमा चुनौती सिर्जना गर्न सक्छ।
नेपालले आफ्नै लगानी, अन्तर्राष्ट्रिय लगानी र विभिन्न साझेदारको सहभागितामा विद्युत् उत्पादन गरिरहेको अवस्थामा उत्पादित विद्युत्को बजार सुनिश्चितता महत्त्वपूर्ण हुन्छ। यस विषयमा नेपालले भारतसमक्ष आफ्नो धारणा स्पष्ट रूपमा राख्न सक्नुपर्छ। त्यस्ता आयोजनाबाट विद्युत् खरिद गर्दा दुवै देशलाई हुने फाइदा र त्यसबाट प्राप्त हुने सहजताबारे भारतीय अधिकारीलाई स्पष्ट रूपमा बुझाउन सके सहकार्य थप सहज हुन सक्छ। भारत आफैँ पनि नेपालको जलविद्युत् क्षेत्रमा ठूलो लगानीकर्ता हो।
भारत नेपालको प्रमुख विद्युत् बजार हो। त्यसैले ऊर्जा व्यापारलाई राजनीतिक सम्बन्ध वा लगानीको स्रोतका आधारमा सीमित नगरी दुवै देशको आर्थिक हितअनुकूल सहज बनाउने विषयमा थप पहल आवश्यक छ। नेपालले ऊर्जा क्षेत्रमा भारतसँग सहकार्य विस्तार गर्दा लगानीको विविधता, उत्पादनको सुरक्षा र बजारको सुनिश्चिततालाई समेत ध्यान दिनुपर्छ।
क्रिकेट कूटनीति र युवा सम्बन्ध
क्रिकेट सहकार्य भने भ्रमणको रोचक र जनस्तरमा प्रभाव पार्न सक्ने पक्ष बनेको छ। बालेनले क्रिकेटलाई प्राथमिकताका साथ उठाउनु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग यस विषयमा छलफल गर्नुलाई खेलकुदमार्फत कूटनीतिक सम्बन्धको नयाँ आयाम विस्तार गर्ने प्रयासका रूपमा लिन सकिन्छ।
भारतसँग क्रिकेट पूर्वाधार विकास, खेलाडी प्रशिक्षण, मैत्रीपूर्ण प्रतियोगिता र प्राविधिक सहकार्यका प्रशस्त सम्भावना छन्। नेपालमा युवा पुस्तामाझ क्रिकेटको लोकप्रियता बढ्दो छ। भारतसँगको सहकार्यले खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र दुई देशका युवाबीच सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउन सक्छ।
प्रधानमन्त्रीले नेपालमा क्रिकेट मैदान विकास गर्ने योजना अघि सारेको सन्दर्भमा भारतसँग ठोस परियोजना वा दीर्घकालीन सहकार्यको प्रस्ताव अघि बढाउन सके भ्रमणका उपलब्धि थप मूर्त हुनेछन्। खेलकुदका विषयमा राजनीतिक तहबाट सकारात्मक इच्छाशक्ति देखिएपछि प्रशासनिक संयन्त्रले पनि सोही गतिमा काम गर्न सके दुईपक्षीय सम्बन्ध थप प्रभावकारी ढंगले अघि बढ्न सक्छ।
शिक्षा र युवा सम्बन्धमा पनि नयाँ सम्भावना देखिन्छ। भारतीय विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्ने, भारतीय शैक्षिक संस्थासँग सहकार्य गर्ने र प्राविधिक शिक्षाका अवसर विस्तार गर्ने विषयले परम्परागत सम्बन्धलाई नयाँ पुस्तासँग जोड्न सक्छ। प्रधानमन्त्रीको भ्रमणमा युवालाई केन्द्रमा राखिएको सन्देश यस अर्थमा सकारात्मक देखिन्छ।
धार्मिक पर्यटन र जनसम्बन्ध
धार्मिक पर्यटनलाई पनि नयाँ ढंगले प्रस्तुत गरिएको छ। पशुपति, लुम्बिनी, जनकपुर र मुक्तिनाथजस्ता स्थापित धार्मिक गन्तव्यसँगै मच्छिन्द्रनाथ र कुमारी परम्पराको उल्लेखले नेपालको सांस्कृतिक विविधतालाई भारतसँगको जनस्तरको सम्बन्धसँग जोड्ने प्रयास भएको छ। यसलाई धार्मिक पर्यटनका रूपमा थप विस्तार गर्न आवश्यक छ।
धार्मिक पर्यटन आर्थिक अवसर मात्रै होइन, दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने माध्यम पनि हो। जनकपुर-अयोध्या रेल सम्पर्कको उद्घाटनले धार्मिक तथा सांस्कृतिक यात्रालाई थप सहज बनाउने अपेक्षा गर्न सकिन्छ। यस्ता सम्पर्कले सीमापारका नागरिकबीचको सम्बन्धलाई औपचारिक कूटनीतिभन्दा पनि आत्मीय बनाउँछन्।
भारतसँगको धार्मिक आत्मीयतामा दक्षिण भारतलाई समेत जोड्न सके नेपाल त्यहाँका नागरिकमाझ थप परिचित पर्यटकीय गन्तव्य बन्न सक्छ। दक्षिण भारतीय पर्यटकलाई नेपालमा सवारीसाधनको सुरक्षा जाँचलगायतका प्रक्रियामा हुने झन्झट कम गर्न सके पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्नेछ। नेपालमा पर्यटक भन्नाले गोरो छाला भएका विदेशीलाई मात्रै बुझ्ने प्रवृत्तिले पनि समस्या सिर्जना गरेको देखिन्छ। यद्यपि, दक्षिण भारतका धार्मिक समुदायलाई नेपालसँग जोड्ने प्रयासमा मोदीको अभिव्यक्तिले नै महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ।
विपद् पुनर्निर्माण र आर्थिक सहयोग
भोटेकोशी क्षेत्रको विपद् पुनर्निर्माणका लागि भारतले घोषणा गरेको सहयोग महत्त्वपूर्ण छ। तर सहयोगको रकम, अनुदान र ऋणको अनुपात, कार्यान्वयनका सर्त तथा निर्माण प्रक्रियालाई स्पष्ट रूपमा अघि बढाउन आवश्यक छ। विगतमा घोषणा गरिएका सहयोग कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएका उदाहरण पनि छन्। त्यसैले यसपटक घोषणा गरिएको सहयोग वास्तविक परियोजनामा रूपान्तरण हुनुपर्छ।
दुई खर्ब ४४ अर्ब रुपैयाँ आफैँमा ठूलो रकम हो। यति ठूलो सहयोग एकैपटक घोषणा गरिएको पनि पहिलो पटक हो। अनुदानबाहेक ऋण सहयोगमा विभिन्न सर्त रहने भएकाले तिनबारे छलफल गरी टुङ्गोमा पुग्नुपर्ने देखिन्छ।

निर्माण सामग्री, ठेकेदार छनोट, खरिद प्रक्रिया र ऋणका सर्तले कार्यान्वयनमा प्रभाव पार्न सक्छन्। नेपालले सहयोगलाई प्रभावकारी रूपमा उपयोग गर्ने तयारी गर्नुपर्छ र आफ्नो आवश्यकता तथा प्राथमिकता भारतसमक्ष स्पष्ट रूपमा राख्न सक्नुपर्छ। भारतले पनि सहयोगलाई सहज, समयबद्ध र नेपालको आवश्यकताअनुकूल बनाउन लचकता देखाउनु आवश्यक छ।
जलवायु सहकार्य
एउटा महत्त्वपूर्ण पक्ष भने अपेक्षाकृत कम प्राथमिकतामा परेको देखियो। जलवायु परिवर्तन, हिमालय क्षेत्रका विपद् र सीमा जोडिएका नदी प्रणालीमा सहकार्यका विषयलाई भारतसँग अझ स्पष्ट रूपमा अघि बढाउन सकिन्थ्यो। तर यस विषयमा नेपालले खासै चासो देखाएन वा भ्रमणमा यो विषय ओझेलमा पर्यो।
भारतीय समकक्षी मोदीले बालेनले संयुक्त राष्ट्रसङ्घमा हिमालय क्षेत्रमा जलवायु संकट र विपद्का विषय उठाएको प्रसंग आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए। नेपाल र भारत दुवै जलवायु परिवर्तन, हिमताल, बाढी, पहिरो र नदी प्रणालीबाट प्रभावित छन्। यस क्षेत्रमा पूर्वसूचना प्रणाली, तथ्यांक आदानप्रदान, विपद् व्यवस्थापन र संयुक्त अध्ययनको संयन्त्र निर्माण गर्न सके दीर्घकालीन महत्त्वको सहकार्य हुन सक्छ।
यो विषय भ्रमणको एजेन्डामा अझ स्पष्ट रूपमा समेटिएको भए नयाँ सरकारको जलवायु कूटनीतिक दृष्टिकोण पनि प्रभावकारी ढंगले प्रस्तुत हुने थियो। हिमालय क्षेत्रको संकट कुनै एक देशको समस्या होइन, यसको असर सीमापारसम्म फैलिन्छ। नेपालले भारतसँग यस विषयमा संस्थागत सहकार्यको प्रस्ताव अघि बढाउनु रणनीतिक रूपमा महत्त्वपूर्ण हुनेछ।
अन्त्यमा
समग्रमा प्रधानमन्त्री बालेनको भारत भ्रमणले तत्काल सबै विवाद समाधान गरेको छैन, न त सबै अपेक्षा पूरा गरेको छ। तर दुई देशबीच नयाँ राजनीतिक परिस्थिति बनेपछि संवादको वातावरण तयार पार्नु, नेतृत्वबीच विश्वास निर्माण गर्नु र आर्थिक सहकार्यको सम्भावना विस्तार गर्नु आफैँमा महत्त्वपूर्ण उपलब्धि हो।
नेपालले भारतसँग सम्बन्ध सुधार गर्दा आफ्नो राष्ट्रिय हित र अडान कमजोर पारेको छैन। भारतले पनि नेपाललाई असल छिमेकका रूपमा व्यवहार गर्दै सहयोग गरेको देखिन्छ। नेपालको नयाँ राजनीतिक जनमत र स्वतन्त्र निर्णय क्षमतालाई भारतले सम्मान गरेको संकेत पनि यस भ्रमणले दिएको छ।
सम्बन्ध बराबरीको सम्मान, पारस्परिक विश्वास र साझा आर्थिक हितमा आधारित भए मात्रै दीर्घकालीन रूपमा बलियो हुन्छ। यही बुझाइका साथ भारत नेपाललाई असल छिमेकका रूपमा हेर्न चाहेको देखिन्छ। भारतलाई तत्कालीन बिहार र चाँदनीचोकको अवस्थाबाट मात्रै नियालेर हुँदैन। गुरुग्राम र एरोसिटीमा विश्वका विभिन्न कम्पनीको उपस्थिति तथा भारतले आकर्षित गरेको लगानी हेर्नुपर्छ।
भारतले नेपाललाई बेवास्ता गर्न चाहेको भए बालेन सरकार गठन भएदेखि नै प्रधानमन्त्रीको भारत भ्रमणका लागि किन पहल गरिरहेको थियो भन्ने प्रश्न पनि उठाउन सकिन्छ। नेपालमा नयाँ नेतृत्व आएको छ, त्यो पनि चार वर्षअघि मात्रै राजनीतिक यात्रामा प्रवेश गरेको युवा नेतृत्व। यस हिसाबले नेपालको नयाँ नेतृत्वलाई बुझ्न र त्यसअनुरूप सहकार्य अघि बढाउन भारतले जोड दिएको कुरा स्पष्ट देखिन्छ।
बालेनले भारत भ्रमणमा जति ढिलाइ गरेका भए, भारतको राजनीतिक नेतृत्व पनि त्यति नै दबाबमा रहने थियो। त्यसैले यो भ्रमणले मोदीलाई पनि राहत दिएको हुन सक्छ। बालेनलाई छिमेकसँग निहुँ खोजेर होइन सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएको देखिन्छ।
दिल्लीमा यसपटक बालेन र मोदीबीच भएको संवादले कम्तीमा एउटा सकारात्मक संकेत दिएको छ- दुवै नेतृत्व एकअर्कालाई बुझ्न र सम्बन्धलाई नयाँ परिस्थितिअनुसार अघि बढाउन इच्छुक देखिएका छन्। अझ रोचक पक्ष के छ भने भ्रमणबाट फर्केपछि बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै ‘निक्कै मेहनती मान्छेहरू र देश उँभो लगाउने टोली’ भनेर लेखेका छन्। तर यही टोलीका दुई मन्त्रीले मोदीसँगको छलफलमा १५ मिनेट पनि समय पाउन सकेनन्। बालेनले भने एक्लै संवाद गरेर विषय टुंग्याएको देखिन्छ। यसले भ्रमणमा प्रधानमन्त्रीको व्यक्तिगत पहलकदमी र संवादको भूमिका कति महत्त्वपूर्ण रह्यो भन्ने प्रश्न पनि उठाउँछ।
दसबुँदे दृष्टान्तपत्र र त्यसले परिभाषित गर्न खोजेको सम्बन्धको आयामले पनि नेपाल-भारत सम्बन्ध नयाँ दिशामा अघि बढ्न खोजेको संकेत गर्छ। यही कारणले उनले भिन्न शैलीमा उक्त कुरा लेखेको हुन सक्ने भन्दै केही अधिकारीले ठट्टासमेत गरेका छन्। भ्रमणको वास्तविक सफलतामा मन्त्री वा भ्रमण टोलीको भूमिका हुँदैन भन्ने होइन, तर नेतृत्वले गर्ने संवाद, बहस र पहलकदमी निर्णायक महत्त्वका हुन्छन्। यसमा बालेन चुकेनन्।
बालेनले नेपाली सेनाको सलामी नलिएर भारतमा भारतीय सेनाको सलामी लिँदा त्यसको कूटनीतिक अर्थ फरक लागेको विषय पनि गम्भीर छ। यसले नेपालको आफ्नै संयन्त्र र परम्परालाई उपेक्षा गरिएको हो? हाम्रा मूल्य र मान्यताको अब कुनै महत्त्व छैन? भन्ने प्रश्न पनि उठाएको छ।
समग्रमा उनको सक्रियता साँच्चै देश निर्माणमा जुट्ने नेताका रूपमा स्थापित हुने दिशामा अघि बढेको देखिन्छ। यसका लागि उनले सही सारथी छनोट गर्न चुक्नु हुँदैन। सल्लाहकारले साँच्चै निःस्वार्थ सुझाव दिने हुनुपर्छ। जहाँ स्वार्थ जोडिन्छ, त्यहाँ काम अड्किन्छ।
भारतले पनि पत्रकार सम्मेलन गरेर पुराना विषय अब सकिएको र सम्बन्ध नयाँ सिराबाट अघि बढ्ने वक्तव्य दिनुभन्दा केही विषयमा संवेदनशीलता देखाउन तथा नेपालभित्रको आन्तरिक राजनीतिक अवस्थालाई समेत ध्यान दिन आवश्यक थियो। यस्ता साना-साना विषयलाई बुझेर दुवै देश अघि बढे विकास र सहकार्यको गति समात्न धेरै समय लाग्ने देखिँदैन।




