प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

हिमाल प्रेस ७ मंसिर २०८३ २१:४७ | Monday, November 23, 2026
प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको बताएका छन्।

मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण निर्माण गरेको उल्लेख गरे।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा गरेको राजकीय भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा आर्थिक सहकार्य र जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा महत्त्वपूर्ण सहमति भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए।

भ्रमणका अवसरमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘विकसित भारत-समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गरेका छन्। उक्त दस्तावेजले आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा सहकार्य, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलगायत क्षेत्रमा सहकार्य अघि बढाउने आधार तयार गरेको छ।

मन्त्री खनालका अनुसार दस्तावेजले नेपाल-भारत सम्बन्धलाई समयानुकूल बनाउन पुराना सन्धि, सम्झौता र सहमतिहरूको पुनरावलोकन तथा आवश्यकताअनुसार परिमार्जन गर्ने बाटोसमेत खुला गरेको छ। सन् १९५० को सन्धिलगायत पुराना सन्धिहरूको पुनरावलोकनका विषयमा पनि यसले नयाँ सम्भावना सिर्जना गरेको उनले बताए।

भ्रमणका क्रममा नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त गुजरातको दीनदयाल (कान्डला) र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच प्रदान गर्ने सहमति भएको छ। यसबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन व्यवस्थामा थप सहजता आउने अपेक्षा गरिएको छ।

जनकपुर-अयोध्याबीच यात्रुवाहक रेलसेवाको दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेका छन्। यसले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

हवाई सम्पर्क विस्तारका लागि हाल एकतर्फी सञ्चालनमा रहेको बी-३४५ काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ। सीमापार पूर्वाधार विकासका क्रममा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको छ भने बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास भएको छ। यी पूर्वाधारले सीमापार आवागमन, व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

ऊर्जा सहकार्यतर्फ इनरुवा-न्यू पूर्णिया र दोधारा-बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको मन्त्री खनाले जानकारी दिए। यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गरिएको छ।

भारतको सहयोगमा निर्माण भएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ भने झापा-सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ। यसबाट नेपालको ऊर्जा आपूर्ति तथा सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ।

मन्त्री खनालले भने, ‘लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम रूप दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने सहमति पनि भएको छ।’

नेपालमा भारतीय प्रविधि संस्थान (र्र्आईआईटी) को सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने निर्णयसमेत भ्रमणका क्रममा भएको छ। यसले उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

भ्रमणका अवसरमा विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। तीमध्ये फरेन्सिक विज्ञान तथा अनुसन्धान, सुरक्षा तथा प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया भूउपग्रहको उपयोग, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालन विकाससम्बन्धी समझदारी रहेका छन्।

यसैगरी नेपाल-भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भको मर्मतसम्भारमा भएको प्रगतिलाई ध्यानमा राख्दै विद्यमान सीमासम्बन्धी विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच भएका छलफल र सहमतिलाई समेटेर संयुक्त प्रेस विज्ञप्तिसमेत जारी गरिएको छ। नेपाल र भारतका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको सहभागितामा आयोजित नेपाल-भारत व्यापार गोलमेच बैठकमा नेपालको लगानी सम्भावनाबारे जानकारी गराउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न प्रोत्साहित गरिएको मन्त्री खनालले बताए।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि प्रधानमन्त्री शाहले शिष्टाचार भेट गरेका थिए। भेटमा नेपाल-भारतबीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। भ्रमणका अवसरमा भारतका उच्च राजनीतिक नेतृत्वसँग भएका सारगर्भित छलफलबाट दुई मुलुकबीच समझदारी, सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ भएको मन्त्री खनालको भनाई छ।

‘यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक एवं विकास सहकार्यलाई नयाँ उचाइमा पु¥याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भएको छ,’ उनले भने।

साथै, छिमेकी मित्रराष्ट्रसँग एकअर्काका संवेदनशीलताहरू बुझ्ने तथा आपसी समन्वयमा तिनको उचित समाधान गर्दै द्विपक्षीय हितलाई प्रवर्द्धन गर्न भ्रमण फलदायी भएको मन्त्री खनालको भनाइ छ।

प्रकाशित: ७ मंसिर २०८३ २१:४७ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast