कोप-३१ निष्कर्षविहीन

हिमाल प्रेस ७ मंसिर २०८३ १८:१९ | Monday, November 23, 2026
कोप-३१ निष्कर्षविहीन

काठमाडौँ- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ।

टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई दिन ढिलो गरी नोभेम्बर २२ को राति सम्पन्न भएको हो।

यद्यपि नेपालले पर्वतीय मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न गरेको पहलले आगामी दिनमा यसलाई संस्थागत मान्यता दिलाउने बाटो भने खुला गरेको छ।

सम्मेलनको अन्तिम चरणमा समग्र निर्णयमा सहमति जुट्न नसक्दा नेपालको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पनि पारित हुन सकेन। तर, विभिन्न देशबाट प्रस्तुत प्रस्तावमध्ये नेपालको प्रस्तावले प्राथमिकताका साथ छलफलमा प्रवेश पाउनु महत्त्वपूर्ण उपलब्धि भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले बताए।

कोप-३१ को समग्र मूल्यांकनका बारेमा उनले भोटेकोशी विपद्को पीडालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै नेपालले पहिलोपटक पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा अघि बढाउन सरकारका तर्फबाट लिखित प्रस्ताव पेस गरेको जानकारी दिए।

‘नेपालको इतिहासमा सरकारले पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न लिखित प्रस्ताव पेस गरेको यो पहिलोपटक हो,’ उनले भने, ‘विभिन्न देशबाट आएका करिब सातवटा प्रस्तावमध्ये कुनै पनि प्रस्ताव हुबहु स्वीकार भएनन्। तर, नेपालको प्रस्तावलाई उच्च प्राथमिकताका साथ छलफलमा लैजान हामी सफल भयौँ।’

नेपालले सुरुमा ‘पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको प्रभाव’ सम्बन्धी विषयलाई छुट्टै एजेन्डाका रूपमा अघि सारेको थियो। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूूएनएफसीसीसी) को सचिवालयको सहयोगमा प्रस्तावको विषयवस्तुलाई थप स्पष्ट र सान्दर्भिक बनाउँदै ‘पर्वतीय पारिस्थितिक प्रणालीमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसम्बन्धी विषयहरू’ नाम दिइएको उनले बताए।

सम्मेलनमा किर्गिस्तानले पर्वतीय विषयमा एउटा संवाद आयोजना गर्ने प्रस्ताव गरेको थियो। नेपालले आफ्नो प्रस्तावले किर्गिस्तानको चासोसमेत समेट्ने भन्दै संयुक्त रूपमा अघि बढ्न आग्रह गरेपछि नेपाल, भुटान र कीर्गिस्तानले नेपालको प्रस्तावका आधारमा छलफल अघि बढाएका थिए।

सहसचिव ढकालका अनुसार पर्वतीय मुद्दाअन्तर्गत अनुसन्धान, पूर्वसूचना प्रणाली, दुईवटा संवाद र उच्चस्तरीय राजनीतिक संवाद गरी चार विषयलाई अघि बढाउन नेपालले प्रस्ताव गरेको थियो। दुईवटा संवाद आयोजना गर्ने विषयमा सुरुमै सहमति बनेको थियो भने अनुसन्धान तथा पूर्वसूचना प्रणालीसम्बन्धी विषय पनि छलफलमा समेटिएका थिए।

नेपालले प्रस्तुत गरेको प्रस्तावका केही अंश प्रारम्भिक चरणमै स्वीकार भएका थिए। पर्वतीय कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने तथा विभिन्न देशका प्रस्तावमा रहेका साझा विषयलाई विद्यमान एजेन्डासँग जोडेर समेट्ने प्रयास गरिएको उनले बताए।

‘अन्तिम चरणमा सबै राष्ट्रबीच सहमति जुटाउने प्रयास गरेका थियौँ। तर, सम्मेलनको समग्र निर्णयमा सहमति हुन नसकेपछि हाम्रो निर्णय पनि पारित हुन सकेन,’ उनले भने।

उनका अनुसार अन्तिम निर्णयमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिलाई सीमित गर्ने तथा जीवाश्म इन्धनको उत्पादन, बिक्री वितरण र प्रयोगसँग जोडिएका विषयमा मतभेद देखिएको थियो।

विशेषगरी जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने मार्ग र तापक्रम वृद्धिलाई सीमित गर्ने विषय निर्णयको मस्यौदामा समेटिन नसकेको भन्दै युरोपेली संघले असहमति जनाएको थियो।

त्यसपछि सम्मेलनको समग्र निर्णय प्रक्रिया प्रभावित हुँदा नेपालको पर्वतीय मुद्दासम्बन्धी निर्णय पनि अन्तिम समयमा पारित हुन नसकेको उनले स्पष्ट पारे।

‘नेपालको प्रस्ताव अस्वीकृत हुनुको कारण हाम्रो एजेन्डा थिएन। सम्मेलनमा अन्य जटिल विषयमा सहमति हुन नसक्दा सबै निर्णय प्रभावित भएका हुन्,’ उनले भने।

प्रकाशित: ७ मंसिर २०८३ १८:१९ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast