लखनऊ-भैरहवा हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

हिमाल प्रेस ७ मंसिर २०८३ १७:०४ | Monday, November 23, 2026
लखनऊ-भैरहवा हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

काठमाडौँ- भारत लखनऊ-भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिवसीय राजकीय भारत भ्रमणका क्रममा भारतीय पक्ष नेपाललाई लखनऊ-भैरहवा हवाई मार्ग उपलब्ध गराउन सहमत भएको हो। यो हवाई मार्गका लागि नेपाल लामो समयदेखि प्रयासरत थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सोमबार दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा यो सहमतिबारे घोषणा गरिएको हो।

यो सहमतिसँगै हवाई सम्पर्क सधार हुने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

‘विद्यमान एकतर्फी ‘बी३४५’ काठमाडौँ-भैरहवा-लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ,‘यस सम्बन्धमा कार्यविधिलाई अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयथ प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।’

हाल यो मार्गले विमानहरूलाई नेपालबाट लखनऊतर्फ उडान भर्न अनुमति दिए पनि भारतबाट नेपाल प्रवेश गर्न अनुमति दिँदैन। फलस्वरूप पश्चिम दिशाबाट भैरहवातर्फ आउने विमानहरू लामो दूरी पार गरी पूर्वतर्फ सिमरासम्म उडेर पुनः पश्चिम फर्किँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न बाध्य छन्। यो घुमाउरो बाटोले उडान दूरी र सञ्चालन लागत दुवै बढाएको छ।

तर, महेन्द्रनगर हवाई मार्ग ‘एल ६२६’ लाई दुईतर्फी बनाउने नेपालको मागमा भने कुनै प्रगति हुन सकेन। भारतले यो मार्ग नेपालबाट बाहिरिने विमानहरूका लागि मात्र उपलब्ध गराउने भएको छ। जबकि नेपाल प्रवेश गर्ने विमानहरूलाई पनि यो मार्ग प्रयोग गर्न दिन नेपालले वर्षौँदेखि भारतलाई आग्रह गर्दै आएको छ।

कनेक्टिभिटीसम्बन्धी अर्को घोषणामा भारतले नेपाललाई आफ्नो पारवहन व्यापारका लागि गुजरातस्थित काण्डला बन्दरगाहका रूपमा समेत चिनिने दीनदयाल बन्दरगाहमा पहुँच उपलब्ध गराउन सहमत भएको छ।

त्यस्तै आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा नेपाललाई पहुँच उपलब्ध गराइनेछ। नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातको मुन्द्रा र ओडिशाको धामरा बन्दरगाह उपलब्ध गराउन भारतसँग माग गरेको थियो।

भारतले नेपाललाई १५० अर्ब भारतीय रुपैयाँ बराबरको विकास सहायता पनि घोषणा गरेको छ। जसमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि ३५ अर्ब भारतीय रुपैयाँ अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि ११५ अर्ब भारतीय रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण समावेश छ।

‘विकास सहायता उपलब्ध गराउने कार्यविधि र विशिष्ट परियोजनाहरूलाई आपसी परामर्शमार्फत अन्तिम रूप दिइनेछ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १७:०४ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast