काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना रहेको छ।
प्रधानमन्त्री शाह दुईदिने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नयाँदिल्ली पुगेका छन्। यस अवसरमा नेपालले झण्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश विन्दु ‘एयर रुट’ मा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्बद्ध पक्षले जानकारी दिएको छ।
झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ।
नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। पछिल्लो द्विपक्षीय छलफलमा महेन्द्रनगरबाट ३९ हजार फिट उचाइबाट जहाज प्रवेश गर्न दिन भारत सकारात्मक देखिएको छ।
यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाइमार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
नेपालले तत्काल सम्भव हुने तीनवटा हवाई प्रवेश मार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्ताबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ। भारतले यी विषयमा छुट्टाछुट्टै सहमति गर्नुभन्दा समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ।
पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार भारतीय पक्षसँग हवाई प्रवेश विन्दुका विषयमा प्याकेजमै छलफल भइरहेको छ।
‘महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी हवाई मार्ग उपलब्ध गराउन भारत तयार देखिएको छ। त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक छ,’ सहसचिव आचार्यले भने, ‘भारतीय पक्षले प्याकेजमै सहमति खोजेको छ। हाम्रो तर्फबाट भने छुट्टाछुट्टै सहमति गरेर पहिला तीन क्षेत्रमा हवाई प्रवेश सुरु गरौँ र बाँकी विषय क्रमशः संवादबाट टुङ्ग्याउँदै जाऔँ भन्ने प्रस्ताव गरेका छौँ।’
मन्त्रालयका अनुसार कुनकुन प्रवेश बिन्दुबाट हवाई मार्ग उपलब्ध हुने भन्ने विषयमा अन्तिम टुंगो लागिसकेको छैन। यद्यपि, पछिल्लो छलफलमा देखिएको सकारात्मक वातावरणले प्रधानमन्त्रीको भ्रमणमा सहमति जुट्ने सम्भावना बढाएको छ।
नेपालले भैरहवा, जनकपुर र महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग सञ्चालन गर्ने र बाँकी विषयमा छुट्टै प्राविधिक तथा कूटनीतिक छलफल गर्ने प्रस्ताव गरेको छ।
महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध भएमा पश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानलाई वैकल्पिक मार्ग प्राप्त हुनेछ। यसले सिमरा प्रवेश बिन्दुमाथिको निर्भरता घटाउन र पश्चिमी क्षेत्रका विमानस्थलमा उडान सञ्चालन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रस्तावित व्यावहारिक रूपमा कति उचाई हुन आवश्यक छ भन्ने विषयमा प्राविधिक अध्ययन आवश्यक छ। विमानको प्रकार, उडान दिशा, हवाई यातायात व्यवस्थापन, मौसम तथा सुरक्षालाई ध्यानमा राखेर मार्ग निर्धारण गर्नुपर्ने बताइएको छ।
भैरहवा र जनकपुरका लागि कम उचाइको रुट
महेन्द्रनगरबाट उच्च उचाईमा जहाज प्रवेश गराउने प्रस्तावसँगै भैरहवा र जनकपुरबाट कम उचाईमा हवाई मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको मन्त्रालयको भनाइ छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई मार्गको प्रयोग महत्वपूर्ण मानिन्छ। भारततर्फको सहज प्रवेश तथा बहिर्गमन मार्ग नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिएको छ।
त्यस्तै, जनकपुरबाट अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने अपेक्षा गरिएको छ। नेपालले यी मार्गलाई प्राथमिकताका साथ अघि बढाउन खोजे पनि प्रवेश बिन्दु, उडानको उचाई र सञ्चालन प्रक्रियाबारे प्राविधिक सहमति हुन बाँकी छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो रकम लगानी भए पनि अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन।
हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय जहाजले बाराको सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ। यसले पश्चिमी क्षेत्रका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा मार्ग व्यवस्थापनमा कठिनाइ हुने गरेको सम्बद्ध पक्षको भनाइ छ।
भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रसँग जोडिएको सहज प्रवेश तथा बहिर्गमन मार्ग आवश्यक छ। पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारका लागि सहज हवाई सम्पर्क महत्वपूर्ण मानिएको छ।
थप हवाई रुट उपलब्ध भएमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलमा उडान सञ्चालन गर्न सहज हुने र त्यसबाट पर्यटन, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई रुट उपलब्ध गराउने विषयमा सहमति भएको थियो। त्यसबेला दुवै देशका अधिकारीलाई ६ महिनाभित्र यस विषयलाई टुङ्ग्याउन भनिएको थियो। त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय बैठकमा छलफल भए पनि नेपालले नयाँ हवाई प्रवेश मार्ग प्राप्त गर्न सकेको छैन।
विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा पनि हवाई रुटको विषय प्रमुख एजेन्डामा समावेश थियो। त्यसबेला पनि प्रधानमन्त्री मोदीले नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताएका थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटका विषयमा द्विपक्षीय सहमति खोज्ने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो।
पर्यटनमन्त्री खडकराज पौडेल यस विषयमा छलफल गर्न भारत पुगेका थिए। नयाँदिल्लीमा यही मंसिर ४ देखि ६ गतेसम्म आयोजना भएको साङ्घाइ सहयोग संगठन (एससीओ) को ‘सिभिलाइजेशन डाइलग फोरम’ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई रुट र पर्यटन सहकार्य विस्तारबारे छलफल गरेका थिए।
यसअघि नेपाली प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग छलफल गरेको थियो। प्रतिनिधिमण्डलमा पर्यटन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखा प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी थिए।
नेपालको तर्फबाट चरणबद्ध रुपमा भएका उच्चस्तरीय छलफल, भेटघाटपछि भारत सरकार सकारात्मक देखिए पनि कार्यान्वयन हुन नसकेको नयाँ हवाई प्रवेशमार्ग प्रयोगसम्बन्धी विषय यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा समाधान हुने विश्वास गरिएको छ।



