बिनातामझाम काठमाडौँ छाडेका बालेनलाई नयाँदिल्लीमा भव्य स्वागत

हिमाल प्रेस ६ मंसिर २०८३ १९:०१ | Sunday, November 22, 2026
बिनातामझाम काठमाडौँ छाडेका बालेनलाई नयाँदिल्लीमा भव्य स्वागत

नयाँदिल्ली– नेपालबाट कुनै तामझामबिना भारतको राजकीय भ्रमणमा निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारतको राजधानी नयाँदिल्लीमा भव्य स्वागत गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३४ सदस्यीय उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री शाहको स्वागतमा सांस्कृतिक प्रस्तुति, नेपाल–भारतका राष्ट्रिय झन्डा र विशेष स्वागतका ब्यानरहरू प्रदर्शन गरिएका थिए।

प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानमार्फत भारतीय समयअनुसार दिउँसो ३ बजेर ४० मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। सो अवसरमा उत्तराखण्ड राज्यको मौलिक संगीत प्रस्तुत गरिएको थियो। सांगीतिक धुन र सांस्कृतिक प्रस्तुतिबीच भएको स्वागतले उनको राजकीय भ्रमणलाई विशेष महत्त्व दिएको थियो।

विमानस्थलबाट ताज होटलतर्फ प्रस्थान गर्दा राजधानी नयाँदिल्लीका सडकहरूमा नेपाल र भारतका राष्ट्रिय झन्डा फहराइएका थिए। सडकका दायाँबायाँ दुवै देशका झन्डाले सजाइएको थियो भने मुख्य सडकमा प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको तस्बिर अंकित स्वागत ब्यानरहरू राखिएका थिए।

प्रधानमन्त्री शाहको आवागमनलाई व्यवस्थित बनाउन विमानस्थलदेखि होटलसम्मको सडक खाली गराइएको थियो। सडकका दुवैतर्फ उपस्थित सर्वसाधारणले पनि उनलाई स्वागत गरेका थिए। विमानस्थलबाट प्रस्थान गरेका प्रधानमन्त्री शाह भारतीय समयअनुसार अपराह्न ४ बजेर ५ मिनेटमा ताज होटल पुगेका थिए।

होटलमा प्रधानमन्त्री शाहसँग भेट गर्न भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिसरी पुगेका थिए। त्यसपछि भारतीय विदेशमन्त्री एस जयशंकर अपराह्न ५ बजेर ५० मिनेटमा होटल प्रवेश गरेका थिए। होटलमा प्रधानमन्त्री शाहसहितको टोलीसँग मन्त्री जयशंकरले भेटवार्ता गरेका छन्। भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र शिशिर खनाललगायत भ्रमण दलका उच्च अधिकारीहरू र भारतीय उच्च अधिकारीहरू उपस्थित थिए। त्यसक्रममा जयशंकरले दुवै देशका उच्च अधिकारीहरूलाई प्रधानमन्त्री शाहको भ्रमण तथा द्विपक्षीय भेटघाटका विषयमा जानकारी गराएका थिए।

आइतबार नै नेपाल र भारतका व्यवसायीहरूलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा राजनीतिक तथा कूटनीतिक भेटघाटसँगै आर्थिक र व्यावसायिक सम्बन्धलाई समेत प्राथमिकता दिइएको छ।

रोचक पक्ष के छ भने प्रधानमन्त्री शाहले भारतको राजकीय भ्रमणमा निस्कँदा काठमाडौँमा कुनै औपचारिक तामझाम वा विशेष प्रदर्शन गरेका थिएनन्। उनी सामान्य शैलीमा विमानस्थल पुगेका थिए र नेपाल वायुसेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गरेका थिए। तर दिल्ली ओर्लिएलगत्तै उनलाई सांस्कृतिक प्रस्तुतिदेखि सडक सजावट र उच्चस्तरीय स्वागतसम्मका कार्यक्रममार्फत विशेष सम्मान प्रदान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast