एसिया कप राइजिङ स्टार्स प्रतियोगिता : नेपाल भारत ‘ए’ सँग ३०६ रनले पराजित

हिमाल प्रेस ४ मंसिर २०८३ २२:४० | Friday, November 20, 2026
8
SHARES
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता : नेपाल भारत ‘ए’ सँग ३०६ रनले पराजित

काठमाडौँ- एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल भारत ‘ए’सँग लज्जास्पद हार बेहोर्न पुगेको छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो।

तीन सय ३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमै मात्र २६ रनमा अलआउट भयो।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पवन सर्राफ र राशिद खानले सर्वाधिक ६–६ रन बनाए।

प्रातिस जीसीले ४ रन, नन्दन यादव र ललित राजवंशीले समान २ रन तथा दीपक डुम्रेले १ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, अर्जुन कुमाल, बासिर अहमद र लोकेश बम शून्य मै आउट भए।

भारत ‘ए’का बलर प्रिन्स यादवले घातक बलिङ गर्दै ५ विकेट लिए। उनले ५ ओभरमा ६ रन मात्र खर्चिए। हर्षित राणाले ४ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे।

त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रनको योगफल बनाएको थियो।

भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेले। कुमारले १०२ बलमा १० चौका र ५ छक्काको मद्तले ११७ रन बनाए। त्यस्तै तिलकले ११३ बलमा ६ चौका र ४ छक्कासहित १०७ रन जोडे।

सुर्यांश शेडगेले १४ बलमा अबिजित ३६ रन बनाए। वैभव सूर्यवंशीले २६, अभिषेक शर्माले ९ तथा रिंकु सिंहले समान ९ रन नै बनाए।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिए। त्यस्तै नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे।

प्रकाशित: ४ मंसिर २०८३ २२:४० | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast