काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन्।
काठमाडौँको टोखा नगर कमिटीले मौलिक महान पर्वहरू एवं नेपाल संवत् ११४७ नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति र परम्परामाथि चुनौती थपिएको बताए।
उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले समाजका मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि नकारात्मक प्रभाव पारिरहेको बताए। उनले सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
उनले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने धारणा पनि राखे। महासचिव पोखरेलले अहिलेको सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोप लगाए। सरकारको मुख्य दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसार काम हुन नसकेको टिप्पणी गरे।
नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले शङ्खधर साख्वाले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउन गरेको योगदानको स्मरण गरे। मौलिक चाडपर्व, संस्कृति र परम्पराको संरक्षणले राष्ट्रिय एकता बलियो बनाउने उनको भनाइ थियो।



