टिकटकले बदल्दै छ राजनीति

हिमाल प्रेस १६ कार्तिक २०८३ १४:१० | Monday, November 2, 2026
टिकटकले बदल्दै छ राजनीति

अमेरिकाको टेक्सासमा सिनेटका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स तालारिको आफ्नो चुनावी विज्ञापन ‘एन्थम’ को सुरुमै भन्छन्, ‘टेक्सास आशाले बनेको हो।’

पृष्ठभूमिमा वाद्यसंगीत घन्किँदै जान्छ। पर्दामा टेक्सासका विशाल घाँसे मैदान र श्रम गरिरहेका मानिसका दृश्य देखिन्छन्। तालारिको राज्यलाई रिस, डर र विभाजनले होइन, यो राज्य निर्माण गर्ने आशाले पुनः आफ्नो पक्षमा ल्याउने प्रतिबद्धता व्यक्त गर्छन्।

राजनीतिक विज्ञापनमा आशा सधैँ दोहोरिने विषय हो। यस वर्ष राजनीतिक परिदृश्यमा हाबी हुँदै गएको छोटो भिडियोको ढाँचाले आशाको सन्देशलाई सामाजिक सञ्जालका एल्गोरिदमबाट थप प्रोत्साहन मिल्ने सम्भावना छ।

सामाजिक सञ्जालको युग सुरु भएयता अधिकांश समय अनलाइन राजनीतिक बहस निरन्तर निराशाजनक सामग्री हेर्ने चक्रमा फसेको छ। मानिसलाई चिन्ता र आक्रोशित बनाउने सामग्रीलाई प्राथमिकता दिने गरी तयार पारिएका सामाजिक सञ्जालका फिडमा निराशा जगाउने विषयवस्तु छ्यापछ्याप्ती हुन्छन्।

यस्ता विनाशकारी एल्गोरिदमबाट लाभ लिने एक व्यक्ति राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हुन्। उनको अरूलाई होच्याउने र आरोप लगाउने शैली आक्रोशपूर्ण सामग्रीलाई प्राथमिकता दिने सामाजिक सञ्जालको प्रवृत्तिसँग विशेष रूपमा मेल खान्छ।

सामाजिक सञ्जाल बदलिँदै छ। टिकटक र इन्स्टाग्रामजस्ता एपले मानिसले कुनै भिडियो कति समयसम्म हेर्छन् भन्ने कुरालाई प्राथमिकता दिने गरेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार यसले आशावादी सामग्रीलाई अगाडि ल्याउन सक्छ। सकारात्मक सन्देश दिने उम्मेदवारका लागि यो राम्रो खबर हो। अब उनीहरूका सामग्री मानिसका समाचार फिडमा माथि देखिने र विशेषगरी युवा मतदातालाई परिचालन गर्ने सम्भावना बढेको छ। निरन्तर निराशाजनक सामग्रीबाट उम्कन चाहने मजस्ता मानिसका लागि पनि यो सुखद खबर हो।

आशामुखी सामग्री हेर्ने यो नयाँ प्रवृत्तिले हाम्रो राजनीतिक परिदृश्यलाई प्रत्यक्ष रूपमा बदलिरहेको छ। यसको पहिलो उदाहरण न्युयोर्कका मेयर जोहरान ममदानी हुन्। उनले आफू बरफजस्तै चिसो पानीमा डुबुल्की मार्दै गरेको, म्यानहटनको पूरै लम्बाइ पैदल हिँडेको र रातको पालोमा काम गर्ने ट्याक्सी चालकलाई अँगालो हालेको दृश्यसहितका भाइरल भिडियोमार्फत आफ्नो जीवनयापनको खर्च घटाउने अभियानलाई लोकप्रिय बनाए।

केही अनुसन्धानकर्ताको तर्कमा सामाजिक सञ्जालको यो माध्यममा उनको दक्षताले १८ देखि २५ वर्ष उमेर समूहका मतदातालाई ऐतिहासिक रूपमा परिचालन गर्न मद्दत गरेको थियो।

मिचिगनका डेमोक्रेटिक सिनेट उम्मेदवार अब्दुल एल–सयदलाई नै हेरौँ। उनी पनि सामाजिक सञ्जालमा लगभग सर्वत्र देखिन्छन्। उनी नाच्छन्, भारोत्तोलन गर्छन् र ब्लुज क्लुजबाट प्रेरित एनिमेटेड भिडियोमा गीतसमेत गाउँछन्।

सायद आशामुखी सामग्री प्रस्तुत गर्ने सबैभन्दा कुशल नेता न्युजर्सीका सिनेटर कोरी बुकर हुन्। प्रगतिशील सञ्चार संस्था म्याग्निच्युड मिडियाको तथ्यांकअनुसार सामाजिक सञ्जालमा हेरिएका सामग्रीका आधारमा बुकर अन्य निर्वाचित जनप्रतिनिधिभन्दा निकै अगाडि छन्। उनका पोस्ट ४२ करोडभन्दा बढी पटक हेरिएका छन्।

डेमोक्रेटिक पार्टीको रणनीतिक सञ्चार समितिका अध्यक्षका रूपमा बुकरले आफ्ना सहकर्मीहरूलाई सामाजिक सञ्जालमा अझ धेरै सामग्री पोस्ट गर्न प्रोत्साहित गर्दै आएका छन्। सन् २०२४ को निर्वाचनमा गुमाएका युवा पुरुष मतदातालाई पुनः आफ्नो पक्षमा ल्याउने प्रयास पनि यसको एउटा उद्देश्य हो।

शरद ऋतुमा सहजै पुनः निर्वाचित हुने अपेक्षा गरिएका र सन् २०२८ मा राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेका बुकर सामाजिक सञ्जालमा आशामुखी सामग्रीको बाढी ल्याउने नेता हुन्। उनी महिनामा करिब १३५ पटक टिकटक खातामा नयाँ सामग्री पोस्ट गर्छन्।

तीमध्ये धेरैजसो मन छुने खालका भिडियो हुन्छन्। कतै उनी दौडिरहेका हुन्छन्, कतै विनम्र हुनुको महत्त्वबारे कुरा गरिरहेका हुन्छन् त कतै आगलागी भएको भवनबाट अग्निनियन्त्रकले बालबालिकाको उद्धार गरेको भिडियो पुनः पोस्ट गरिरहेका हुन्छन्।

पूर्वडेमोक्रेटिक रणनीतिकार तारा म्याकगोवन भन्छिन्, ‘आशामुखी भिडियोका कारण उनी इन्स्टाग्राममा अरू सबैभन्दा अगाडि छन्।’

जर्जियाका सिनेटर जोन ओसोफ र डेमोक्रेटिक राजनीतिमा उदाउँदा तारा मानिएका तालारिकोले पनि आफ्ना सामाजिक सञ्जालका फिड प्रेरणादायी दृश्यले भरिरहेका छन्।

न्युयोर्ककी प्रतिनिधिसभा सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज पनि डेमोक्रेटिक पार्टीकी अर्की चर्चित नेता हुन्। सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न सक्ने चर्चा गरिएकी उनले आफ्ना डिम्ब सुरक्षित राख्ने निर्णयबारे क्यामेरासामु बसेर खुलस्त कुराकानी गरेको भिडियो पोस्ट गरेपछि भाइरल भएको थियो।

रिपब्लिकन पार्टीका तर्फबाट कंग्रेसका सबैभन्दा कान्छा सदस्य ब्रान्डन गिल पनि नियमित रूपमा आफू र आफ्नो परिवारका भिडियो पोस्ट गर्छन्। ती भिडियोमा उत्साह जगाउने संगीत राखिएको हुन्छ र ‘ईश्वर र परिवार नै सबैथोक हुन्’ जस्ता सन्देश लेखिएका हुन्छन्।

छोटो भिडियोको सुरुआत नै धेरै हदसम्म आकांक्षा र प्रेरणासँग जोडिएका सामग्रीबाट भएको थियो। टिकटकको सुरुआत ‘म्युजिकल्ली’ नामक एपबाट भएको हो, जहाँ किशोरकिशोरीले नृत्यका शैली साझा गर्थे। युट्युबले पनि काठको काम गर्ने कालीगढ र शृंगारकर्मीहरूजस्ता दक्ष व्यक्तिलाई आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिएर साम्राज्य खडा गरेको थियो। यस्तो प्रेरणामुखी शैलीले सामाजिक सञ्जालका एल्गोरिदमलाई पनि प्रभावित पारेको देखिन्छ।

‘सिफारिस प्रणालीमा रमाइला र सकारात्मक सामग्रीलाई फाइदा पुग्छ,’ युनिभर्सिटी अफ अर्कान्सास एट लिटिल रकका सूचना विज्ञानका प्राध्यापक नितिन अग्रवाल भन्छन्। उनले गत वर्ष युट्युबका ६ लाख ८५ हजार आठ सय ४२ वटा छोटा भिडियोको अध्ययन प्रकाशित गरेका थिए।

निश्चय पनि आक्रोशपूर्ण सामग्रीले अझै पनि दर्शकको ध्यान तान्छ। विशेषगरी दर्शकले टिप्पणी गर्ने, लाइक गर्ने वा सामग्री साझा गर्ने गतिविधि अर्थात् ‘इन्गेजमेन्ट’ बढाउन यस्ता सामग्री प्रभावकारी हुन्छन्। फेसबुक र एक्स (पहिले ट्विटर) दुवैका एल्गोरिदमले यस्तो सहभागिता बढाउने सामग्रीलाई प्राथमिकता दिन्छन्।

स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको हालैको अध्ययनअनुसार एक्सको एल्गोरिदमले प्रयोगकर्तालाई उत्तेजक सामग्रीतर्फ धकेल्ने गर्छ।

ती सामाजिक सञ्जालको प्रभावकारिता भने घट्दै गएको छ। सन् २०२५ मा अमेरिकामा मोबाइल उपकरणमा सबैभन्दा बढी समय बिताइने सामाजिक सञ्जाल युट्युब र टिकटक थिए। यी दुवैले फेसबुक र एक्सलाई पछि पारेका थिए।

हामीलाई यी अपारदर्शी एल्गोरिदमबारे थोरै मात्र जानकारी छ। तर छोटो भिडियोका एल्गोरिदम लाइकमा भन्दा मानिसले भिडियो हेर्न बिताउने समयलाई बढी महत्त्व दिने गर्छन्। दर्शकले भिडियो हेर्ने समयलाई प्राथमिकता दिइँदा आशामुखी सामग्रीले पनि फिडमा माथिल्लो स्थान पाउने सम्भावना बढ्छ।

अनलाइन राजनीतिक प्रभावको अध्ययन गर्ने समाचारपत्रिका ‘केओटिक इरा’ का लेखक काइल थार्प भन्छन्, ‘छोटो भिडियोको प्रधानताले मानिसले कस्तो व्यक्तिलाई राम्रो वा सम्भावनायुक्त उम्मेदवार ठान्छन् भन्ने धारणामा निश्चित रूपमा परिवर्तन ल्याएको छ।’ उनले एक अन्तर्वार्तामा भने, ‘अत्यन्त राम्रो प्रेरणादायी सन्देश दिन सक्नु र आफूलाई त्यसअनुरूप प्रस्तुत गर्न सक्नु नै अहिले सबैथोक हो।’ द न्युयोर्क टाइम्सबाट

प्रकाशित: १६ कार्तिक २०८३ १४:१० | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast