मधेशमा सत्ता फेरबदलको तयारी, एमाले-जसपा-जनमतबीच छलफल

हिमाल प्रेस १३ कार्तिक २०८३ १२:२३ | Friday, October 30, 2026
12
SHARES
मधेशमा सत्ता फेरबदलको तयारी, एमाले-जसपा-जनमतबीच छलफल

जनकपुरधाम- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन्।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ।
सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति भई नसकेको उनको भनाइ छ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको र चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याइने जानकारी दिए।

नयाँ राजनीतिक समीकरणसँगै नयाँ सरकारको नेतृत्वमा भने तीनवटै दलबाट दाबी हुँदै आएको छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ।

उक्त पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताए।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ।

अहिले यहाँ नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।

त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सदस्य छन्।

प्रकाशित: १३ कार्तिक २०८३ १२:२३ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast