काठमाडौँ- चार दिनसम्म निरन्तर उकालो लागेको सुनको मूल्यमा आज गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसअघि चार दिनको अवधिमा सुनको मूल्य कुल ५ हजार रुपैयाँले बढेको थियो।
महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ, मंगलबार ८ सय रुपैयाँ र सोमबार ३ हजार रुपैयाँले बढेको थियो। तर,साताको पहिलो दिन आइतबार भने सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको थियो।
यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेर ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय ३० रुपैयाँ थियो।
गत वर्ष माघ १५ गते सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै, गत माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा आएको यो हालसम्मकै ठूलो एकदिने गिरावट हो। यसअघि माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।



