इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी भएन : एमाले महासचिव पोखरेल

हिमाल प्रेस ३० कार्तिक २०८३ १७:१४ | Monday, November 16, 2026
6
SHARES
इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी भएन : एमाले महासचिव पोखरेल नेकपा (एमाले) का महासचिव शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको बताएका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सापकोटाको नाममा सार्वजनिक भएका घटनाक्रमले सरकार सञ्चालनको शैलीमाथि गम्भीर प्रश्न उठाएको बताए।

प्रधानमन्त्रीलाई झापाबाट उम्मेदवार बनाउनु उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा गरिएको सर्वेक्षणदेखि निर्वाचन अभियानसम्म सापकोटाको संलग्नताबारे चर्चा बाहिर आएको उनको भनाइ थियो।

प्रधानमन्त्री बनेपछि सरकारलाई सफल बनाउने उद्देश्यले गठन गरिएको कोर टिममा समेत सापकोटाको भूमिका रहेको विवरण सार्वजनिक भएको भन्दै पोखरेलले प्रधानमन्त्रीका नाममा विभिन्न क्षेत्रका व्यक्तिलाई त्रसित पार्न खोजिएको विषय पनि बाहिर आएको बताए।

प्रहरी नियन्त्रणमा लिइएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई-तीन दिनसम्म राखेको विषय सार्वजनिक भएको भन्दै उनले यसले राज्य सञ्चालनको प्रक्रियामाथि प्रश्न उठाएको टिप्पणी गरे। ‘अहिले इनम सापकोटाका नाममा जे पटाक्षेप भएको छ, त्यसका रहस्यहरू आउन बाँकी नै छन्। अनुसन्धानको प्रक्रिया रहस्यमय देखिँदै छ, पारदर्शी छैन,’ उनले भने।

सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रियाबारे पर्याप्त पारदर्शिता नदेखिएको पोखरेलको आरोप थियो। महासचिव पोखरेलले सरकारले प्रतिशोधको भावनाले अघि बढ्दै एमाले अध्यक्ष र निवर्तमान गृहमन्त्रीलाई तथ्य तथा प्रमाणबिना पक्राउ गरेको आरोपसमेत लगाए।

उनीहरूलाई १३-१३ दिनसम्म हिरासतमा राखिए पनि अभियोजन गर्न नसकिएको दाबी गर्दै पोखरेलले सरकारसँग आरोप पुष्टि गर्ने पर्याप्त आधार नभएको बताए।

‘बिनातथ्यप्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफ्तार गर्ने, १३-१३ दिन राखेर अभियोजन पनि गर्न नसक्ने। आजसम्म पनि अभियोजन गर्ने क्षमता सरकारले देखाउन सकेको छैन, किनकि तथ्य र प्रमाण नै छैन,’ उनले भने।

सरकारले लगाएको आरोपको आधार र मापदण्ड समान रूपमा लागू गर्ने हो भने वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसमेत प्रश्नको घेरामा पर्ने उनको तर्क थियो। सुनसरीमा भएको गोलीकाण्डको उदाहरण दिँदै पोखरेलले गोली चल्दा मानिसको मृत्यु हुने घटनाको जिम्मेवारी सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूले पनि लिनुपर्ने बताए।

विगतमा एमाले अध्यक्ष र तत्कालीन गृहमन्त्रीमाथि आरोप लगाउँदा सरकारले अपनाएको सिद्धान्त र मापदण्ड अहिलेको सरकारका हकमा पनि लागू हुनुपर्ने उनको भनाइ थियो।

महासचिव पोखरेलले विद्यार्थीलाई कलेजमा गतिविधि गर्न रोक्ने प्रयासप्रति आपत्ति जनाएका छन्। विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक परिवर्तनको महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै उनले राणाशासनविरुद्धको ‘जयतु संस्कृतम्’ आन्दोलनदेखि पञ्चायतविरोधी आन्दोलनसम्म विद्यार्थी र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को भूमिकाको स्मरण गरे।

नयाँ भनिएका राजनीतिक शक्तिहरूबाट थप लोकतान्त्रिक व्यवहारको अपेक्षा गरिए पनि विद्यार्थी गतिविधिमा रोक लगाउने र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने खालका गतिविधि अघि बढाइएको उनको आरोप थियो।

पोखरेलले सरकारले पत्रकारिता क्षेत्रमाथि पनि अंकुश लगाउन खोजेको आरोप लगाए। सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णय लोकतान्त्रिक मान्यताविपरीत रहेको उनको भनाइ थियो।

अदालतले संरक्षण गर्ने अवस्था नआएको भए सञ्चार क्षेत्रमाथि थप दबाब सिर्जना हुन सक्ने उनले टिप्पणी गरे।

प्रकाशित: ३० कार्तिक २०८३ १७:१४ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast