कम्युनिस्ट पार्टीमा नेतृत्व संकट

दोस्रो तहका नेता नयाँ अभियान र वैकल्पिक राजनीतिक ध्रुव निर्माणको खोजीमा

किरण पौडेल ११ कार्तिक २०८३ १४:०५ | Wednesday, October 28, 2026
6
SHARES
कम्युनिस्ट पार्टीमा नेतृत्व संकट झलनाथ खनाल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल।

काठमाडौँ- कुनै बेला नेताको एउटा आदेशमा सडक र संसद् तताउने कम्युनिस्ट कार्यकर्ता अहिले नेतृत्वकै निर्देशनप्रति उदासीन बन्दै गएका छन्। सर्वहारा मुक्ति, वर्गसंघर्ष र समाजवादका नारा लगाएर सत्तामा पुगेका नेताहरू जनताबाट टाढिँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलन दिशाहीनता र राजनीतिक सान्दर्भिकताको संकटमा फस्दै गएको छ।

पार्टीहरू टुक्रिने क्रम रोकिएको छैन। नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस निष्कर्षविहीन छ। नीति र कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको आलोचना बढ्दो छ। भाषणमा क्रान्ति र व्यवहारमा सत्तामोह देखिएको भन्दै नेतृत्वमाथि प्रश्न उठिरहेका छन्। यही असन्तुष्टिका बीच कम्युनिस्ट पृष्ठभूमिका नेताहरू पार्टीभित्रै संघर्ष गर्ने, नयाँ अभियान चलाउने र वैकल्पिक राजनीतिक ध्रुव निर्माण गर्ने बाटोमा लागेका छन्।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नेतृत्व परिवर्तनको बहस चर्किए पनि त्यसले ठोस निकास पाउन सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट संकेत दिएका छैनन्। पार्टीको भविष्य र पुस्तान्तरणको आवश्यकताभन्दा नेतृत्वको निरन्तरताले प्राथमिकता पाएको भन्दै दोस्रो तहका नेताहरू असन्तुष्ट छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे र तत्कालीन माओवादी केन्द्रका पूर्वउपमहासचिव हरिबोल गजुरेललगायत नेता अहिले वैकल्पिक राजनीतिक अभियानमा सक्रिय देखिएका छन्। उनीहरूका अभियानको स्वरूप फरक भए पनि मूल प्रश्न एउटै छ- पुरानै नेतृत्व र कार्यशैलीबाट कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न सम्भव छ?

खनाल-गजुरेलको समाजवादी अभियान

लामो समय कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ अघि बढाएका छन्। एमालेको नेतृत्वशैली र जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धमा लामो समयदेखि फरक मत राख्दै आएका खनाल पछिल्लो समय नेकपाको नेतृत्वसँग पनि असन्तुष्ट देखिएका छन्।

उनको अभियानमा तत्कालीन माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र पूर्वमाओवादी नेता महेश्वर दाहाललगायत सहभागी छन्। एमाले र नेकपाका ४० प्रतिशत नेताकार्यकर्ता आफ्नो अभियानमा रहेको अभियन्ताहरूको दाबी छ। यद्यपि उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

‘देशमा समाजवादी विचार अवलम्बन गर्न आवश्यक छ। कम्युनिस्ट पार्टी भुइँबाट ल्याउने प्रण गरेर अघि बढ्नुपर्छ,’ खनालले हिमालप्रेससँग भने, ‘नेताले गर्ने शासनभन्दा जनताले गर्ने शासनतर्फ धकेलिन अभियानमा लागेका हौँ।’

खनालले पार्टीमा युवा नेतृत्व अघि आउनुपर्ने र आफूजस्ता पुराना नेताले औपचारिक भूमिकाबाट पछि हट्नुपर्ने धारणा राख्दै आएका छन्। उनले नेकपाभित्र पनि नेतृत्वको विकल्प खोज्नुपर्ने मत राखेका छन्। तर पार्टीभित्र नेतृत्व परिवर्तनको मागले निकास नपाएपछि उनी वैकल्पिक अभियानतर्फ केन्द्रित भएका हुन्।

खनालसँगै अभियानमा देखिएका गजुरेल पनि पुराना नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन्। प्रचण्डसँगको मतभेद र पार्टीभित्रको विवादपछि मूलधारको माओवादी राजनीतिबाट अलग भएका गजुरेल नयाँ राजनीतिक धार निर्माण गर्नुपर्ने बताउँछन्।

‘देश डाँवाडोल अवस्थामा छ। पुरानालाई जनताले पत्याउँदैनन्, नयाँको पनि भर छैन। अब हामीले नयाँ धारको कम्युनिस्ट खोल्नुछ,’ गजुरेल भन्छन्, ‘यो संकट टार्न पनि नयाँ धारको कम्युनिस्ट राजनीति सुरु गर्नु छ।’

गजुरेलका अनुसार चुनावपछिदेखि नै कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको थियो। खनाललाई अभियानको नेतृत्वमा अघि सार्ने प्रयास पनि त्यसैको हिस्सा हो। उनीहरू अन्य दलभित्र असन्तुष्ट रहेका नेताहरूलाई समेत अभियानमा जोड्ने प्रयत्नमा छन्।

अभियानमा सहभागी हुने नेताहरूको नाम भने सार्वजनिक गर्न केहीले आनाकानी गरिरहेका छन्। पार्टीको कारबाहीमा पर्ने डरले कतिपय नेताले आफ्नो संलग्नता खुलाउन नचाहेको अभियानसँग निकट एक नेताको भनाइ छ।

पाण्डेको नागरिक अभियान

एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि पार्टी राजनीतिबाहिर रहेर नागरिकका मुद्दामा केन्द्रित हुने उद्देश्यसहित ‘नयाँ नागरिक अभियान’ अघि बढाएका छन्। उनको अभियानमा हृदय त्रिपाठी, अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्ललगायत नेता सहभागी छन्। अभियानमा केही गैरवामपन्थी नेता र विश्लेषकसमेत जोडिएका छन्।

पाण्डेका अनुसार नागरिकका समस्या र आवाजलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिनेछ। ‘नागरिकको आवाज बोल्नका लागि नागरिक अभियान खोलिएको हो। जुन अब निरन्तर चल्छ,’ उनी भन्छन्।

एमाले नेतृत्वसँग लामो समयदेखि असन्तुष्ट रहेका पाण्डेले पार्टीको ११औँ महाधिवेशनमा ओलीको आधिकारिक लाइनविरुद्ध महासचिव पदमा उम्मेदवारी दिएका थिए। तर उनी शंकर पोखरेलसँग पराजित भए। त्यसपछि पार्टी राजनीतिमा उनको सक्रिय भूमिका सीमित देखिएको थियो। अहिले भने उनी नागरिक अभियानमार्फत राजनीतिक गतिविधिमा फर्किएका छन्।

पार्टीले पनि नागरिकका लागि काम गर्ने होइन र भन्ने हिमालप्रेसको प्रश्नमा पाण्डेले प्रतिप्रश्न गरे, ‘पार्टीले केही गरेको छ र!’

पाण्डेको यो अभिव्यक्तिले पार्टीको परम्परागत संरचना र कार्यशैलीप्रति उनीमा रहेको असन्तुष्टि देखाउँछ। यद्यपि नागरिक अभियानले कस्तो कार्यक्रम र संरचनामार्फत नागरिकका मुद्दा सम्बोधन गर्छ भन्ने कुरा यसको आगामी गतिविधिले स्पष्ट पार्नेछ।

नेतृत्वसँग असन्तुष्ट दोस्रो पुस्ता

कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरू असन्तुष्ट हुनुको मुख्य कारण नेतृत्वशैली, निर्णय प्रक्रियामा सीमित व्यक्तिको पकड र नेतृत्व हस्तान्तरणमा देखिएको अनिच्छा हो। पार्टीभित्र फरक मत राख्ने नेताहरूले आफ्नो आवाज सुनुवाइ नभएको गुनासो गर्दै आएका छन्।

एमालेमा गत फागुन २१ को निर्वाचन परिणामपछि नेतृत्व परिवर्तनको बहस फेरि उठेको थियो। ओलीको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने भन्दै विन्दा पाण्डे, उषाकिरण तिमल्सिना र समिक बडाललगायत नेताले परिवर्तनको पक्षमा आवाज उठाएका थिए। तर उनीहरूको मागले पार्टीभित्र निर्णायक रूप लिन सकेन।

नेतृत्व परिवर्तनको माग राख्दा उल्टै नेतृत्वको कोपभाजनमा पर्नुपर्ने अवस्था रहेको एमालेका असन्तुष्ट नेताहरूको गुनासो छ।

‘नेतृत्व परिवर्तन हुनुपर्‍यो भनेर कुरा उठायो। आफैँ आँखी भइन्छ। त्यसैले निष्क्रिय हुन बाध्य भइयो,’ एमालेका एक नेताले भने।

जेनजी आन्दोलनपछि पार्टीहरूको नेतृत्व र कार्यशैली परिवर्तन हुनुपर्ने बहस थप चर्किए पनि एमालेमा त्यसले अपेक्षित निकास पाउन नसकेको उनीहरूको बुझाइ छ। नेतृत्वको विकल्प खोज्ने प्रयासमा रहेका नेताहरू पार्टीभित्रै कमजोर बनेपछि अहिले विभिन्न अभियानमा जोडिन थालेका छन्।

एमालेका युवा नेता डा. सुजन कडरिया पनि नेतृत्व पुस्तान्तरणका पक्षमा छन्। उनका अनुसार पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ।

‘हामीले यथास्थितिमा पार्टी चल्दैन, सुहाङ नेम्बाङको पुस्ता नेतृत्वमा आउनुपर्छ भनेका हौँ,’ कडरिया भन्छन्, ‘युवा जमात जसको आश छ, त्यसैले नेतृत्व लिने हो। अब वर्तमान नेतृत्वले बिदा लिनुपर्छ।’

नेकपाभित्र पनि नेतृत्व परिवर्तनको माग उठ्दै आएको छ। नेता रञ्जित तामाङ नेतृत्वलाई पुस्तान्तरणका लागि दबाब दिँदा पनि सुनुवाइ नभएको बताउँछन्।

‘हामीले पुस्तान्तरणको कुरा उठायौँ तर नेतृत्वबाट सुनुवाइ भएन,’ उनले भने।

दोस्रो तहका नेताहरूको असन्तुष्टि केवल नेतृत्व परिवर्तनको मागमा सीमित छैन। पार्टीको निर्णय प्रक्रियामा आफ्नो भूमिका कमजोर भएको, फरक मतलाई स्थान नदिइएको र पुरानै शैलीमा संगठन सञ्चालन गरिएको उनीहरूको गुनासो छ। तर नेतृत्व परिवर्तन गर्न सक्ने पर्याप्त शक्ति र पार्टी छाडेर नयाँ बाटो रोज्ने साहसबीच उनीहरू अल्झिएको देखिन्छ।

पुराना दलप्रति असन्तुष्टि, नयाँ विकल्पको खोजी

कम्युनिस्ट आन्दोलनबाट बाहिरिने र वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने प्रयास नयाँ होइन। तत्कालीन एकीकृत नेकपा माओवादी छाडेर डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए। पछि उनी जनता समाजवादी पार्टीमा आबद्ध भए र त्यसबाट पनि अलग हुँदै आफ्नै राजनीतिक अभियान अघि बढाए।

त्यस्तै एमाले छाडेका प्रभु साहले आम जनता पार्टी गठन गरे। एमालेबाट अलग भएका जितेन्द्रनारायण देव मधेसी जनअधिकार फोरम हुँदै नेपाली कांग्रेसमा पुगे। कम्युनिस्ट पृष्ठभूमिका अन्य नेताहरू पनि समयक्रममा गैरकम्युनिस्ट दलमा आबद्ध भएका छन्।

यी राजनीतिक यात्राले पार्टीभित्रको वैचारिक मतभेद, नेतृत्वसँगको असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयासलाई देखाउँछन्। तर पार्टी छाड्दैमा वा नयाँ दल गठन गर्दैमा राजनीतिक संस्कार र कार्यशैलीमा परिवर्तन आउँछ भन्ने सुनिश्चित हुँदैन। नयाँ विकल्पले पुराना दलभन्दा भिन्न संगठनात्मक अभ्यास, नेतृत्व हस्तान्तरण र जनताप्रतिको जवाफदेहिता देखाउन सके मात्रै त्यसको औचित्य स्थापित हुन सक्छ।

नेपाली कांग्रेसमा पनि नेतृत्व परिवर्तनको प्रक्रिया विवाद र संघर्षबीच अघि बढेको छ। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीजस्ता नयाँ राजनीतिक शक्तिप्रति जनताको अपेक्षा जोडिएको छ। पुराना दलको नेतृत्व, कार्यशैली र राजनीतिक संस्कारप्रति असन्तुष्टि बढ्दा नयाँ विकल्पप्रतिको चासो बढ्नु अस्वाभाविक होइन।

नयाँ दलप्रतिको आकर्षणलाई पुराना दलको स्वतः विकल्पका रूपमा बुझ्न मिल्दैन। नयाँ शक्तिले पनि संगठन सञ्चालन, आन्तरिक लोकतन्त्र, नीतिगत स्पष्टता र जनताप्रतिको जवाफदेहितामा आफूलाई प्रमाणित गर्नुपर्नेछ।

कम्युनिस्ट पार्टीभित्रको वर्तमान असन्तुष्टि पनि यही प्रश्नसँग जोडिएको छ। लामो समय एउटै नेतृत्वको वर्चस्व, निर्णय प्रक्रियामा सीमित व्यक्तिको पकड र परिवर्तनप्रतिको अनिच्छाले पार्टीभित्रै भविष्य नदेख्ने नेताहरूको संख्या बढाएको छ। कोही पार्टीभित्रै सुधारको प्रयासमा छन्, कोही नयाँ अभियानमा लागेका छन् र कोही वैकल्पिक राजनीतिक ध्रुव निर्माणको खोजीमा छन्।

झलनाथ खनाल, हरिबोल गजुरेल र सुरेन्द्र पाण्डेलगायत नेताका अभियानले पुराना पार्टीभित्रको असन्तुष्टिलाई सार्वजनिक राजनीतिक बहसमा ल्याएका छन्। तर यी अभियानले वास्तवमै नयाँ राजनीतिक संस्कार निर्माण गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न अझै खुला छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast