काठमाडौँ- सम्भावित खराब मौसमका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै पर्यटन विभागले पर्वतारोही, पदयात्री तथा पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पर्यटन विभागले बुधबार जारी गरेको मौसमसम्बन्धी सूचनामा नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने जनाएको छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको विभागले उल्लेख गरेको छ।
मौसम प्रणालीको प्रभाव पदयात्रा तथा हिमाल आरोहणका क्षेत्रमा समेत पर्न सक्ने भएकाले पर्यटकलाई उच्च हिमाली भूभागमा अनावश्यक यात्रा नगर्न र गइसकेको अवस्थामा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
विभागले नेपाल सरकार तथा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमानलाई ध्यानमा राखेर मात्र आगामी यात्रा तथा आरोहणका योजना बनाउन पनि आग्रह गरेको छ।
त्यस्तै, हिमाली क्षेत्रमा पदयात्रा तथा आरोहणका लागि अनुमति लिएका पर्यटकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई समेत आग्रह गरिएको छ।
विशेषगरी खुम्बु, मनाङलगायत हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य संस्थासँगै काठमाडौं र पोखरामा रहेका उच्च हिमाली स्वास्थ्य समस्या अर्थात् एक्युट माउन्टेन सिकनेस (एएमएस) को उपचार गर्ने अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न विभागले अपिल गरेको छ।



